रासायनिक मलको उच्च मूल्य बृद्धिः ७ लाख टन माग तर आउँछ २ लाखमात्रै

  २०७८ मंसिर ५ गते १०:३४     विकासन्युज

काठमाडौं । लामो समयदेखि नेपाली किसानले भोग्दै आएको प्रमुख समस्या हो सिजनमा रासायनिक मलको अभाव ।

नेपालमा प्रत्येक वर्ष ७ लाख मेट्रिक टनभन्दा बढी रासायनिक मलको माग हुने गरेको छ । तर, मागको तुलनामा न्यून मात्रामा रासायनिक मल भित्रने गरेको छ ।

नेपाल सरकारले रासायनिक मल आयातको जिम्मा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशनलाई दिएको छ ।

सरकारी स्वामित्वमा सञ्चालित २ सरकारी निकायले पर्याप्त मात्रामा रासायनिक मल ल्याउँन नसक्दा किसानले सिजनमै मल अभाव झेल्दै आएका हुन ।

महङ्गो भयो मल

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य तीन गुणसम्म बढेको छ । मल खरिद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी रासायनिक मलको मूल्य निरन्तर बढ्दा खरिदमा समस्या भएको बताउँछन् ।

‘हामी ठेकेदार कम्पनीले मल ल्याएनन, नेपालमा अभाव भयो मात्र भन्छौं तर, किन तोकिएको समयमा मल आएन भन्ने तर्फ ध्याननै निदैनौं, गत वर्ष प्रतिमेट्रिकटन ३४१ डलर खरिद गरिएको रासायनिक मल यो वर्ष ९४८ डलरमा समेत पाइएको छैन । एक वर्षमा झन्दै तीन गुणसम्म मूल्य बृद्धि भएको छ,’ प्रबन्ध संचालक भण्डारीले विकासन्युजसँग भने ।

उनले मल खरिदको सम्झौता गर्दा र खरिद गरेर ल्याउँदा ठूलो रकम फरक पर्ने हुँदा ठेकेदार कम्पनीले समयमा मल ल्याउन नसकेको दाबी गरे ।

‘समयमा मल ल्याउन नसक्नेलाई हामी कारवाही गर्छौैं, गरेका पनि हौं, उनीहरु महङ्गो मूल्यमा मल ल्याउनुभन्दा कारवाहीमा पर्दा ठिक भन्नेतर्फ लाग्छन्, थोरै रकम धरौटी राखेका हुन्छन्, धरौटीभन्दा ठूलो रकम नोक्सान खाएर मल ल्याउनभन्दा धरौटी जफत हुँदा उनीहरु सहज मान्छन्, मल नल्याउने ठेकेदार कम्पनीलाई कारवाही गर्नु फेसन जस्तै भएको छ,’ उनले भने ।

७ लाख टनको माग तर आउँछ २ लाख

नेपालमा रासायनिक मलको वार्षिक माग ७ सय मेट्रिक टन हो । सरकारले रासायनिक मल खरिदमा अनुदान समेत दिदै आएको छ ।

गत वर्ष अनुदानमा रासायनि मल खरिद गर्ने भन्दै ११ अर्ब बजेट छुट्टाएको सरकारले यस वर्ष १५ अर्ब बजेट विनियोजन गरेको छ ।

गत वर्ष ११ अर्ब बजेटबाट ४ लाख २० हजार मेट्रिक टन ल्याईएको कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी बताउँछन् । उनका अनुसार गत वर्षको तुलनमा यस वर्ष आधा मात्रै मल ल्याउन सकिने अनुमान गरिएको छ ।

उनले दिनदिनै रासायनिक मलको मूल्य बढ्दा यस वर्ष १५ अर्ब बजेटबाट २ लाख १५ हजार टन मात्र मल ल्याउन सकिने अनुमान गरिएको बताए । मूल्यमा आएको फेरबदलले एउटै टेन्डरका लागि १९/२० पटक सम्म बोलपत्र आह्वान गर्नुपरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीसँग हाल १६ हजार मेट्रिक टन यूरिया मल मौज्दात रहेको छ । यस्तै, भारतबाट १० हजार टन डीएपी आउने क्रममा छ । प्रबन्ध संचाल भण्डारीले फागनुदेखि तयारी गर्दासमेत समयमै मल ल्याउन नसकेको भन्दै यस वर्ष पनि रासायनिक मलको अभाव हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.