इलाम नगरपालिकाले ५८ लाखमा सञ्चालनमा ल्यायाे आँखा अस्पताल

  २०७८ पुष ८ गते १४:२६     विकासन्युज

मङ्गलबारे । इलाम नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन र व्यवस्थापनका लागि छुट्टै कार्यविधि जारी गरी आँखा अस्पताल सञ्चालनमा ल्याएको हो ।

स्थानीय तहले सञ्चालनमा ल्याएको सामुदायिक आँखा अस्पताल देशकै पहिलो अस्पताल भएको बताइएको छ । सामुदायिक आँखा अस्पताल निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा इलाम नगरपालिकाले रकमान्तर गरेर ५० लाख जुटाएको थियो । चालु आवमा भने यसका लागि एक करोड रकम विनियोजन भएको छ । विनियोजित रकममध्ये ५७ लाख ९० हजार खर्च भएको छ । त्यसमध्ये ५३ लाख २४ हजार पूँजीगतमा र चार लाख ६५ हजार सञ्चालनमा खर्च भएको छ ।

सामुदायिक आँखा अस्पतालमा अहिले शल्यक्रियाबाहेकको सेवा उपलब्ध छ । आँखाको जनरल ओपिडी, जनरल उपचार, सामान्य शल्यक्रिया, चश्मा बनाउनेलगायतका सेवा दिइनेछ । जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो । अस्पतालमा सातौँ तहको एक नेत्र विषेशज्ञ, पाँचौँ तहका एक नेत्र सहायक, एक फार्मेसिष्ट र एक चश्मा बनाउने प्राविधिक राखिएको छ । आँखा अस्पताल सञ्चालनपछि जिल्लाका ग्रामीण भेगका बासिन्दालाई समेत सहज हुने भएको छ ।

आँखा अस्पतालको सेवा प्रारम्भ भएको नगर उपप्रमुख सुशीला नेम्वाङले बताइन् । उनका अनुसार अस्पताल सञ्चालनमा आएपछि नगरपालिका र जिल्लाका अन्य स्थानीय तहका बासिन्दाले समेत सेवा लिन सक्नेछन् । अस्पतालको बुधबार नगरप्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङले उद्घाटन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.