तीन बैंकका सीईओले कमाए साढे ४ करोड, कुन बैंकका सीईओको तलब कति ?

  २०७८ कार्तिक २३ गते १५:२९     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको अनुमति पाएका तीन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले कुल ४ करोड ४४ लाख ६६ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् । माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला, सानिमा बैंकका सीईओ भुवन दाहाल र सिटिजन्स बैंक इन्टरनेशनलका सीईओ गणेश पोखरेल गरी तीन जना सीईओले एक वर्षमा आफु आवद्ध बैंकहरुबाट सो रकमको तलब भत्ता बुझेका हुन् ।

तीनै वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको वार्षिक साधारणसभा गरिरसकेका छन् । बैंकहरुले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका अनुसार सबैभन्दा बढी तलब भत्ता सानिमा बैंकका सीईओ भुवन दाहालको रहेको छ ।

भुवन दाहाल

सीईओ दाहालले सानिमा बैंकबाट गत आर्थिक वर्षमा १ करोड ८४ लाख १५ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् । यो आधारमा बैठक भत्तालाई नजोड्दा उनको मासिक तलब १५ लाख रुपैयाँ पर्न जान्छ ।

गत आर्थिक वर्षमा बैंकका अन्य प्रमुख व्यवस्थापकहरुले ३ करोड ८६ लाख ९२ हजार रुपैयाँ तलब भत्ता लिएका छन् ।

बैंकले गत आर्थिक वर्ष कुल २ अर्ब २५ करोड ८३ लाख ११ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । त्यसमा १ अर्ब ४३ करोड ९१ लाख ९६ हजार रुपैयाँ कर्मचारी, भत्ता तथा सुविधा (बोनस सहित) र ८१ करोड ९१ लाख १४ हजार रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ ।

गणेश पोखरेल

सिटिजन्स बैंक इन्टरनेशनलका सीईओ गणेश पोखरेलले १ करोड ३१ लाख ९० हजार रुपैयाँ तलब भत्ता बुझेका छन् । यसमा उनले ६६ लाख ३३ हजार रुपैयाँ आयकर तिरेका छन् भने कुल कुल ६६ लाख ५६ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् ।

बैंकका अन्य पदाधिकारीहरुले भने २ करोड ३० लाख २६ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् ।

सन्तोष कोइराला

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बैंकबाट एक वर्षमा १ करोड २८ लाख ६१ हजार रुपैयाँ तलब भत्ता सुविधा लिएका छन् । बैंकले सार्वजकि गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका अनुसार उनले एक वर्षमा सो रकम बुझेका हुन् ।

यसको आधारमा अन्य बैठक भत्ता तथा सुविधा नजोड्दा मासिक १० लाख रुपैयाँ तलब पर्न जान्छ । बैंकले गत वर्ष कर्मचारी खर्च (बोनस समेत) १ अर्ब ७६ करोड ९५ लाख, १ अर्ब ८ करोड ९ लाख कार्यालय सञ्चालन खर्च गरी कुल २ अर्ब ८५ करोड ४ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.