कर्जा लगानीमा एनआईसी एशिया र ग्लोबल आईएमईको टक्कर, बैंकिङ क्षेत्रबाट ३० अर्ब निक्षेप गायब

  २०७८ असोज ५ गते १७:४७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुको कर्जा लगानी १ खर्ब ५१ अर्ब रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा वाणिज्य बैंकहरुको कर्जा लगानीमा १ खर्ब ५१ अर्ब रुपैयाँको वृद्धि भएको देखिएको हो । हाल बैंकहरुको कुल कर्जा ३८ खर्ब ७१ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

कर्जा लगानीमा एनआईसी एशिया बैंक र ग्लोबल आईएमई बैंकको प्रतिस्पर्धा सबैभन्दा बढी देखिएको छ । गत असार महिनाको तुलनामा एनआईसी एशिया बैंकले १३ अर्ब ८९ करोड रुपैयाँले कर्जा लगानी वृद्धि गरेको हो । गत असार मसान्तसम्म कुल २ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा भदौ मसान्तसम्म कुल २ खर्ब २ खर्ब ७८ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको हो ।

यस्तै, भदौ महिनाको कर्जा वृद्धि हेर्दा ग्लोबल आईएमई बैंकको पनि ११ अर्ब ७२ करोड रुपैयाँले बढेको देखिन्छ । गत वर्ष असार मसान्तसम्म कुल २ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकले भदौ मसान्तसम्म आइपुग्दा कुल २ खर्ब ५४ अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ ।

यस्तै, भदौ महिनामा कर्जा लगानी बढाउने बैंकहरुमा कुमारी बैंक र सिद्धार्थ बैंक पनि रहेका छन् । दुई महिनाको अवधिमा कुमारी बैंकले १० अर्ब ४३ करोड रुपैयाँले कर्जा बढाएको छ भने सिद्धार्थ बैंकले पनि १० अर्ब ६९ करोड रुपैयाँको वृद्धि भएको छ ।

३० अर्ब निक्षेप गायब

यो दुई महिनाको अवधिमा वाणिज्य बैंकहरुबाट ३० अर्ब रुपैयाँ बाहिरिएको छ । गत वर्ष असार मसान्तसम्मको तुलनामा बैंकहरुको कुल निक्षेप ३० अर्ब १७ करोड रुपैयाँले घटेको हो । भदौ मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४१ खर्ब ७१ अर्ब २२ रुपैयाँ रहेको छ । गत असार मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।

यो दुई महिनाको अवधिमा सबैभन्दा बढी निक्षेप संकलन गर्ने बैंकका रुपमा एनआईसी एशिया बैंक नै देखिएको छ । एनआईसी एशिया बैंकले यो अवधिमा १४ अर्ब ६५ रुपैयाँले निक्षेप बढाएको छ । गत असार मसान्तसम्म कुल ३ खर्ब २५ करोड रुपैयाँ निक्षेप रहेको यस बैंकको भदौ मसान्तसम्म कुल ३ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

यस्तै, कर्जा लगानीमा एनआईसीसँग प्रतिस्पर्धा गरेको ग्लोबल आईएमई बैंकको निक्षेप भने असार मसान्तसम्मको तुलनामा भदौ महिनामा ७ अर्ब रुपैयाँले घटेको छ । गत असारमा २ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकले भदौमा भने निक्षेप घटेर २ खर्ब ७५ अर्ब रुपैयाँमा सीमित भएको छ ।

यस्तै, भदौ महिनामा राष्ट्रिय वाणिज्य बैंकको निक्षेप २८ अर्ब ५६ करोड रुपैयाँले घटेको छ । जुन बैंकिङ क्षेत्रको सबैभन्दा बढी गिरावट हो । यो दुई महिनाको अवधिमा १४ वटा बैंकको निक्षेप घटेको छ भने १३ वटा बैंकको निक्षेप बढेको तथ्यांकले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.