…अनि सीईओले भने- राम्रो काम गरेछौं

  २०७८ कार्तिक १० गते १४:२२     विकासन्युज

काठमाडौं । उमेरले ५८ वर्ष पुगेका खोटाङका देवराज भट्टराई र ६३ वर्ष पुगेकी आमा ढकमायाँ भटराईका एकल छोरा थिए उपेन्द्र भट्टराई । भट्टराई दम्पत्तीका एकल छोरा उपेन्द्रको गत असोज ५ गते कोरोना संक्रमणका कारण निधन भयो ।

बुढेसकालको एकमात्र साहाराको रुपमा रहेका छोराको अल्पायुमा निधन भएपछि भट्टराई दम्पत्तीलाई बुढ्यौली उमेरमा वज्रपात आइपर्यो । कान नसुन्ने देवराज र सामान्य हिड्डुल गर्न समेत अर्काको साहारा चाहिने ढकमायाँको बुढेसकालको सहारा नै कोरोनाले चुडेको थियो ।

विहे गर्न बाँकी रहेकी कान्छी बहिनीलाई पढाउने र विहेबारी गर्ने काम बाँकी नै थियो । बुबाआमाको बुढेसकालको एक्लो सहाराको रुपमा रहेका छोरा गुमाउँदा आमाको आखामा आँशु बग्न रोकिएको छैन ।

छोराको बिहे गरेर घरमा बुहारी भित्र्याएर खुशी हुँदै बुढेसकालमा छोराको कमाई खाने अपेक्षा सबै बाबुआमालाई जस्तै भट्टराइ दम्पत्तीलाई पनि थियो । नाति नातिना खेलाउने सपना देख्ने उमेरमा परिवारको लागि कमाई गर्ने एक मात्र सन्तान गुमाउँदाको पीडा र समस्यामा थियो भट्टराई दम्पत्ती ।

आफन्त गुमाएको क्षतिपूर्ति कसैले पनि गर्न सक्दैन । तर, आर्थिक समस्या केही हदसम्म भएपनि टार्ने विकल्प पाइयो भने केही हदसम्म भएपनि राहत महसुस हुन्छ ।

अल्पायुमा नै छोरा गुमाएका भट्टराई दम्पतीलाई बुढेसलको सहारा स्वरुप पेन्सन पाएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्थामा कार्यरत छोराको मृत्यु भएपनि भट्टराई दम्पतीले मासिक रुपमा १६ हजार १ सय ९१ रुपैयाँ पेन्सन पाएका छन् ।

उपेन्द्र कार्यरत संस्थाले संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीको २०७८ को वैशाखमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको थियो । कोषमा आवद्ध भएका योगदानकर्ता (श्रमिक कर्मचारी) लाई कोषले विभिन्न ४ प्रकारका सेवाहरु दिने गरेको छ ।

कोषले दिने ती चार सुविधामध्ये भट्टराई दम्पतीले आश्रिम परिवार सुरक्षा योजना अन्तरगत बाचुन्जेल पेन्सन पाएका हुन् । भट्टराई दम्पती बैंक तथा वित्तीय संस्था अन्तरगत पेन्सन पाउने पहिलो आश्रित परिवार हो ।

कोषले बुधबार औपचारिक कार्यक्रमको आयोजना गरी असोज महिनाको पेन्सन भट्टराई दम्पतीको बैंक खातामा पठाएको छ ।

३० हजार जम्मा गर्दा मासिक १६ हजार पेन्सन

मृतक भट्टराईले सामाजिक सुरक्षा कोषमा गत वैंशाखदेखि भदौसम्म २६ हजार ९८५ रुपैयाँ आधारभूत पारिश्रमिकबाट तीन महिनामा ३० हजार ९४९ रुपैयाँ जम्मा गरेका थिए । सरकारले गत जेठ र असारको कोषमा बुझाउनु पर्ने रकम जम्मा गर्ने घोषणा गरिसकेको छ ।

कोषले मृतक भट्टराईको आश्रित परिवार योजना अन्तरगत बुबाआमाले ३०/३० प्रतिशत गरी कुल ६० प्रतिशतले हुन आउने गरी मासिक रुपमा १६ हजार १९१ रुपैयाँ पेन्सन दिएको हो ।

सीइओ भन्छन्ः राम्रो काम गरेछौं

लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रकाशराज शर्माले समयमा नै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएर राम्रो काम गरिएको अनुभूति भएको बताए ।

‘कोषमा आवद्ध हुँदा खाइपाइ आएको रकम समेत घट्छ भनेर धेरै हल्ला फैलिएको थियो । बाहिर जे जस्तो हल्ला भएपनि कर्मचारीको हितका लागि नै सरकारले ल्याएको योजना हो भनेर सञ्चालक समितिको निर्णय गराएर हामी कोषमा आवद्ध भएका थियौं । हल्लाको पछि नलागी आवद्ध हुँदाको फाइदा हामीले बल्ल देख्यौं, हाम्रो सानो निर्णयले गएको मान्छे त फर्किएर आउँदैनन्, तर उसको आश्रित परिवारलाई बाचुन्जेत सहयोग भयो नि,’ प्रमुख कार्यकारी अधिकृत शर्माले भने ।

जब लघुवित्तका सीईओले भक्कानिँदै भने- राम्रो काम गरेछौं (भिडियो)

उनले संस्थाबाट पाउनुपर्ने सम्पूर्ण रकम मृतकका परिवारलाई दिइसकिएको भन्दै बीमा बापतको रकम प्रक्रियामा गइसकेको बताए ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले हरेक तीन/तीन वर्षमा बजारको अवस्था अनुसार बिमाकींय मूल्यांकन अनुसार पेन्सन रकममा परिवर्तन हुने गरी भट्टराई दम्पतीलाई मासिक रुपमा पेन्सन दिन सुरु गरिएको बताए ।

उनले पछिल्लो समय छोटो समयमा नै पेन्सन पाउने आश्रित परिवारको संख्यामा बृद्धि भएको भन्दै हालसम्म कोषले १ सय १२ आश्रित परिवारलाई पेन्सन दिइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.