बुद्धको रणनीतिक योजनाः ५ वर्षमा १० जहाजबाट दुर्गमका क्षेत्रमा उडान गर्ने

  २०७८ मंसिर ५ गते १३:१०     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले आफ्नो रणनीतिक योजना सार्वजनिक गरेको छ । सुगम क्षेत्रलाई उच्च प्राथमिकता राख्दै उडान गर्दै आएको बुद्धले दुर्गम क्षेत्रमा नयाँ जहाज थप गरी उडान भर्ने तयारी थालेको हो ।

तयारी स्वरुप बुद्धले अबको ५ वर्षमा १० वटा ट्वीनअटर जहाज थप गरी दुर्गमका क्षेत्रमा उडान भर्ने जनाएको छ ।

बुद्धले सन् २०२३ को सुरुवातदेखि नयाँ जहाजबाट हवाईसेवा सुचारु गर्ने भएको छ । सुरुवाती चरणमा ४ वटा ट्वीनअटर विमान थपेर उडान भर्दै क्रमश सन् २०२४ देखि २०२६ सम्म प्रत्येक वर्ष २/२ वटा जहाज थप गर्ने जनाएको हो ।

दुर्गमका क्षेत्रमा ट्वीनअटर विमानबाट उडान गर्न बुद्धले नयाँ जहाजको खरिद तयारीका लागि जहाज निर्माता कम्पनीसँग छलफल सुरु गरेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले ट्वीनअटर विमान निर्माता कम्पनी भाइकिङ एयर लिमिटेडका सेल्स एन्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोव मोराचसँग दुबई एयर शोमा भेटवार्ता गरेका छन् ।

कम्पनीले दुर्गममा उडानका लागि पूर्वमा मन्थली, पश्चिममा पोखरा, कर्णाली र सुदूरपश्चिमका लागि नेपालगञ्ज विमानस्थललाई हव बनाउने कम्पनीका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए ।

उनका अनुसार सन् २०२३ को सुरुवातबाटै ४ वटा जहाजले उडान विस्तार गरेसागै सन् २०२४ मा थप २ वटा र क्रमश २०२५ र २०२६ मा क्रमश २–२ वटा जहाज थप्ने योजना बनाएको छ ।

मुख्य सहरमा उडान भरिरहेको बुद्ध एयरले पछिल्लो वर्ष प्रादेशिक उडानमा बढी ध्यान दिएको छ । पोखरालाई केन्द्रबिन्दु बनाएर भरतपुर–पोखरा, भैरहवा–पोखरा, नेपालगञ्ज–पोखरा, विराटनगर–पोखरा उडान गर्ने जनाएका छन् ।

२२ को मार्चमा ३ थान एटिआर जहाज थप्दै

कम्पनीले सन् २०२२ मा तीन थान एटिआर जहाज थप गर्ने तयारी थालेको छ । सन् २०२२ को मार्च महिनाभित्रमा कम्पनीले एटीआर–७२ ५०० मोडलका ३ थान जहाज थप गर्ने तयारी थालेको जनाएको छ ।

हाल बुद्ध एयरसँग १५ वटा जहाज रहेका छन् । हाल कम्पनीसँग सबैभन्दा बढी एटीआर–७२ ५०० मोडलका १० वटा, एटीआर ७२– ३०० मोडलका ३ वटा र बीचक्राफ्ट १९०० डी विमान २ वटा गरी १५ वटा विमान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.