उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन, लकडाउनबारे बैठक बस्ने

  २०७८ पुष २३ गते १९:०५     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाईरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा देउवाले यस्तो निर्देशन दिएका हुन् ।

संक्रमितहरुको परीक्षण, उनीहरुको उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिएका छन् ।

‘कोभिडको विषयमा केन्द्रित भएर छलफल भयो । ओमिक्रोनको बढने लहरको विषयमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा कुरा भयो । नाकाहरुलाई कसरी अझ चुस्तदुरुस्त बनाउने अनि एन्टिजिन परीक्षण गर्दा देखिएका बिरामीहरुको कसरी आईसोलेशनको व्यवस्था गर्ने, देखिएका विरामीहरुको थप परीक्षण बढाउने कुराहरु, उनीहरुको खाने, बस्ने सुविधाका कुराहरु । यी सबै पक्षमा कुरा भएको छ र खोप लगाउन अझ तीव्रता दिने र चाँडै नै बुष्टर खोपमा पनि जाने भन्ने छलफल भयो । प्रधानमन्त्रीबाट पनि त्यहीँ निर्देशन भयो,’ मन्त्री खतिवडाले भने ।

खतिवडाकाे अनुसार बैठकमा कोभिड भाईरसको ओमिक्रोन भेरियन्टको संक्रमणदर बढदै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ । संक्रमितहरुको संख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताए । बैठकले तेस्रो चरणको बुष्टर खोप पनि अघि बढाउने अनुमति दिएको छ ।

शुक्रबार एकैदिन नेपालमा ९६५ जनामा कोरोना संक्रमण देखिएको थियो भने २४ जनामा ओमिक्रोन संक्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.