बागमतीका उद्योगहरुमा मात्रै बैंकहरुको ९ खर्ब ऋण

  २०७८ मंसिर १४ गते १७:५१     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बागमती प्रदेशका उद्योगहरुमा करिब ९ खर्ब अर्थात ८ खर्ब ९६ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले सो कर्जा प्रवाह गरेका हुन् ।

२०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले यस प्रदेशका औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २५.७ प्रतिशतले वृद्धि भई रु.८ खर्ब ९६ अर्ब ४२ करोड पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्ष यस्तो कर्जा २२.८ प्रतिशतले वृद्धि भई रु.७ खर्ब १२ अर्ब ९९ करोड पुगेको थियो । यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३७.७ प्रतिशत रहेको छ ।

औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी रु.७ खर्ब ७१ अर्ब ६ करोड (८६.० प्रतिशत) कर्जा लगानीमा रहेको छ भने रसुवा जिल्लामा सबैभन्दा कम रु.४६ करोड कर्जा (०.१ प्रतिशत) लगानी रहेको छ ।

कुल औद्योगिक कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ४१.१ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम खानी उत्पादन सम्बन्धी उद्योगमा १४.८ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, विद्युत, ग्यास तथा पानीमा ३२.५ प्रतिशतले, कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ३७.७ प्रतिशतले, निर्माणमा १९.१ प्रतिशतलेर गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा २०.८ प्रतिशतले कर्जा बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.