२६ वाणिज्य बैंकको लाभांशः ११ वटाले बढाउँदा १३ वटाले घटाए, दुईको स्थिर

  २०७८ पुष ६ गते १८:२६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत सबै वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको लाभांश घोषणा गरिसकेका छन् । पुस ६ गतेसम्ममा सूचीकृत २६ वटै वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरेका हुन् ।

जसमध्ये ११ वटा बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा लाभांशदर बढाएका छन् । र, १३ वटाले घटाएका छन् भने बाँकी २ बैंकले बराबर घोषणा गरेका छन् ।

लाभांशदर बढाउनेमा नबिल, हिमालयन, कृषि विकास, सानिमा, नेपाल, प्राइम कमर्शियल, सिटिजन्स, नेपाल बंगलादेश, माछापुच्छ्रे, स्ट्याण्डर्ड चार्टर्ड र प्रभु बैंक छन् ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट, एनआईसी एशिया, एनएमबि, बैंक अफ काठमाण्डू, ग्लोबल आईएमई, मेगा, एभरेष्ट, कुमारी, एनसीसी, सनराइज, सेञ्चुरी कमर्शियल, नेपाल एसबिआई र सिभिल बैंकले भने अघिल्लो वर्षको तुलनामा कम लाभांश घोषणा गरेका छन् । सिद्धार्थ र लक्ष्मी बैंकले भने यो वर्ष पनि पोहोरको जति नै लाभांश वितरण गर्ने भएका छन् । यससँगै सिद्धार्थका सेयरधनीले १५ प्रतिशत र लक्ष्मीका सेयरधनीले ११.५ प्रतिशत लाभांश पाउने भएका छन् ।

सूचीकृत बैंकहरुमध्ये नबिल बैंकका सेयरधनीले सबैभन्दा बढी लाभांश पाउने भएका छन् । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जुन अघिल्लो वर्षको तुलनामा २.७४ प्रतिशत बढी हो । बैंकले अघिल्लो आवको नाफाबाट सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, सबैभन्दा बढी नगद लाभांश प्रस्ताव गर्नेमा हिमालयन बैंक रहेको छ । २१.३८ प्रतिशत बोनस घोषणा गरेको बैंकले ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । जुन अन्य बैंकहरुको तुलनामा बढी हो । हिमालयनले गत वर्ष सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

क-कसले बढाए ? क-कसले घटाए ?

त्यस्तै, एकोरो अंकको लाभांश घोषणा गर्नेमा ६ वाणिज्य बैंक रहेका छन् । कुमारी, एनसीसी, सनराइज, सेञ्चुरी, नेपाल एसबिआई र सिभिल बैंकले १० प्रतिशत भन्दा कम लाभांश वितरण गर्ने भएका छन् । अघिल्लो वर्ष डबल डिजिटको लाभांश घोषणा गरेको कुमारी, एनसीसी र सनराइजले यो वर्ष भने सिंगल डिजिटको लाभांश प्रस्ताव गरेका हुन् ।

बैंकहरुमध्ये ढिला लाभांश घोषणा गरेको सिभिल बैंकले सबैभन्दा कम लाभांश प्रस्ताव गरेको छ । बैंकले पुस ६ गते मात्रै सेयरधनीलाई ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा घटी हो । बैंकले अघिल्लो वर्ष सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

८ बैंकको लाभांश अझै पाइने

२६ वाणिज्य बैंकमध्ये केहीले साधारण सभा गरी सेयरधनीलाई लाभांश वितरण गरिसकेका छन् भने केहीले भने साधारण सभा गर्नै बाँकी छ । केहीले त सभाको लागि बुक क्लोजको मिति पनि तय गरेका छैनन् । पुस ६ गतेसम्ममा कृषि विकास बैंक, सिभिल, सेञ्चुरी कमर्शियल, नबिल, हिमालयन, एनआईसी एशिया र सिद्धार्थले साधारणसभाको लागि बुक क्लोजको मिति तोकेका छैनन् । उता एनसीसी बैंकले पुस १२ गते बुक क्लोज गर्न लागेको छ । यससँगै हाल यी ८ वटा बैंकको सेयर किन्नेले प्रस्तावित लाभांश पाउने छन् । यी बैंकहरूले बुक क्लोज गर्नुभन्दा अघिल्लो दिनसम्म सेयर किन्ने तथा होल्ड गर्ने सेयरधनीहरू सम्बन्धित बैंकको लाभांश पाउन योग्य हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.