जीवन बीमा कम्पनीहरुले एक महिनामै संकलन गरे १० अर्ब प्रिमियम, सूर्यालाई पछ्याउँदै सिटिजन

  २०७८ मंसिर १४ गते १७:५९     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक महिनामै १० अर्ब बढी प्रिमियम संकलन गरेका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अनुसार सञ्चालित १९ वटा जीवन बीमा कम्पनीले कार्त्तिक महिनामा मात्रै १० अर्ब १९ करोड ८२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

कम्पनीहरुले जीवन र वैदेशिक रोजगार बीमालेख गरी कूल ७ लाख ३० हजार १६६ वटा बीमालेख बिक्री गरी सो मात्राको बीमाशुल्क आर्जन गरेका हुन् ।

एक महिनाको अवधिमा अर्ब बढी बीमाशुल्क संकलन गर्नेमा तीन कम्पनीहरु रहेका छन् । तीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बीमाशुल्क संकलन गरेको छ । यसअघि पनि अन्य कम्पनीलाई पछि पार्दै अघि बढिरहेको नेपाल लाइफले कार्त्तिक महिनामा मात्रै ११ हजार ९२२ वटा बीमालेख बिक्री गरी २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, बढी बीमाशुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन दोश्रोमा र नेशनल लाइफ इन्स्योरेन्स तेश्रो स्थानमा रहेको छन् । जसमध्ये लाइफ इन्स्योरेन्सले ५ हजार २५५ वटा बीमालेख बिक्री गरी कूल एक अर्ब ३३ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले ४ हजार २४५ वटा पोलिसी बिक्री गरी एक अर्ब ८ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी, सबैभन्दा बढी बीमालेख बिक्री गर्ने संख्याको आधारमा मेटलाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सले एक महिनामै ४ लाख ६ हजार ७३९ वटा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीले सो मात्राको बीमालेख बिक्री गरी ४६ करोड ४७ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, यूनियन लाइफले ६६ करोड ७२ लाख र एशियन लाइफले ५९ करोड ६९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।त्यसैगरी, न्यूनतम ३० करोडदेखि अधिकतम ४० करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गर्नेमा ५ जीवन बीमा कम्पनी रहेका छन् । जसमा प्राइम, सूर्या, सिटिजन, सन नेपाल र रिलायबल नेपाल लाइफ रहेका छन् । यीमध्ये सूर्या लाइफ र सिटिजन लाइफबीच टक्कर परेको छ । सूर्या लाइफले ३८ करोड ८९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्दा सिटिजन लाइफले ३८ करोड ७० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

राष्ट्रिय बीमा संस्थानले २५ करोड ३४ लाख, ज्योति लाइफले २३ करोड ८० लाख र गुराँस लाइफले २२ करोड ३६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले कार्त्तिक महिनामा ८ सय १४ वटा बीमालेख जारी गरी १० करोड ८० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

उता बीमालेख संख्याको आधारमा गुराँस लाइफ इन्स्योरेन्स सबैभन्दा कम जारी गरेको छ । इन्स्योरेन्सले ८११ वटा मात्रै बीमालेख जारी गरेको छ ।

को तथ्यांक अनुसार जीवन बीमा कम्पनीले एक वर्षमा २३.२२ प्रतिशत बढी बीमाशुल्क संकलन गरेका छन् । २०७७ कार्त्तिकसम्ममा ३९ अर्ब २२ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका कम्पनीहरुले २०७८ कार्त्तिकसम्ममा ४८ अर्ब ३२ लाख रुपैयाँ बराबरको प्रिमियम उठाउन सफल भएका छन् ।

त्यस्तै, समीक्षा अवधिमा जीवन बीमालेख जारी संख्या पनि २१.२८ प्रतिशतले बढेको छ । कम्पनीहरुले चालु आवमा ९५ लाख ७ हजार ४२१ वटा पोलिसीहरु बिक्री गर्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.