बैंकहरुको सीडी रेसियो ९०.५४% कायम, निक्षेप पनि बढ्न थाल्यो

  २०७८ पुष २० गते १०:५३     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप बढ्दै गएपछि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा पनि सुधार देखिएको छ । गत महिना ९२ प्रतिशतसम्म पुगिसकेको सीडी रेसियो अहिले ९०.५४ प्रतिशत कायम भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार पुसको तेस्रो साता बैंकिङ क्षेत्रकै सीडी रेसियो ९०.५४ प्रतिशत कायम भएको हो । तर, वाणिज्य बैंकहरुको भने ९१.०२ प्रतिशत छ । बैंकहरुमा निक्षेप संकलन बढ्दै गएपछि सीडी रेसियोमा पनि सुधार देखिएको हो ।

नेपाल बैंकर्स संघका अनुसार पुसको तेस्रो साता सम्ममा वाणिज्य बैंकहरुले कुल ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत मंसिरको तुलनामा बैंकहरुको निक्षेप १२ अर्ब रुपैयाँले बढेको हो । बैंकहरुले गत मंसिर मसान्तसम्म कुल ४२ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

यस्तै, बैंकहरुको कर्जा लगानी पनि १५ अर्ब रुपैयाँले बढेको छ । गत मंसिर महिनासम्म ४० खर्ब ८४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले पुसको तेस्रो सातासम्म कुल ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले पूँजी–कर्जा–निक्षेप अनुपात (सीसीडी रेसियो)लाई खारेज गरेर सीडी रेसियो कायम गरेपछि बैंकहरुमा तरलता अभाव भएको र बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको धेरैको बुझाई छ । तर, राष्ट्र बैंकले सो व्यवस्थाले तरलताको अभाव नभएको बताउँदै आएको छ ।

सीडी रेसियोको व्यवस्था नगरेको भए बैंकिङ प्रणालीमा थप ठूलो समस्या आउने थियो भन्ने तर्क राष्ट्र बैंकको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई २०७९ को असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशतभित्र ल्याइसक्न निर्देशन दिएको छ । त्यसैले पनि बैंकहरुले सीडी रेसियो ९० प्रतिशतको हाराहारीमा ल्याउन प्रयास गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.