दशैंमा नयाँ गाडी खरिदमा अफरः कार किन्नेलाई कारै उपहारदेखि ६ लाखसम्म दशैं दक्षिणा

  २०७८ असोज १ गते १०:१९     विकासन्युज

काठमाडौं । यसपालीको दशैं आउन अब एक महिना पनि बाँकी छैन । व्यापारीहरुले दशैं तिहार र छठ जस्ता ठूला चाडपर्व लक्षित अफरहरु सार्वजनिक गर्न थालेका छन् ।

दशैंअघि विशेष रुपमा नाडा अटोमोबाइल्स एसोसिएसनले अटोशो आयोजना गर्ने गरेको भएपनि कोभिड महामारीपछि रोकिएको छ । कोभिड महामारीपछि नै निजी सवारी साधनतर्फ सर्वसाधारणको आकर्षण भने बढ्नेका विक्रेताहरुले बताउने गरेका छन् ।

सार्वजनिक सवारी साधनको प्रयोग गर्नेहरु पनि कोभिड संक्रमणबाट सुरक्षित हुनको लागि आफ्नो गच्छे अनुसार निजी सवारी साधन खरिद गर्न लागेका छन् । कोभिड संक्रमण नियन्त्रण तथा रोकथामको लागि सरकारले गरेको लकडाउन, सटडान र निषेधाज्ञाको अवधीमा व्यापार व्यवसाय कम भएपछि विक्रेताहरुले पनि निजी सवारी साधन खरिद गर्नेहरुलाई अझ थप अफर दिन थालेका छन् ।

यसै सन्दर्भमा यसपालीको दशैं तिहार र छड पर्वलाई लक्षित गरी कुन कार खरिदमा के कस्तो अफर छ भनेर यो सामग्री तयार पारिएको छ ।

हुण्डाईको कार खरिदमा नयाँ आई–२०

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई फेष्टिभ डेलाइट २०७८’ योजना ल्याएको छ ।

कम्पनीले सो योजना अन्तर्गत ग्राहकले हरेक हुण्डाई गाडीको खरिदमा, लक्की ड्रमार्फत एक जनालाई बम्पर उपहारमा नयाँ ‘हुण्डाई आई २०’ र ३ लाख रुपैयाँसम्मको नगद छुटको योजना सार्वजनिक गरेको हो ।

साथै, स्क्रयाच कार्ड मार्फत १ लाख रुपैयाँसम्मको थप नगद छुट र निःशुल्क १ वर्षसम्मको बीमा र सडक कर (चालु आवको) छुटका साथमा हरेक हुण्डाई गाडीको खरिदमा ६ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्ने जनाएको छ ।

सुजुकी गाडीमा २ लाख छुट, १ लाख ५० हजार एक्सचेन्ज बोनस पनि

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले दशैं तिहारका लागि ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

कम्पनीले अफर योजना अन्तर्गत ग्राहकलाई दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट दिने जनाएको छ ।

कम्पनीले क्लियरेन्स मोडेलमा विशेष छुटको व्यवस्था रहेको जनाउदै नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा अफर लागू हुने जनाएको छ ।

टाटाको गाडी किन्दा २ लाखसम्म छुट

टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले दशैं तिहार योजना अन्तरगत २ लाखसम्मको नगद छुट दिने जनाएको छ ।

कम्पनी ‘यसपालीको दशैं तिहार, टाटाका सेफेस्ट कार’ हर्षमय परिवार योजना अन्तरगत नयाँ कार किन्ने ग्राहकलाई २ लाखसम्म नगद छुट, आकर्षक एक्स्चेन्ज अफर, निःशुल्क जेनुइन एसेशरिज, निःशुल्क स्वामित्व ट्रान्सफर सुविधा सार्वजनिक गरेको हो ।

यस्तै, १ वर्षको वार्षिक कर, डेलिभरी लिँदा स्पेशल गिफ्ट ह्याम्पर, ३ वर्षको वारेन्टी र निःशुल्क सर्भिस सेवा उपलब्ध गराउने जनाएको छ ।

प्रोटोनको ६ लाखसम्मको दशैं दक्षिणा

चाडपर्व नजिकिए सँगै प्रोटोनले भदौ १७ गतेदेखि दक्षिणा सहितको ‘दशैं–दक्षिणा’ योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत ग्राहकले प्रोटोनको गाडीको खरिदमा १ लाखदेखि ६ लाख रुपैयाँसम्मको अफरयुक्त दक्षिणा प्राप्त गर्न सक्ने जनाएको छ ।

यस्तै कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजारदेखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस स्वरुप स्वरुप प्राप्त गर्न सक्नेछन् ।

सबै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकको लागि ५० हजार रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँसम्म छुट दिने कम्पनीले घोषणा गरिसकेको छ ।

ड्याट्सनको गाडी किन्दा २ लाख ४१ हजार छुट

नेपालमा ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले चाडवाडको अवसर पारेर नेपाली बजारमा ‘ड्याट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले फेस्टिभ हट योजना अन्तरगत २ लाख ४१ हजार रुपैयाँ बराबरको विशेष सुविधा दिने जनाएको छ । जसमध्ये १ लाख २५ हजार नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९९९ मूल्य पर्ने रेडमी नोट १० एस प्राप्त गर्नेछन् । साथै १ वर्षको बीमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङ्गको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.