‘लगानीकर्ताले ८ खर्ब बढी गुमाईसके, तत्काल यी ५ बुँदे माग सम्बोधन गरियोस्’

  २०७८ असोज १८ गते १६:३१     विकासन्युज

काठमाडौं । लामो समयदेखि निरन्तर रुपमा घटिरहेको पुँजीबजार प्रति नेपाल इन्भेष्टर्स फोरमले ध्यानाकर्षण गरेको छ । पुँजीबजारका लगानीकर्ता संगठन इन्भेष्टर्स फोरमले सोमबार एक विज्ञप्ति जारी गर्दै दैनिक घटेको बजारले लगानीकर्तामा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असर प्रति ध्यानाकर्षण गराएको हो ।

फोरमले पुँजीबजारले हालसम्ममा ८ खर्ब रुपैयाँभन्दा बढी गुमाइसकेको बताएको छ । जुन पुँजीबजारको इतिहासमा सबैभन्दा बढी हो । यसले गर्दा ४४ लाखभन्दा बढी लगानीकर्ताहरु थप मारमा परेका छन् ।

त्यस्तै, जिम्मेवार निकायहरुको अदूरदर्शि नीतिका कारण पुँजीबजारमा आपूर्ति बढ्न गएको फोरमको आपत्ति छ । तर, आपूर्तिकै कारणले बजार घटबढ नभई जिम्मेवार निकायहरुको पुँजीबजार प्रति हेर्ने दृष्टिकोण र कमजोर प्रविधि, पूर्वाधार तथा लगानीकर्तामैत्री ऐन कानूनहरु नहुनु नै प्रमुख कारण रहेको फोरमको आरोप छ । साथै, पुँजीबजारको विकास र विस्तारको लागि विगतमा उठाईएका मागहरु हालसम्म पनि सम्बोधन नभएकाले पनि पुँजीबजार निरन्तर रुपमा घटिरहेको फोमरले जनाएको छ ।

त्यसैले, बजारमा लगानीकर्ताको आकर्षण बढाउन र लगानी सुरक्षाको आभाष दिलाई बजारको विश्वसनीयता बढाउनको लागि यथाशीघ्र विभिन्न ५ बुँदे मागहरु सम्बोधन गर्न आग्रह गरेको छ ।

१. नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०७८ र एकीकृत निर्देशिकाले शेयर धितो कर्जालाई कुनै एउटा बैंकबाट ४ करोड र ३ वटा बैंकबाट १२ करोडको सिमा तोकेर लगानी गर्ने वातावरणमा निरुत्साहित गरेको कारण उक्त नियम तुरुन्त खारेज गरियोस् ।
२. नयाँ ब्रोकर संख्याहरू थप गरी वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिई उक्त बैंकहरूको देशभरिको सबै शाखाहरूबाट कारोबार गर्ने सुविधा विस्तार गरियोस् ।
३. ब्रोकर मार्फत हुने मार्जिन कर्जा यथाशीघ्र उपलब्ध गराईयोस् ।
४. हालको कारोबार हेर्दा ब्रोकर कमिसन अत्यन्त महङ्गो भएको हुनाले समय सापेक्ष अविलम्ब समायोजन गरियोस् ।
५. पूँजीबजारलाई नियमन गर्ने नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लामो समयदेखि निमित्तको भरमा चलिरहेको हुँदा उक्त नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा योग्य व्यक्ति अविलम्ब नियुक्ति गरी यथासक्य चाँडो भन्दा चाँडो आम लगानीकर्ताको समस्या समाधान गरियोस् ।

One comment on "‘लगानीकर्ताले ८ खर्ब बढी गुमाईसके, तत्काल यी ५ बुँदे माग सम्बोधन गरियोस्’"

  • pk says:

    आन्दाेे्लन गर्नु छैन, लुकेर बस्छ, आफ्नाे स्वार्थ मात्र हेर्न, केही नगर्ने याे फाेरम, साेमबार राष्ट्र बैंक घेराउ गरेर देखाउ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.