मिठाइ बनाउन म्याद सकिएका रङको प्रयोग, २ लाख जरिवाना

  २०७८ कार्तिक १२ गते १३:१२     विकासन्युज

काठमाडौं । गुलाब मिठाई सुन्धारालाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । सालिमार हस्पिटालिटी एण्ड फुड प्रा. लि. का नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्राण्डका मिठाई उत्पादन तथा विक्री गर्दै आएको सो पसललाई शुक्रबार कारवाही स्वरुप जरिवाना गरिएको हो ।

काठमाडौँ महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको गरेको अनुगमनका क्रममा पसलको भान्छामा म्याद सकिएका रङ्, अन्य कम्पनीले उत्पादन गरेका खाद्यबस्तुमा आफ्नो लेवल र आफूले उत्पादन गरेका खाद्यबस्तुमा भारतीय कम्पनीको लेवल राखेको, उत्पादन मिति उल्लेख नभएका पेय विक्री गरेको पाइएपछि कारवाही गरिएको जनाइएको छ ।

यसअघि, अनुगमन टोलीले नयाँ सडकमा रहेको पसलको पनि निरीक्षण गरेको थियो । त्यस क्रममा उत्पादन मिति उल्लेख नभएका चिउराका बोराहरु फेला पारेको थियो । अनुचित व्यापारिक क्रियाकलाप भएकोले जरिवाना तिराउनु परेको हो । निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले यसअघि दिइएका निर्देशनको पालना गर्ने वा त्यसका लागि तत्परता नदेखिएपछि जरिवाना गरिएको बताए ।

यसअघि ०७६ कार्तिक ८ गते महानगरले यही ठाउँमा गएर गलत भएका ठाउँहरु देखाउँदै सुधार गर्न निर्देशन दिएको थियो । निर्देशन दिएको २ वर्षसम्म सो पसलले कुनै सुधार गरेको नपाइएको अनुगमन टोलीले निष्कर्श निकालेको हो ।

अनुगमनमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझाले काठमाडौं उपत्यका भित्रका अधिकाशं मिठाइ पसलमा एउटै समस्या देखिने गरेको पाइएको जानकारी दिए ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना अनुगमन टोली मिठाइ पसलको भान्छा सरसफाइ गर्न गएजस्तो भएको बताउँछन् । एक दुईवाहेक अरुको मिठाई उत्पादनको चक्रमा कतै न कतै समस्या भेटिइहाल्छ । अहिले मापदण्ड कार्यान्वयनका लागि व्यवसायी र नियमनका लागि सरकारको तत्परता चाहिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.