ठूलो साइजको पुँजीमा जाँदै फाइनान्स कम्पनी, आईसीएफसीलाई उछिन्दै मञ्जुश्री

  २०७८ पुष २० गते १४:५४     विकासन्युज

काठमाडौं । सञ्चालित फाइनान्स कम्पनीहरु ठूलो साइजको पुँजीमा जाँदै छन् । नेप्सेमा सूचीकृत फाइनान्स कम्पनीमध्ये अधिकांश संस्था बोनस तथा हकप्रद सेयरमार्फत ठूलो आकार अर्थात एक अर्ब माथिको पुँजीमा जान लागेका हुन् ।

हाल नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा १५ वटा फाइनान्स कम्पनी सूचीकृत छन् । जसमध्ये अधिकांशले गत आर्थिक वर्षको लाभांश घोषणा गरिसकेका छन् भने केहीले गर्न बाँकी नै छ । लाभांश घोषणा गर्नेहरुले पनि अघिल्लो वर्षको तुलनामा बढाएर लाभांश प्रस्ताव गरेका हुन् ।

हाल सबैभन्दा बढी चुक्ता पुँजी आईसीएफसी फाइनान्सको छ । फाइनान्सको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ छ । फाइनान्सले गत वर्षकोे लाभांशबाट सेयरधनीलाई १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । प्रस्तावित १० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ पुग्ने छ ।

त्यस्तै, पुँजीको आधारमा दोश्रो स्थानमा रहेको मञ्जुश्री फाइनान्सले सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको छ । फाइनान्सले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ४० प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी कूल ४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । ४० प्रतिशत लाभांश पछि संस्थाको चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ नाघ्ने छ । जुन फाइनान्स कम्पनीमध्येकै सर्वाधिक पुँजी हो ।

त्यस्तै, पोखरा र रिलायन्स फाइनान्सले पनि बोनस सेयर वितरण गरेर एक अर्बभन्दा माथिको पुँजी बनाउँदै छन् । ९६ करोड ३१ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको पोखरा फाइनान्सले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । उक्त सेयर वितरण पश्चात संस्थाको चुक्ता पुँजी १ अर्ब ४ करोड रुपैयाँ नाघ्ने छ ।

चुक्ता पुँजीमा अर्ब क्लबमा प्रवेश गर्न लागेको रिलान्यस फाइनान्सले पनि सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्दै छ । हाल ९१ अर्ब ५६ करोड रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी १५ प्रतिशत बोनस पछि १ अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ ।

सम्बृद्धि फाइनान्सले भने हकप्रद सेयर जारी गरेर पुँजी बढाउँदै छ । फाइनान्सले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गरेर पुँजी ८१ करोड ८९ लाख रुपैयाँ माथि पुर्याउँदै छ । उक्त हकप्रद सेयर जारी गर्न संस्थाले नेपाल धितोपत्र बोर्डबाट समेत अनुमति पाइसकेको छ । र, संस्थाले आगामी माघ ५ गतेदेखि माघ १२ गतेसम्म हकप्रद सेयर निष्काशन गर्ने मिति तय गरेको छ । हाल संस्थाको चुक्ता पुँजी ५४ करोड ५९ लाख रुपैयाँ छ ।

लाभांश घोषणा गरेका १० कम्पनीमध्ये ६ वटा कम्पनीको लाभांशदर बढेको छ । संस्थाहरुले लाभांशदर न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ९५ प्रतिशतसम्मले बढाएका छन् । जसमध्ये सबैभन्दा बढी लाभांशदर बढाउनेमा मञ्जुश्री फाइनान्स रहेको छ । फाइनान्सले अघिल्लो वर्षको तुलनामा ९५.७४ प्रतिशतले लाभांशदर बढाएर ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाले अघिल्लो आवको नाफाबाट सेयरधनीलाई २३.५० प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, ८.५० प्रतिशत लाभांश घोषणा गरेको पोखरा फाइनान्सले पनि अघिल्लो वर्षको तुलनामा ६१.५० प्रतिशत बढी लाभांश घोषणा गरेको हो । फाइनान्सले अघिल्लो आवको नाफाबाट ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, रिलायन्सको लाभांश ४९.९५ प्रतिशत, सेन्ट्रल फाइनान्सको १० प्रतिशत, गुडविलको ८.३३ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको लाभांशदर ४.४६ प्रतिशतले बढेको हो । यी कम्पनीले अघिल्लो आवको नाफाबाट सेयरधनीलाई क्रमशः १०.५३ प्रतिशत, १० प्रतिशत, १२ प्रतिशत र १०.५३ प्रतिशत लाभांश वितरण गरेका थिए ।

उता आइसीएफसी फाइनान्स र गुहेश्वरी मर्चेन्टको लाभांशदर भने क्रमशः ६.६७ र ७.६६ प्रतिशतले घटेको छ ।

यता गोर्खाज, बेष्ट, जानकी र नेपाल फाइनान्सले भने हालसम्म गत वर्षको लाभांश घोषणा गरेका छैनन् । जसमध्ये गोर्खाज फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ र बेष्ट फाइनान्सको ८२ करोड ८९ लाख रुपैयाँ छ । यता जानकी र नेपाल फाइनान्सको भने चुक्ता पुँजी ८० करोड रुपैयाँभन्दा कम अर्थात क्रमशः ६० करोड ४ लाख र ४९ करोड ३४ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.