दशैं तिहारमा बाइक किन्नेलाई उपहारः १५ लाख नगददेखि १२ तोला सुनको एक्का तास

  २०७८ भदौ ३१ गते १०:२३     विकासन्युज

काठमाडौं । नेपालमा ठूला चाडपर्व सुरु भएसँगै नयाँ बाइक तथा स्कुटर बिक्रेता कम्पनीहरुले अफर सार्वजनिक गर्न थालेका छन् । ग्राहकलाई आफ्ना साधनमा आकर्षण गर्न बिक्रेता कम्पनीहरुले नगद तथा सर्भिसिङमा छुटदेखि स्क्र्याच कुपनका अफर सार्वजनिक गर्न थालेका हुन् ।

कोरोना महामारीका कारण बिक्री कम भएका दुई पांग्रे बाइक तथा स्कुटर खरिदका लागि कम्पनीहरुले आर्कषण अफर सार्वजनिक गर्न थालेका छन् ।

कोभिड महामारी सुरु भएदेखि निजी सवारी साधनमा सर्वसाधारणको आकर्षण अझ बढ्न थालेको छ । कोभिड महामारी नियन्त्रण र रोकथामको लागि भन्दै सरकारले गरेको लकडाउन, सटडाउन र निषेधाज्ञाको समयमा सार्वजनिक सवारी साधन संचालनमा कडाई गरिएको थियो । सरकारले गरेको यस्तो कडाईका कारण पनि सर्वसाधारणले सार्वजनिक सवारी साधनमा आवाज जावत गर्न समस्या भएको थियो । सोही कारण पनि निजी सवारीप्रति सर्वसाधारणको आकर्षण बढेको छ ।

यस्तै, बढी भिडभाड हुँदा सार्वजनिक सवारी साधनबाट कोभिड संक्रमण फैसन सक्ने सम्भावना बढी हुने स्वास्थ्य विदहरुले बताइरहेका छन् । यसैकारण पनि निजी सवारी साधन खरिद गरी आफूलाई सुरक्षित राख्न पनि सर्वसाधारणले निजी सवारीप्रति चासो बढाएका छन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले कामकाजी मानिसलाई लक्षित गरी सवारी साधन खरिदको लागि सहजै कर्जा उपलब्ध गराउने गरेका छन् । कर्जा सहज पाइने, कोभिड संक्रमणको जोखिम कम हुने र आफ्नै सवारी साधन पनि हुने भएकोले पछिल्लो समय निजी सवारी साधनप्रति आकर्षण बढेको विक्रेताहरुले बताउने गरेका छन् ।

तुलनात्मक रुपमा सस्तो हुने र पार्किङको लागि खासै समस्या पनि नपर्ने भएकोले पछिल्लो समय मोटरसाइकल तथा स्कुटरप्रति आकर्षण बढेको छ । सर्वसाधारणको आकर्षण बढेको र ठूला चाडपर्व पनि आएको मौका पारेर बाइक र स्कुटर विक्रेताले विभिन्न प्याकेज ल्याएका छन् । यही सन्दर्भमा कुन कम्पनीले के कस्ता अफर र प्याकेजहरु ल्याएका छन् भनेर यहाँ जानकारी दिने प्रयास गरिएको छ ।

बजाजको बाइक किन्दा १ लाख छुटदेखि १० लाखसम्मको पुरस्कार

बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ बाइक खरिदमा १ लाख १० हजार रुपैयाँ नगद छुटदेखि १० लाख रुपैयाँसम्मका पुरस्कारको घोषणा गरेको छ ।

कम्पनीले चाडपर्वलाई ध्यानमा राख्दै ‘बजाज खुसीको ३ डोज’ योजना सार्वजनिक गरेको हो । कम्पनीले ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले १० हजार, खरीदको दौरानमा १ लाख र किनेपछि बम्पर अफरमा कुनै पनि अधिकृत डिलरबाट १० लाखसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्ने योजना ल्याएको छ ।

यामाहाको बाइक किन्दा १२ तोला सुनको एक्कातास

यामाहा मोटर साइकल तथा स्कूटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले भदौ १६ गतेबाट ‘रेस फर द एस अफर’ ल्याएको छ । सो योजना अन्तर्गत उपभोक्ताहरुले यामाहा २ पांग्रे सवारी साधन खरीद गर्दा तत्कालै स्योरसट उपहारमा ८ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट तथा लक्की ड्रमा हरेक हप्ता एक जनालाई ४ तोला सुनको एक्कातास दिने जनाएको छ ।

कम्पनीले विजेताले लक्की ड्रकोभन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्कातास जितेर रेस फर द एसको सर्वाधिक भाग्यशाली विजेताको ताज पहिरिन सक्ने समेत जनाएको छ ।

टीभीएसको अफरः ५ हजार ९९९ रुपैयाँ किस्तामा नयाँ बाइक

टीभीएस मोटरसाइकलको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले चाडपर्व अफर अन्तरगत ५ हजार ९९९ रुपैयाँ मासिक किस्तामा नयाँ बाइक दिने जनाएको छ । कम्पनीले चाडपर्वका लागि नै ‘ग्राण्ड एक्सचेन्ज मेला’ असोज १ गते भृकुटीमण्डपमा आयोजना गर्न लागेको छ ।

टीभीएसले सो मेलामा जुनसुकै ब्राण्डका मोटरसाइकल एक्स्चेन्ज गर्ने कुनै पनि ग्राहकले डाउन पेमेन्ट गर्नु नपर्ने योजना ल्याउने जनाएको छ ।

कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट पुर्याएर मोटरसाइकल किन्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा मोटरसाइकल, एक्स्चेन्जमा मूल्यङ्कन भन्दा १० हजार थप एक्स्चेन्ज बोनस, दशैं स्कीममा ल्याएको स्क्र्याच कार्ड मार्फत किन्नुअघि १ लाखसम्म र किनेपछि १० लाखसम्म नगद छुट पाउने जनाएको छ ।

मोटरहेडको गोलाप्रथाबाट १ लाखसम्म छुट

नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले भदौ २४ गतेदेखि दशै, तिहार र छठलाई मध्यनजर गरी ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर सार्वजनिक गरेको छ ।

आगामी कात्तिक २४ गतेसम्म चल्ने सो अफर अन्तर्गत मोटरहेडका जुनसुकै मोटरसाइकल खरिदमा १२ हजार नगद छुटदेखि ८ हजार फाइनान्सिङको छुट दिएको छ । यस्तै, कम्पनीले अफर अवधिभर मोटरसाइकल खरिद गर्ने सबै ग्राहकहरु मध्येबाट गोलाप्रथा गरी तीन जना भाग्याशाली ग्राहकलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ नगद प्रदान गर्ने जनाएको छ ।

बेनेलीको बाइक किन्दा २ लाख छुट

इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङले चाडपर्वका लागि थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको छ । कम्पनीले मोटरसाइकल किन्नुभन्दा पहिले ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्दा १ लाख रुपैयाँ छुट, मोटरसाइकल किन्ने निश्चित भइसकेपछि वाक इन डिस्काउन्ट अफर अन्तरगत १ लाख र मोटरसाइकल किनिसकेपछि ५ हजार रुपैयाँसम्मको हेल्मेट र अन्य विभिन्न गिफ्ट गरी २ लाख ५ हजारसम्मको छुट दिने जनाएको छ ।

होण्डा बिग बाइक खरिदमा १५ लाख पुरस्कार

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले हरेक प्रदेशबाट होण्डाको मोटरसाइकल तथा स्कुटर खरिद गर्ने १ जनालाई १ लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

पहिलो पटक सातै प्रदेशलाई समावेश गरेर छुट सार्वजनिक गरेको कम्पनीले छुट अविधिभर होण्डाका ग्राहकहरुले स्क्र्याच कुपन मार्फत हात खाली नजाने गरी १ लाख रुपैयाँसम्म नगद उपहार दिने समेत जनाएको छ । यस्तै, छुट योजना अन्तर्गत ग्राहकले ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्रदान गर्ने जनाएको छ ।

त्यसैगरी होण्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यास व्याक, १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको ईएमआई र १ प्रतिशत व्याजदरमा होण्डा खरिद गर्न सकिने अफर ल्याएको छ । होण्डा बिग बाइक खरिदमा सहभागी १ जनालाई १५ लाखसम्मको नगद पुरस्कार समेत दिने कम्पनीले जनाएको छ ।

हिरोको अफरः नगद ६ हजार छुटदेखि स्क्र्याच कार्ड मार्फत १ लाख नगद

नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालिले नगद छुटदेखि स्क्र्याच कार्डमार्फत १ लाखसम्मको छुट योजना सार्वजनिक गरेको छ ।

कम्पनीले चार्डपर्वलाई लक्षित गर्दै हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ डिस्काउन्ट, स्क्र्याच कार्ड मार्फत १ लाख तथा बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख रुपैयाँ नगदको घोषणा गरेको हो । यस्तै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा शून्य प्रतिशत व्याजमा ५० प्रतिशत फाइनान्सको समेत सुविधा उपलब्ध गराउने जनाएको छ ।

सुजुकीको अफरः १० हजार पक्का क्यासब्याकदेखि बाइकसम्म

सुजुकी मोटरसाइकलको आधिकारीक विक्रेता भिजी अटोमोबाइल्सले नयाँ सुजुकीको बाइक खरिदमा १० हजार पक्का क्यासव्याकदेखि नयाँ बाइक दिनेसम्मको अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘दशैं आयो, उमंग छायो, क्यासव्याकको साथै बम्पर पायो’ उपहार योजना सार्वजनिक गरेको हो ।

सो योजना अन्तरगत कुनै पनि सुजकी ब्राण्डको मोटरसाइकल र स्कुटरको खरिदमा १० हजार रुपैयाँ पक्का क्यासव्याक पाउनुको साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारको रुपमा सुजमी बाइक पाउने पक्का रहेको छ । सो अफरमा एक वर्षको रोड ट्याक्स, फाइनान्स र एक्सचेन्जको सुविधा रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.