बुधबार २ अर्ब ६६ करोडमा खुम्चियो सेयर कारोबार, ५३ अंकले घट्यो परिसूचक

  २०७८ मंसिर २२ गते १५:२१     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागेको छ । बजारमा नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि दिनानुदिन घट्दै गएको छ ।

बुधबारको बजारमा कूल कारोबार २ अर्ब ६६ करोड रुपैयाँमा खुम्चिएको छ । जुन अघिल्लो दिनको तुलनामा ४६ करोड रुपैयाँले घटी हो । मंगलबारको बजारमा ३ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

त्यस्तै, नेप्से परिसूचक पनि ५३.१० अंकले घटेर २४५५.८१ बिन्दुमा झरेको छ । जुन करिब एक वर्ष यताकै न्यून बिन्दु हो ।

मंगलबारको तुलनामा बुधबारको बजारमा ७ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । जसमध्ये दुई वाणिज्य बैंक रहेका छन् । नेपाल एसबीआई र स्ट्याण्डर्ड चार्टर्डको सेयर मूल्य क्रमशः १.४० र १.९४ प्रतिशतले बढेको छ ।

बजारमा सबैभन्दा बढी सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ । संस्थाले सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेसँगै संस्थाको सेयर मूल्य घटेको हो । बुधबारको बजारमा संस्थाको सेयर मूल्य ८.५४ प्रतिशतले घटेर प्रतिकित्ता ११६८ रुपैयाँमा झरेको छ ।

बुधबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह २९४.४४ अंकले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.