निर्माणकै सिजनमा किन घट्यो सिमेन्टको मूल्य ?

  २०७८ असोज १० गते १२:५७     विकासन्युज

काठमाडौं । निर्माणको सिजन सुरु हुनै लाग्दा सिमेन्टको मूल्य घटेको छ । विश्व महमारीका रुपमा फैलिएको कोरोना भाइरस र बर्खायामका कारण रोकिएको निर्माणजन्य कामको सिजन सुरु हुनै लाग्दा सिमेन्टको मूल्य घटेको हो । अहिले सिमेन्ट उद्योगीहरुले प्रतिबोरा सिमेन्टमा ५० रुपैयाँसम्म घटाएका छन् ।

सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा ४७ घटाएर ७०० दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए ।

यसअघि प्रतिबोरा ७४७ मा सिमेन्ट बिक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौँडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँकोे मूल्य पनि घटाइएको उद्योग प्रशासनले जनाएको छ । अब मासिक रुपमा बजारको माग र उत्पादनको आधारमा निजी क्षेत्रका उद्योगले निर्धारण गरेको मूल्यसँग प्रतिस्पर्धा गर्नेगरी मूल्य तोकिने बताइएको छ ।

हेटौँडामा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा ७०० सय र शिवम् सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा ६८० कायम गरी बिक्री गर्दै आएका छन् । यस उद्योग गत र अघिल्लो आर्थिक वर्षमा कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकी घाटामा परेको महाप्रबन्धक सिंहको भनाइ थियो ।

प्राप्त जानकारी अनुसार यस उद्योगलाई आर्थिक वर्ष २०७६/७७ मा २४ करोड र २०७५/७६ मा १६ करोड घाटा परेको थियो । लामो समयदेखि उद्योगको उपकरण जीर्ण भएर पटक–पटक बिग्रिनाका साथै विगत दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकिएको उद्योगका प्राविधिकको भनाइ छ ।

निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न पटक–पटक योजना र कार्यक्रम ल्याइए पनि कार्यान्वयनमा समस्या हुने गरेको उद्योगका प्राविधिकको भनाइ छ । उद्योगले आफ्नै खानीबाट चुनढुङ्गा, रातो माटोलगायत कच्चापदार्थमार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ ।

नेपाल सिमेन्ट उत्पादन संघका अनुसार बजारमा मागभन्दा पूर्ति धेरै हुन थालेपछि मूल्य घटाएर बिक्री गर्ने अवस्था आएको हो । मेसिन क्षमता बढाउन साथै कर्मचारी सञ्चालनका लागि कारखाना चालू राख्नु पर्ने हुँदा उत्पादन बढ्ने र माग घट्ने अवस्था आएको संघले जनाएको छ । दशैंदेखि जेठसम्मको समय निर्माणकाे सिजन हो । यो सिजनमा अत्याधिक रुपमा निर्माणजन्य काम हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.