कोभिड महामारीबीच थपिँदै ठूला मल, सवा अर्बको लगानीमा खुल्यो आठ तले ‘लोत्से’

  २०७८ असोज १ गते १६:४०     विकासन्युज

काठमाडौं । कोभिड-१९ महामारीकै बीच होटल, रेष्टुरेन्टदेखि मलहरुमा लगानी बढ्न थालेका छन् । कोभिडले अन्य क्षेत्र प्रभावित भएता पनि पछिल्ला समय ठूला लगानीमा मलहरु थपिने क्रममा बृद्धि हुन थालेका हुन ।

एक अर्ब बढी लागतमा गोङ्गबुस्थित नयाँ बसपार्कमा निर्माण गरिएको लोत्से मल सञ्चालनमा आएको छ । लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोड रुपैयाँ लगानीमा सो मल निर्माण गरेको हो ।

काठमाडौं महानगरपालिका-२६ गोँगबुस्थित विष्णुमति किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कभित्र १३ रोपनी क्षेत्रफलमा लोत्से मल निर्माण गरिएको हो । झण्डै १०० साना गाडी र २०० मोटरसाइकल अट्ने अण्डरग्राउण्ड पार्किङसहित निर्माण गरिएको लोत्से मल आठ तले रहेको छ ।

मलभित्र २०२ पसल कवल, सुविधासम्पन्न दुईवटा रेष्टुराँ, दुईवटा पार्टी प्यालेस, दुईवटा सिनेमा हल, न्यू बाल अन्तर्राष्ट्रिय होलसेल बजार रहेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिए ।

यस्तै, बैंक, वित्तीय संस्था, सहकारी, सैलुनलगायतका पसलसमेत मलभित्र सञ्चालनमा रहेका छन् । उक्त मलभित्र ६ वटा लिफ्ट र १४ वटा एलिभेटर लिफ्ट रहेका छन् । नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कको रुपमा विकास गर्न लोत्सेले प्रविधिलाई जोड दिएको छ । लोत्सेले हाल ३२ टिकट काउण्टरलाई प्रविधिसँग जोडेको महाप्रबन्धक कुँवरले जानकारी दिए ।

विसं २१०२ सम्म लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क सञ्चालन गर्न पाउने गरी सम्झौता गरेको थियो । सम्झौता अवधि सकिएपछि काठमाडौं महानगरलाई जिम्मा लगाउनुपर्ने हुन्छ । बसपार्कभित्र निर्माण गरिएका संरचनासमेत महानगरलाई बुझाउने गरी सम्झौता भएको थियो ।

प्रविधिमैत्री टिकट काउण्टरको शुभारम्भ

शुक्रबार नयाँ बसपार्कमा निर्माण गरिएको प्रविधिमैत्री टिकट काउण्टर र हाइजेनिक खाना तथा खाजा खाने ठाउँको समेत शुभारम्भ गरिएको छ । काठमाडौं महानगरपालिका र लोत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक-निजी साझेदारी’ अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्र एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन देशभरका ६५ भन्दा बढी जिल्लाबाट आवतजावत गर्दै आएका छन् ।

शुभारम्भगरिएको लोत्से मलको शुक्रबार प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले अस्तव्यस्त रहेको नयाँ बसपार्कलाई व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउन अव्यवस्थित टहरा हटाएर सुविधासम्पन्न मल निर्माण गरेको बताए ।

उनले नयाँ बसपार्कलाई २४ सैँ घण्टा सञ्चालन गर्ने वातावरण निर्माणका लागि लोत्से बहुउद्देश्यीय प्रालि लागेको बताउँदै देशको समृद्धिका लागि व्यवसायीलाई निर्धक्कसँग लगानी गर्नसमेत आग्रह गरे ।

लक्ष्मी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत भट्टराईले भूकम्प, नाकाबन्दी र कोरोनाका बीच पनि नयाँ बसपार्कमा अत्याधुनिक सुविधासम्पन्न लोत्से मल निर्माण हुनु खुशीको कुरा भएको बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.