स्वास्थ्यमन्त्री खतिवडालाई प्रश्न– फेरि लकडाउन हुन लागेको हो ?

  २०७८ मंसिर २० गते १२:४४     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सन्त्रासले फेरि आतंकित पारेको छ । दक्षिण अफ्रिकामा पहिलो पटक पत्ता लागेको यो भाइरसको संक्रमण युरोप अमेरिका हुँदै एसियाली देशसम्म फेला परिसकेको छ ।

नयाँ भेरियन्टको भाइरस कति जोखिमपूर्ण छ, यसको संक्रमणपछि गम्भीर असर पर्छ कि पर्दैन, कोभिड विरुद्धको खोप लगाएकाहरुलाई यो भाइरस संक्रमण भएपनि कस्तो असर देखिन्छ भन्ने जस्ता प्रश्नको जवाफ बैज्ञानिकहरुले अझै दिन सकिरहेका छैनन् ।

नेपालमा पनि ओमिक्रोन संक्रमण फैलन सक्ने भन्दै सरकारले विभिन्न १० देशबाट नेपाल आउँन प्रतिबन्ध लगाएको छ । यस्तै, सीमाना जोडिएका जिल्लाहरुमा छिमेकी देश भारतबाट नेपाल आउनेलाई ७ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम लगाउन थालिसकिएको छ ।

यद्यपि, छिमेकी देश भारतमा पनि ओमिक्रोन संक्रमित फेला परेका छन् । यसैकारण कोभिडको नयाँ भेरियन्ट नेपालमा पनि भित्रन सक्ने भन्दै सर्वसाधारणमा समेत त्रास फैलिएको छ ।

कोभिडको नयाँ भेरियन्ट संक्रमण नियन्त्रणका लागि सरकारले विभिन्न १० देशको यात्रा प्रतिबन्ध गरेसँगै नेपालमा फेरि लकडाउन हुने हो कि भन्ने शंसय सर्वसाधारणमा फैलिएको छ ।

ओमिक्रोन संक्रम फैलनबाट रोक्नका लागि सरकारले फेरि लकडाउन गर्दैछ ? हामीले यो प्रश्न स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग गरेका थियौं ।

मन्त्री खतिवडाले अहिलेसम्म यसबारेमा कुनै छलफल नभएको बताए ।

‘स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने, कोभिड संक्रमणबाट जोगिन पहिलादेखि नै अपनाउँदै आएका कार्यहरु निरन्तर गर्नुपर्छ भनेर हामी (स्वास्थ्य मन्त्रालय) ले भनिरहेका छौं, लकडाउन वा सटडाउनै गर्ने भनेर हामीले आन्तरिक रुपमा पनि छलफल गरेका छैनौं, प्रधानमन्त्रीज्यूसँग पनि लकडाउन वा सटडाउन गर्ने बारेमा मेरो कुनै छलफल भएको छैन,’ मन्त्री खतिवडाले विकासन्युजसँग भने ।

गृहमन्त्रालयले आन्तरिक रुपमा केही तयारी गरेको छ कि भनेर हामीले गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलसँग पनि यो प्रश्न गरेका छौं ।

‘स्वास्थ्यसँग सम्बन्धित विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना, कार्यक्रम र रणनीति तय गर्ने हो, अन्य मन्त्रालय र निकायहरुले त्यसलाई सहयोग र सहजीकरण गरिदिने हो, स्वास्थ्य मन्त्रालयको सिफारिस अनुसार मन्त्रिपरिषदले नै विभिन्न १० देशमाथि यात्रा प्रतिबन्ध लगाइसकेको छ तर, नेपालमा लकडाउन गर्ने वा सर्वसाधारणको आन्तरिक आवागमन रोक्ने भन्ने बारेमा स्वास्थ्य मन्त्रालयले केही भनेको छैन, स्वास्थ्यले नै नभनी हामी (गृहमन्त्रालय) ले त्यस्तो कुनै निर्णय गर्ने भन्ने पनि भएन,’ प्रवक्ता पोखरेलले विकासन्युजसँग भने ।

ओमिक्रोन संक्रमण फैलन नदिनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले के कस्तो योजना र तयारी गरिरहेको छ भनेर हामीले प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसादल रिजालसँग पनि प्रश्न गरेका छौं ।

‘लकडाउन वा सटडाउन गर्ने भन्ने वारेमा स्थानीय तहहरुसँग कुनै छलफल भएको छैन, राजनीतिक दलहरुका महाधिवेशन लगायतका कार्यक्रमहरु अहिले भइरहेका छन्, जसजसले धेरै जना सहभागी हुने कार्यक्रमहरु गर्नुभएको छ वा गर्दै हुनुहुन्छ, उहाँहरुले स्वास्थ्य मापदण्ड अपनाउने र कोभिड संक्रमण नफैलिओस् भनेर सतर्क हुनुपर्छ, हुनुहुन्छ होला, थप केही भएको छैन,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले विकासन्युजसँग भने ।

सर्वसाधारणमा फेरि लकडाउन वा सटडाउन हुन लाग्यो भनेर व्यापक चर्चा र हल्ला चले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडा, गृह मन्त्रालयका प्रवक्ता पोखरेल र प्रमुख जिल्ला अधिकारी रिजालले अहिले त्यस्तो कुनै तयारी र छलफल नभएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.