१० वर्षमा लगानी बोर्डः ३४ परियोजना पाइपलाइनमा, २७ का लागि लगानी जुट्यो

  २०७८ भदौ २३ गते १३:०८     विकासन्युज

काठमाडौं । लगानी बोर्ड नेपालले बुधबार १० औं स्थापना दिवस मनाएको छ । देशको पूर्वाधारमा लगानी जुटाउने उद्धेश्यले वि.स २०६८ सालमा स्थापना भएको बोर्डले आज १० औं स्थापना दिवस मनाएको हो ।

बोर्डले यो अवधिमा विभिन्न परियोजनाका लागि लगानी जुटाएको छ भने एउटा आयोजना सम्पन्न गरिसकेको छ । बोर्डले स्थापना यता सबैभन्दा बढी काम भएका पाँचवटा परियोजनाको सूची राखेको छ भने अन्य आयोजनाहरुका लागि लगानी जुटाउनका लागि परियोजना बैंकमा राखेको छ ।

बोर्डले ३४ वटा परियोजनालाई परियोजना बैंकमा राखेको छ भने २७ वटा परियोजनाका लागि ७ खर्ब रुपैयाँभन्दा बढी लगानी जुटिसकेको बोर्डका प्रमुख कार्यकारी अधिकृत ( सीईओ) सुशिल भट्टले बताए ।

उनका अनुसार संखुवासभाको मकालु र चिचिला गाउँपालिकामा भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजना (९०० मेगावाट), नवलपरासीमा होङ्सी शिवम सिमेन्ट, धादिङमा ह्वासिन सिमेन्ट, धरान र सुनसरीमा फोहोर प्रशोधन केन्द्र तथा अछाम, दैलेख र सुर्खेतको सीमामा कर्णाली आयोजना निर्माणाधीन छन् ।

बोर्डमार्फत अघि बढाइएका नौ वटा परियोजना सर्भे र अध्ययनकै चरणमा रहेको बताइएको छ । माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत आयोजना, मुक्तिनाथ केबलकार, डोल्मा फण्ड व्यवस्थापन, सवारीसाधन उत्पादन र जडान प्लान्ट, सिमरा विशेष आर्थिक क्षेत्र (सेज) को ब्लक बी र सी, प्राइभेट फ्रेट टर्मीनल र ब्लक ह्याण्डलिङ फ्यासिलिटिज्, चीन–नेपाल मैत्री औद्योगिक पार्क, मल्टीमोडल लजिस्टिक पार्क र तमोर जलविद्युत आयोजना अध्ययनकै चरणका हुन् ।

नेपालमा लगानी अभाव भयोः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा पूर्वाधार निर्माणका लागि लगानीको अभाव भएको बताएका छन् । लगानी बोर्ड नेपालको १० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै देउवाले नेपालमा लगानी अभाव भएको बताएका हुन् ।

‘हामीले आर्थिक वृद्धिका लागि विभिन्न लक्ष्यहरु लिएका छौं, देशलाई विकसित बनाउनका लागि पहल त गर्यौं तर लगानीको अभाव देखिएको छ, यसका लागि म सम्पूर्ण विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्नका लागि पनि आग्रह गर्छु,’ उनले भने ।

उनले देशले लिएको लक्ष्य भेट्न पर्याप्त लगानी आवश्यक रहेको बताए । सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त परियोजनामा निजी क्षेत्रको लगानी आवश्यक ठानेको पनि उनको भनाई छ ।

लगानीकर्ता भन्छन्ः हामी नेपालमा लगानी गर्न तयार छौं

नेपालमा विगतमा पनि लगानी गर्दै आएको होङसी होल्डिङ ग्रुप चाइनाले नेपालमा अझै लगानी गर्न तयार रहेको बताएको छ । ग्रुपका प्रबन्ध निर्देशक ल्यू सु डोङले लगानी आफ्नो ग्रुपले नेपालमा लगानी गर्न तयार रहेको बताएका हुन् ।

नेपालको एसएच इन्भेष्टमेन्ट लिमिटेडसँग सहकार्य गरी होङ्सी सिमेन्टको दोस्रो फेज र दाङ सिमेन्ट परियोजना विकास गर्न प्रकृया अघि बढेको बताउँदै अझै पनि नेपालमा लगानी थप्ने बताए ।

उनले विभिन्न परियोजना विकास गर्न सहयोगको पनि आग्रह गरे । सो ग्रुपले नेपालमा झण्डै ४० अर्ब लगानी गरी सिमेन्ट उत्पादन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.