ननट्यारिफ बीमाको पनि दर तोक्दै समिति, बिमितले प्रतिस्पर्धाको लाभ लिन नपाउने चिन्ता

  २०७८ भदौ २० गते ११:१९     विकासन्युज

काठमाडौं । बीमा समितिले ननट्यारिफ बीमाको पनि दर तोक्ने भएको छ । बीमा कम्पनीहरुले आफ्नो व्यवसाय बढाउन अस्वस्थ्य प्रतिस्पर्धा गरेको भन्दै समितिले निर्जीवन बीमा व्यवसायतर्फका प्रायः सबै बीमामा दर तोक्न लागेको हो ।

ननट्यारिफ बीमाको दर तोक्ने प्रयोजनको लागि गत साता समितिले निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई समितिमा छलफलको लागि बोलाएको थियो । ननट्यारिफ विजनेसनमा पनि दर तोक्ने तथा कति कायम गर्दा उचित हुन्छ भन्ने जस्ता विषयमा समितिले सुझाव मागेको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

‘नन ट्यारिफ विजनेसनमा अस्वस्थ प्रतिस्पर्धा भयो भन्ने बीमा समितिको निक्र्याेल रह्यो, दर कति राख्दा बिमितलाई पनि फाइदा हुन सक्छ र कम्पनी पनि बाँच्न सक्छन् होला भनेर सुझाव माग्नुभएको थियो, हामीले आफूलाई लागेका कुरा बतायौं,’ ती प्रमुख कार्यकारी अधिकृतले विकासन्युजसँग भने ।

अहिलेसम्म बीमा समितिले निर्जीवन बीमा व्यवसायतर्फ निश्चित बीमामा मात्रै दर तोकेको छ । समितिले सम्पत्ती बीमा, मोटर बीमा, मरिन (कार्गाेहरु) बीमा, कृषि तथा पशुबाली बीमा र हवाई बीमाको मात्रै दर तोेकेको छ । अब भने यसअघि दर तोकिएका बीमाको पनि दर तोक्ने तयारीमा समिति लागेको हो ।

समितिले अबदेखि इन्जिनियरिङ (कन्ट्रयाक्टर अल रिस्क (सीएआर), इरेक्सन अल रिस्क (इएआर), हेल्थ, चोरी, दुर्घटना लगायत विविध बीमाको दर तोक्न लागेको हो ।

ननट्यारिफ विजनेसको पनि दर तोक्नको लागि समितिले अन्तिम गृहकार्य गरिरहेको र सम्भवतः केही दिनभित्रमा नै दर तोकिएर सो अनुसार कार्यान्वयन गर्न गराउन निर्देशन जारी हुने समितिका एक अधिकारीले जानकारी दिए ।

प्रतिस्पर्धा खुम्चने चिन्ता

समितिले बजारमा अस्वस्थ प्रतिस्पर्धा रोक्न भन्दै सबै प्रकारका बीमाको दर तोक्ने गृहकार्य गरेको छ । तर, यस्तो कार्यले व्यवसायिक प्रतिस्पर्धाको लाभ उपभोक्ता (बिमित) ले नपाउने चिन्ता पनि थपिएको एक बीमा विज्ञले बताए ।

‘सबै प्रकारका विजनेसनमा समितिले दर तोक्ने हो भने सबै कम्पनी एकै जस्ता मात्रै भए, त्यो भनेको कम्पनीले दिने दाबी भुक्तानी कति सहज छ, कति चाढो दिन्छ भन्ने आधारमा मात्रै कम्पनी छनोट गर्दा हुने भयो, बजारमा कम्पनीको संख्या धेरै छ भने त उनीहरुबीच हुने प्रतिस्पर्धाको कारण दरमा हुन सक्ने कम बढी वा थप सुविधा जस्ता कारणबाट बिमित (उपभोक्ता) ले लाभ पाउन सक्ने अवस्था हुँदैन,’ ती बीमा विज्ञले भने ।

अहिले विकसित देशहरुमा दर नतोक्ने (डि–ट्यारिफिङ) अभ्यास चलिरहेको भएपनि नेपालमा यसअघि नतोकिएका दर पनि अब तोक्न लाग्नु आफैमा उल्टो बाटो भएको ती विज्ञको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.