जहाज खरिद गर्ने विषयमा गृहकार्य भइरहेको छ: मन्त्री आले

  २०७८ पुष १६ गते १७:३५     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जहाज खरिद गर्ने विषयमा गृहकार्य भइरहेको बताएका छन् ।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले जहाज खरिद गर्ने योजना छिटोभन्दा छिटो ल्याउनका लागि नेपाल वायु सेवा निगमलाई निर्देशन दिइसकेको बताए ।

उनले जहाज खरिदका लागि गृहकार्य अगाडी बढेको बताउनुभयो । जहाज खरिदमा कुनैपनि प्रकारको कमिशनको खेल नगर्ने भन्दै उनले अनियमितता भएमा आफू झुण्डिन तयार रहेको बताए । मन्त्री आलेले ग्राउण्डेड भएको जहाजहरुलाई मर्मत गरेर उडाउनका लागि पनि निर्देशन दिएको जानकारी दिए ।

उनले भने, ‘निगमको अध्यक्षज्यूलाई निर्देशन दिएको छु । तपाईंहरु छिटोभन्दा छिटो बिजनेश प्लान ल्याएर कम्तिमा १५ वटा जहाजजति खरिद गरेर ल्याउने । एयरपोर्टमा राख्ने, सबै पार्टीका मान्छेलाई बोलाउने र त्यहाँ भाषण गर्ने । विगतको जस्तो यो वाइडबडी होइन । यसमा कुनै कमिशनको खेल भएको छैन । यो जहाजमा एक रुपैयाँ पनि तलमाथि भएको छ भने राजनीतिबाट सन्यास मात्र होइन, प्रेम आले झुण्डिन तयार छ भनेर म भन्न चाहान्छु । त्यसको लागि हामीले गृहकार्य गरिराखेका छौँ । निगमलाई भनेको छु, छिटो गृहकार्य गर्नुस् । ग्राउण्डेड भएको जहाज बनाएर उडाउनुस् । मर्मत गरेर उडाउनुस् भनेर मैले भनिराखेको छु ।’

उनले भैरहवा अन्तराष्ट्रिय विमानस्थल तीन महिनाभित्र उद्घाटन हुने बताए । भैरहवा विमानस्थललाई सरकारले छिटोभन्दा छिटो टेष्ट फ्लाइट सञ्चालनमा ल्याउन चाहेको मन्त्री आलेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.