एनपीआईमा जोडिने पहिलो निर्जीवन बीमा कम्पनी बन्यो प्रिमियर इन्स्योरेन्स

  २०७८ पुष ७ गते १६:००     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) पनि नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमा आवद्ध भएको छ । आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्ने उद्देश्यले कम्पनीले उक्त प्रणालीमा आवद्ध भएको हो ।

जसका लागि दुई कम्पनीबीच सम्झौता भएको छ । सम्झौता पत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात प्रिमियर इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिने पहिलो नन-लाईफ इन्स्योरेन्स कम्पनी बनेको छ । जसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल-आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी इन्स्योरेन्स दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यसले प्रिमियर इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

यसरी एनपीआईमा जोडिए पछि प्रिमियर इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने छ । एनपीआईसँग गरिने उक्त इन्टिग्रेसनमा प्रिमियर इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रा. लि.को पनि महत्वपूर्ण भूमिका रहेको छ जसले प्रिमियर इन्स्योरेन्स लगायत १८ भन्दा बढी नन-लाईफ इन्स्योरेन्सलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।

प्रिमियर इन्स्योरेन्स लगायत ३० भन्दा बढी लाईफ तथा नन-लाईफ इन्स्योरेन्स कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइन मार्फत कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन् । साथै ७ लाईफ इन्स्योरेन्स कम्पनीहरु यस अघि नै एनपीआईमा आबद्ध रहेका छन् । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरीएको एनपीआई सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायतका ६८ गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

सन् १९९४ मा स्थापना गरिएको प्रिमियर इन्स्योरेन्स विभिन्न प्रतिस्थित व्यवसायिक समूहहरु तथा उद्योगपतिद्वारा स्थापना गरिएको आईएसओ सर्टिफाइड नन-लाईफ इन्स्योरेन्स कम्पनी हो । इन्स्योरेन्सले नयाँ र पृथक प्रोडक्टहरुद्वारा गुणास्तरीय सेवा प्रदान गर्दै आएको छ । साथै, एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.