मंगलबारको बजारमा चालु वर्षयताकै न्यून कारोबार, सबै समूह राताम्मे

  २०७८ भदौ २९ गते १५:२९     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर कारोबार ५ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ । जुन चालु आर्थिक वर्ष २०७८/७९ अर्थात दुई महिना यताकै न्यून कारोबार हो ।

यसअघि गत असार ३० गतेको बजारमा ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसयता सो भन्दा कम कारोबार भएको थिएन ।

मंगलबारको बजारमा २२२ कम्पनीको १ करोड ६ लााख कित्ता सेयर किनबेच भएको छ । जसमध्ये अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

त्यस्तै, बढी कारोबार गर्नेको अग्रस्थानमा अधिकांश हाइड्रो कम्पनीहरु रहेका छन् । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २२ करोड ७९ लाख, यूनाईटेड मोदी हाइड्रोपावरको २२ करोड ३४ लाख र नेशन हाइड्रोपावर कम्पनीको ११ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बढी कारोबार गर्नेको शीर्ष चौथो स्थानमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको एकैदिन १५ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबारको तुलनामा मंगलबारको सेयर कारोबार ४ अर्ब १० करोड रुपैयाँले घटेको छ । बजारमा कारोबारसँगै नेप्से परिसूचकमा पनि दोहोरो अंकको गिरावट आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १८.५४ अंकले घटेर २९२९.२९ बिन्दुमा झरेको छ । जुन सोमबारको तुलनामा ०.६३ प्रतिशतले घटी हो ।

मंगलबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह २७७.८६ अंकले घटेको छ । बजारमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य ५.५६ प्रतिशत अर्थात ११४५ रुपैयाँले घटेर प्रतिकित्ता १९४५० रुपैयाँमा झरेको छ ।

परिसूचक र कारोबार रकम दुबै घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । यससँगै मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ७५५.९० रुपैयाँ र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ७२८ रुपैयाँ पुगेको छ । त्यस्तै, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ५.०४ प्रतिशतले बढेर प्रतिकित्ता ६८८ रुपैयाँ पुगेको छ भने बाँकीको ४ प्रतिशतभन्दा कमले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.