एनआरएनएमा पैसाको खेती र राजनीतिक हस्तक्षेप अब बन्द भयोः डा. बद्री केसी

  २०७८ भदौ १५ गते १७:५१     विकासन्युज

गैरआवाशीय नेपाली संघ (एनआरएनए) नयाँ नेतृत्व चयनको तयारीमा छ । नयाँ नेतृत्वको लागि वर्तमान उपाध्यक्ष डा. बद्री केसी पनि अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

एनआरएनएको गत निर्वाचनमा पैसा, राजनीति र बाहुबलको प्रयोग राम्रैसँग भएको देखियो । देश विदेश पुगेका, अन्तराष्ट्रिय एक्सपोजर पाएका व्यक्तिहरुले नै नेपालमा आएर देखाएको सो हर्कतको आलोचना पनि भयो । विदेशमा कमाएको पैसाले नेपालमा राम्रो काम गर्नुभन्दा पनि झन् उछृंखल कार्यमा एनआरएनहरु संलग्न भए भन्दै बौद्धिक क्षेत्रले पनि त्यस्ता गतिविधिको आलोचना गर्यो ।

केही अघिसम्म एनआरएनले नेपालको विकासका लागि सहयोगी भूमिका निर्वाह गर्नेछन्, उनीहरुले देशमा सिस्टम बसाउन उत्प्रेरकको काम गर्नेछन् भन्ने जस्ता अपेक्षाहरु विस्तारै कम हुँदै गएका छन् । मध्यपूर्वका देशमा दुःख गरी कमाएका नेपालीको पैसामा एनआरएनएका नेताहरुले मोजमस्ती पो गरिरहेका छन् कि भन्ने कोणबाट पनि आलोचना नभएका होइनन् ।

यी र यस्तै सन्दर्भमा हामीले यसपटकको विकास वहस एनआरएनएका उपाध्यक्ष डा. केसीसँग गरेका छौं । डा. केसी २०४६ सालमा अध्ययनको लागि रसिया गएका थिए । रसिया जानुअघि उनी अमृत साइन्स कलेजमा अध्ययन गरिरहेका थिए । उनी २०४६ सालको अस्कल टपर पनि हुन् । डा. केसी अहिले रसिया तथा पहिलाका रुसी महासंघ अन्तरगतका देशहरुमा विशेष गरेर खाद्यान्न वस्तुहरुको उत्पादन तथा व्यापारमा संलग्न छन् । उनै डा. केसीसँग शिव सत्यालले गरेको विकास बहसः

गैरआवाशीय नेपाली संघ (एनआरएनए) ले यसपाली नयाँ नेतृत्व चयन गर्दैछ, तयारी कुन अवस्थामा पुग्यो ?

हरेक २ वर्षमा हाम्रो महाधिवेशन हुन्छ । यस्तो वार्षिक साधारणसभाबाट हामीले नयाँ नेतृत्व चुन्छौं । अहिले एनआरएनएको शाखा ८४ देशमा छ । पहिला ८४ देशमा महाधिवेशन भएर ८४ वटा राष्ट्रिय समन्वय परिषदको चुनाव भएर त्यहाँबाट निर्वाचित भएर पठाइएका डेलिगेटहरुले अन्तराष्ट्रिय समन्वय समिति अर्थात केन्द्रको चुनाव गर्छ । हाम्रो विधान अनुसार ३१ जुलाईसम्ममा सबै राष्ट्रिय समन्वय परिषदको चुनाव भइसक्नुपर्ने विधानको व्यवस्था छ । अहिलेसम्म यी ८४ राष्ट्रिय समन्वय परिषदमध्ये ६४ वटामा चुनाव भइसक्यो । उहाँहरुले डेलिगेटस् पठाइसक्नु भएको छ ।

अहिले हामीसँग ३६ सयभन्दा बढी डेलिगेट्स छनोट भइसकेका छन् । ती डेलिगेटहरुले अब केन्द्रको चुनावमा भाग लिनेछन्, उनीहरुमध्येबाट नै उम्मेदवार बन्छन् र उनीहरुमध्येबाट नै केन्द्रकको नेतृत्वमा आउँछन् ।

यो पटकदेखि हामीहरु अनलाइन भोटिङ गरिरहेका छौं । मिति तय भइसकेको छैन । तर, सम्भवतः अक्टोबरको पहिलो सातामा हाम्रो केन्द्रको निर्वाचन हुन्छ । र, विश्वमहाधिवेशन अक्टोबरको २३,२४ र २५ मा गरिरहेका छौं । यो पटक महाधिवेशन र निर्वाचन फरक फरक मितिमा हुन्छ ।

यसपटकदेखि अनलाइन भोटिङ गर्ने भनिएको छ, अमेरिका, बेलायत जस्ता देशहरुमा पनि अनलाइन भोटिङको विषयलाई लिएर विवाद भयो, त्यो विवादको कारण के थियो ? विवाद हुनै पर्ने अवस्था थियो कि थिएन ?

वास्तवमा इलेक्ट्रोनिक भोटिङ र अनलाइन भोटिङ फरक फरक कुरा हुन् । इलेक्ट्रोनिक भोटिङ भनेको मतदानस्थलमा आएर इलोक्ट्रोनिक डिभाइसमा भोटिङ गरिन्छ । अनलाइन भोटिङ भनेको सबै मतदाताले आफू बसेकै ठाउँबाट भोट गर्न सक्छ । मतदातालाई इमेल मार्फत वा मोबाइल मार्फत भोटिङ गर्न दिइन्छ । मतदाताले पाएको कोड अनुसार भोटिङ गर्ने भन्ने हुन्छ ।

अहिले अमेरिका, अष्ट्रेलिया वा बेलायतमा भएको विवाद भनेको जो व्यक्तिले कोड पायो वा जसले भोट गर्नुपर्ने थियो, त्यो व्यक्तिले भोट हालेन भन्ने विवाद हो । इमेलमा गएका कोडहरु वा मोबाइल (टेलिफोन) मा गएका कोडहरुबाट भोटरभन्दा अन्य व्यक्तिले भोट हाल्यो भन्ने विवाद हो । त्यो बाहेक अन्य कुनै समस्या छैन ।

पहिला पनि अमेरिका वा अन्य ठाउँमा अनलाइन भोटिङ हुँदा यी प्रकारका समस्या थिए । यो समस्या समाधान गर्नको लागि केन्द्रमा हामीले एमआईएस सिस्टम डेभलपमेन्ट गरेका छौं । यो नयाँ सिस्टममा भोट हाल्ने व्यक्तिको प्रोफाइलको साथसाथै फोटो हुन्छ र सेल्फी फोटो खिचेर पनि पठाउँनु पर्छ । नयाँ सिस्टम अनुसार सम्बन्धित मतदाताको प्रोफाइल हेरेर फेस रिडिङ गरेपछि मात्रै त्यो एप्लिकेसन खुल्छ । त्यस्तोखालको एप हामीले केन्द्रबाटै डेभलपमेन्ट गरेका छौं । अब केन्द्रमा हुने चुनावमा फेस रिडिङ सिस्टमबाट हुने भएकोले विवाद हुँदैन । किनभने पहिलाको जसरी एउटा व्यक्तिको इमेल अर्काे व्यक्तिले प्रयोग गर्यो वा एउटा व्यक्तिलाई दिइएको कोड अर्काे व्यक्तिले प्रयोग गर्यो भन्ने गुनासो छ । तर, अब हामी सम्बन्धित व्यक्तिको फेस रिडिङ गरेपछि मात्रै खुल्ने एप प्रयोग गर्दैछौं । एउटा व्यक्तिको फेस त अर्काे व्यक्तिले प्रयोग गर्न सक्दैन ।

एनआरएनएको यो नेतृत्वले महत्वपूर्ण के कस्ता कामहरु गर्यो ?

वास्तवमा भन्ने हो भने यो दुई वर्ष संसारकै लागि र एनआरएनएको लागि पनि असाध्यै प्रतिकुल समय रह्यो । असाध्यै चुनौतिपूर्ण रह्यो । हामीले कार्यभार सम्हाल्दै गर्दा यो २ वर्षको बीचमा के कस्ता काम गर्ने भनेर लक्ष्य राखेका थियौं । पहिलो त, एनआरएनको शुद्धीकरणको लागि एनआरएनएको विधानसभा गरेर विधानका कुराहरु सच्याउछौं भनेका थियौं । तपाईहरुलाई थाहा छदैछ, २ वर्ष अगाडिको प्रत्येक्ष भोटिङको अवस्था पनि सहज रहेन । एनआरएनमा अति नै बढी पैसाको चलखेल भएको हो कि, अथवा राजनीतिको चलखेल भएको हो कि भन्ने कुराहरु यहाँहरुले प्रत्येक्ष देख्नुभयो । यो कटअफ गर्नको लागि हामीले अनलाइन भोटिङको व्यवस्था मिलाउँछौं भनेका थियौं । अनलाइन भोटिङ गर्नको लागि विधानमा विभिन्न परिवर्तनहरु गर्नुपर्ने थियो । हामीले गत जनवरीमा विशेष साधारणसभा गरेर धेरै वर्षदेखि विधानमा थाती रहेका कुराहरु सर्वसम्मतीले पारित गरेर कार्यान्वयनमा ल्यायौं ।

सन् २०१५ देखि गोर्खाको लाप्राकमा ५७० वटा घरहरु बनाउन सुरु गरेका थियौं । हामीले काम सुरु गरेको लाप्राक धेरै दुर्गममा भएको कारण लामो समयसम्म पनि काम सम्पन्न भएको थिएन ।

दोस्रो कुरा, सन् २०१५ देखि गोर्खाको लाप्राकमा ५७० वटा घरहरु बनाउन सुरु गरेका थियौं । हामीले काम सुरु गरेको लाप्राक धेरै दुर्गममा भएको कारण लामो समयसम्म पनि काम सम्पन्न भएको थिएन । यो बीचमा हामीले ती ५७० वटा घरसहितको पूर्वाधार बनाएर लाभग्राहीलाई हस्तान्तरण गरिसक्यौं । यो लामो समयदेखिको काम सम्पन्न भएको विषय हो ।

तेस्रो कुरा, एनआरएनएको स्थापनाकालदेखि नै ससानो लगानी समेत समेन्ट्ने गरी १०० मिलियनको लगानी ल्याउछौं भनेर हामीले भनिरहेका थियौं । त्यसको लागि विभिन्न पूर्वाधारहरु विशेष गरेर कानुनहरु आएका थिएनन् । हामीले भर्खरै मात्र १० अर्ब रुपैयाँ बराबरको कम्पनी स्थापना गरेका छौं । त्यो १० अर्ब रुपैयाँको कम्पनीमा नेपाल सरकारको ५ प्रतिशत सेयर छ । सुरुमा अलि बढी लगानी गर्न सक्ने एनआरएन साथीहरुको लगानी छ । बाँकी साढे ८ अर्ब रुपैयाँ बैदेशिक रोजगारीमा गएका होस् वा विदेशमा रहेका होस्, एनआरएनलाई मात्रै लक्षित गरेर कम्पनी बनाएका छौं । यो कम्पनीमा नेपाल भित्रबाट लगानी गर्न पाइदैन । किनभने हामीले नेपाल बाहिरबाट लगानी ल्याउछौं भनेको थियौं । ससानो पुँजी भएका व्यक्तिहरुले पनि लगानी गर्न सकुन भनेर १ हजार रुपैयाँदेखि नै लगानी गर्न सक्ने गरी कम्पनी बनाएका छौं । यो कम्पनीले विदेशमा रहेका नेपालीलाई मात्रै सेयर विक्री गर्ने व्यवस्था मिलाइएको छ । कम्पनी खडा भइसकेको छ ।

एनआरएनएले जहिले पनि च्यारिटीको काम गर्छ । यसपटक पनि हामीले राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय समिति गरेर करिब ५० करोड रुपैयाँ बराबरको च्यारिटीका कामहरु गरेका छौं । यो रकम भनेको हामीहरु आफैले आफ्नै खल्तीबाट हालेको पैसा हो ।

अर्बपति र खर्बपतिको मात्रै मुख ताक्यौं भने संस्था त्यस्ता व्यक्तिहरुको भरमा हुन्छ भन्ने हामीले महसुस गर्यौं ।

एनआरएनएमा अर्बपति र खर्बपतिहरु धेरै छन् । यसअघि हामीलाई अलि ठूलो समस्या पर्दा त्यस्ता अर्बपतिहरु र खर्बपतिहरुको मुख ताक्ने गथ्र्याैं । तर, यसपटक हामीले क्राउड फन्डिङबाट रकम जुटायौं । अर्बपति र खर्बपतिको मात्रै मुख ताक्यौं भने संस्था त्यस्ता व्यक्तिहरुको भरमा हुन्छ भन्ने हामीले महसुस गर्यौं । किनभने जसले बढी पैसा दिएको हुन्छ, उसले संस्थाबाट पनि केही अपेक्षा गरेको हुन्छ या संस्थालाई आफ्नो प्रभावमा राख्न चाहन्छ । हामी सबैको लक्ष्य भनेको संस्था कसैको प्रभावमा नरहोस् भन्ने नै हो । संस्थाको स्वामित्व सबैले बराबर लिन सकियोस् भन्ने नै हो ।

यो कोरोना महामारीको अवस्थामा अनलाइनबाट १० डलर वा एक डलरसम्म पनि दिन सकिने एमआईएस सिस्टम बनायौं । हामीले त्यही प्लेटफर्मबाट रकम उठाएका हौं । हामीले अहिलेसम्म च्यारिटीको लागि खर्च गरेको ४० देखि ५० करोड रुपैयाँ यसरी नै उठेको हो ।

च्यारिटीको काम गर्नको लागि हामीलाई छुट्टै फाउन्डेसन चाहिन्छ भनेर हामीले पहिला नै भनेका छौं । च्यारिटीको मात्रै काम गर्नको लागि एनआरएनए च्यारिटी फाउन्डेसन काठमाडौंमा दर्ता भइसकेको छ । त्यही एनआरएनए फाउन्डेसन एनआरएन रहेका संसारका ६ रिजनमा बेग्लाबेग्लै फाउन्डेसन खडा हुन्छ । पैसा जम्मा गर्ने र च्यारिटीका कामहरु त्यही फाउन्डेसनले गर्छ । त्यो फाउन्डेसन पनि यही कार्यकालमा अघि बढ्यो ।

विदेशमा रहेका नेपालीहरुको बौधिक लगानी नेपालमा ल्याउनको लागि यसअघि बेग्लै टास्कफोर्स बनाएर काम गर्ने गरिएको थियो । त्यसको लागि बेग्लै इन्स्टिच्युट नै चाहिन्छ भनेर हामीले भनेका छौं । तर, बेग्लै इन्स्टिच्युट खडा भइरहेको थिएन । तर, हामीले यही कार्यकालमा एनआरएनएका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेको नेतृत्वमा एनआरएनए पोलिसी इन्स्टिच्युट गठन गर्ने भन्ने निर्णय गरेका छौं । त्यो काम पनि अघि बढेको छ । अर्थात संस्थाको स्थापनाकालदेखि गर्नुपर्छ भनिएका धेरै कामहरु अहिले हामीले गरेका छौं ।

कोभिड महामारीको कारण समस्यामा परेका गैरआवाशीय नेपालीलाई के कस्तो सहयोग गर्नुभयो ?

कोभिड महामारी नेपालमा अलि ढिलो आयो । विदेशमा बस्ने हामी नेपाली असाध्यै छिटो प्रभावित भयौं । महामारी सुरु हुने वित्तिकै नेपाली बढी भएका ५० देशमा हामीले कमिटी गठन गर्यौं । कोभिड महामारीको कारण समस्यामा परेका नेपालीलाई सहयोग गर्न २५ सय जना रहेको स्वयम सेवक तयार पार्यौं । संसारभर रहेका डाक्टर नर्स आवद्ध भएको एनआएनएको हेल्थ कमिटीले कोभिड प्रभावित गैरआवाशीय नेपालीलाई परामर्शदेखि औषधी तथा अन्य प्रकारको स्वास्थ्य सेवा प्रवाह गर्यौं । हामीले टेलिमेडिसनका सेवाहरु दियौं । आत्महत्या रोकथामको लागि कामहरु गर्यौं । २५ सय सदस्य रहेको स्वयमसेवकहरुले जो मान्छेलाई खाना आवश्यक छ, तिनीहरुलाई घरघरमै खाना पुर्यायौं । औषधी समस्या परेकाहरुलाई घरघरमा औषधी पुर्यायौं ।

कुबेतमा मात्रै एकैदिन ३ हजार महिलाहरु एकैदिन सडकमा आए । युएईबाट मात्रै हामीले एकैदिन ९० जना गर्भवती महिलालाई उद्धार गर्नुपर्ने अवस्था आयो ।

मुख्य समस्या बैदेशिक रोजगारीको लागि मलेशिया र खाडी देशमा रहेका नेपालीमा देखियो । त्यहाँ एकै दिनमा हजारौंको संख्यामा मानिसहरुले जागिर गुमाए । एउटा कम्पनी बन्द भयो भने त्यसमा काम गर्ने १० हजारसम्म मानिसले एकैदिन जागिर गुमाए । त्यस्तो अवस्थासम्म आयो । त्यस्तै, घरेलु कामदारको रुपमा गएका महिलाहरु जो थिए, उनीहरुले घरमा संक्रमण ल्याउछन् भनेर रोजगारदाताले कामबाट निकाल्यो । अफसोसको कुरा, उहाँहरु धेरै वर्षदेखि एउटै घरमा काम गर्नुहुन्थ्यो तर, उहाँहरुसँग आवश्यक कागजात थिएन । अनडकुमेन्ट हुनुहुन्थ्यो ।

कुबेतमा मात्रै एकैदिन ३ हजार महिलाहरु एकैदिन सडकमा आए । युएईबाट मात्रै हामीले एकैदिन ९० जना गर्भवती महिलालाई उद्धार गर्नुपर्ने अवस्था आयो ।

हामी नेपालीको प्रबृत्ति के छ भने तलब पाएको भोलिपल्ट नै हामी सबै रकम नेपाल पठाउछौं । आफूलाई अप्ठेरो पर्ला, भोलि पैसा चाहिएला भनेर हामी कसैले पनि राख्दैनौं । यस्तो भएको कारण खानै नपाउने, बस्नको लागि ठाउँ नै नहुने अवस्था आयो । त्यस्तो अवस्थामा हामीले तत्कालै रिलिफ, रिपार्टेसन र रिहाविटेसनको कार्यपत्र तयार पार्यौं । त्यो कार्यपत्र हामीले नेपाल सरकारलाई बुझायौं र अन्तरराष्ट्रिय संघ संस्थालाई पनि बुझायौं । बैदेशिक रोजगारीमा गएर समस्यामा परेका नेपालीको लागि हामी सहयोग गर्न तयार छौं, हामीसँग ८४ देशमा संजाल छ, सहयोगको लागि हामीले एउटा फण्ड पनि बनाएका छौं, यसमा म्याचिङ फण्ड दिनुस् भनेर हामीले अनुरोध गर्यौं । हामीले १० करोड रुपैयाँको म्याचिङ फण्ड चाहेका थियौं । त्यो १० करोड रुपैयाँले मध्यपूर्वका सबै देशहरु छुट्टै टीम बनाएर बेग्लै सेल्टर बनायौं । खानाको समस्या हुनेहरुलाई खानाको व्यवस्था गर्यौं । विरामी परेकाहरुलाई अस्पतालको विलहरु तिरिदियौं । ससाना कसुरको अभियोगमा जेलमा परेकाहरुलाई जेलबाट छुटाएर टिकट काटेर काठमाडौं पुर्यायौं । आजसको दिनसम्म २ हजारभन्दा बढी विभिन्न देशबाट प्लेनको टिकट नै काटेर उनीहरुको घरसम्म पुर्यायौं ।

सो कार्यक्रम अन्तरगत २२ हजार मानिसलाई उद्धार गरेर काठमाडौंसम्म ल्याएका छौं । एनआरएनए जस्तो संस्था हुदैनथ्यो भने धेरै मान्छेहरु सडकमा पर्नुपर्ने अवस्था आउँथ्यो । हाम्रो संस्थाले मात्रै होइन, अन्य संस्थाहरुसँग पनि समन्वय गरेर सहयोग प्राप्त हुने अवस्था सिर्जना गर्यौं । युरोप अमेरिका जस्ता देशमा रहेका नेपालीलाई अनुरोध गर्यौं । त्यस्ता देशमा रहेका नेपाली विद्यार्थीहरु सेवा क्षेत्रमा (होटल रेष्टुरेन्टहरुमा) काम गर्थे । त्यस्तो क्षेत्र पनि तुरुन्तै बन्द भयो । उनीहरुले पनि तुरुन्तै जागिर गुमाए । उनीहरुलाई पनि बस्नको समस्या भयो । त्यस्तो अवस्थामा धेरै मानिसले नेपाली विद्यार्थीलाई आफ्नो घरमा विनापैसा कोठा दिएर राखे । तपाईंहरुलाई समस्या हुन्जेल खान बस्नको समस्या हुँदैन भनेर अभिभावकत्व प्रदान गरे । त्यसको समन्वय पनि एनआरएनएले गरेको हो । त्यसैकारण कोरोना महामारीको अवस्थामा पनि एक जना मानिस पनि सडकमा सुत्नु पर्ने, भोकभोकै बस्नुपर्ने अवस्था आएन । यो असाध्यै चुनौतिपूर्ण काम थियो । हामीले त्यसको कुसलतापूर्वक व्यवस्थापन गर्यौं ।

हामी आफै पनि संक्रमित थियौं । कोभिडका कारण विदेशमा रहेका ४८६ जना एनआरएनको विदेशमा मृत्यू भयो । एक लाख १० हजारभन्दा बढी संक्रमित भए । संक्रमितमध्ये ९२ प्रतिशतभन्दा बढी संक्रमणमुक्त भइसकेका छन् । हरेक दिन के भइरहेको छ भने हेल्थ कमिटीले रेकर्ड राख्छ । यही महामारीको बेलादेखि हामीले संयुक्त राष्ट्र संघ जस्ता संघ संस्थाहरुसँग मिलेर काम गर्न थालेका छौं । हामीले आइएलओ, आइओएम जस्ता संस्थाहरुसँग मिलेर काम गरेका छौं । हामीले रणनीतिक रुपमा यस्ता संस्थाहरुसँग मिलेर काम गर्नुपर्छ भनेर धेरै पहिलादेखि सोचेका थियौं, तर सकेका थिएनौं । यसपालीदेखि सफल भएका छौं । संयुक्त राष्ट्र संघ अन्तरगतका संस्थाहरुले हामीलाई विश्वास गरेका छन् । अब अगाडिका दिनहरु यस्ता संस्थाहरुसँग मिलेर काम गर्ने बाटो खुलेको छ । यो पनि यही कार्यकालमा भएका उपलब्धी हुन् ।

एनआरएनले यति राम्रो काम गरिरहेको रहेछ तर, तपाईहरुले उठाउनु भएका सामान्य विषय पनि सरकारले सम्वोधन गरिदिएको छैन । जस्तो कि दोहोरो नागरिकताकै विषय छ । यस्ता विषय सरकारले सम्वोधन नगरिदिदा कस्तो महसुस हुँदो रहेछ ?

यसमा पनि म कोरोना कालकै विषयमा आउँछु । बैदेशिक रोजगारीमा जाने व्यक्तिले २ वर्षको लागि २ हजार र ३ वर्षको लागि २५ सय रुपैयाँ तिरेर बीमा गरेर गएको हुन्छ । त्यसरी बीमाको लागि तिरेको पैसा बैदेशिक रोजगारी कल्याणकारी कोषमा जम्मा हुन्छ । सो कोषमा आजको दिनमा ६ अर्ब रुपैयाँ जम्मा भएर बसेको छ । त्यस्तो रकम खर्च गर्ने कार्यविधिमा यदि महामारी भयो भने विदेशमा रहेका व्यक्तिहरुलाई उद्धार गर्न खर्चे भनेर लेखिएको छ । यो बीचमा ठूलो विश्व महामारी आयो । हाम्रा नेपाली दाजुभाइ दिदीबैनीहरुले खान नपाउने अवस्था आयो । हामीले बैदेशिक रोजगारी कल्याण्कारी बोर्डलाई पत्र लेखेर स्थितिको जानकारी गरायौं । दुतावास मार्फत खबर पठायौं । परराष्ट्रमन्त्रीसँग बेग्लै मिटिङ गरेर स्थितिको अवगत गरायौं । श्रममन्त्रीसँग मिटिङ बसेर खबर गर्यौं । भन्यौं– अहिलेको अवस्था यस्तो छ, जुन प्रयोजनको लागि रकम उठाइएको थियो, त्यो पैसा खर्च गरौं । विदेशमा नेपाली भोकभोकै पर्ने अवस्था आयो, सडकमा परे, सहयोग गरौं भन्यौं । तर, सरकारले त्यो पैसा खर्च गरेन । यद्यपि, सो रकम यस्तै काममा खर्च गर्ने भनेर कार्यविधिमै लेखिएको थियो । एनआरएनए थिएन भने नेपालीले विदेशमा ठूलो समस्या भोग्नुपर्ने थियो । नेपाल सरकारले त्यस्तो काम नगरेकोमा हामीलाई साच्चै नै अफसोस छ ।

विदेशमा नेपाली भोकभोकै पर्ने अवस्था आयो, सडकमा परे, सहयोग गरौं भन्यौं । तर, सरकारले त्यो पैसा खर्च गरेन । यद्यपि, सो रकम यस्तै काममा खर्च गर्ने भनेर कार्यविधिमै लेखिएको थियो ।

दोस्रो कुरा, हामीले धेरै पहिलादेखि नै नेपाली नागरिकता निरन्तरताको विषय उठाइरहेका छौं । नेपालको संविधान २०७२ ले पनि गैरआवाशीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको नागरिकता दिइन्छ भनिएको छ । संविधान बनेको ६ वर्ष भइसके पनि नागरिकता विधेयक तयार भएर संसदमा पेश हुन सकेको छैन । यो काम हाम्रो होइन, सरकारको हो । हामीले सरकारलाई घचघच्याउदै आएका छौं । हामीले राजनीतिक दलहरुलाई पनि भनिरहेका छौं कि एनआरएनलाई नेपाली नागरिकताको ‘इन्जोय’ गर्न दिनुस् ।

यस्तो नागरिकता दिएर नेपाललाई नै फाइदा हुने हो । किनभने विदेशी नागरिकता लिइसकेको नेपाली आजको दिनमा नेपालमा लगानी गर्न डराउँछ । नेपालमा रहेको मेरो सम्पत्ति सरकारीकरण होला कि, आफन्त वा हकवालाले खाइदेलान कि भनेर यहाँ लगानी गर्न त परै जावस्, यहाँ भएको सम्पत्ति पनि बेचेर लगिरहेको छ । उसको सम्पत्ति कसैले खोस्दैन, उसको आर्थिक, सामाजिक र सास्कृतिक अधिकार रहिरहन्छ भन्ने कुराको विश्वास दिलाउनको लागि पनि नागरिकताको निरन्तरता आवश्यक छ ।

कमसेकम एउटा कागजको खोस्टो दियो भने उसको नेपालसँगको रगतको नाता जोडिइरहन्छ । त्यसले नेपाललाई नै फाइदा गर्छ । यसमा ढिलाई भइरहेको छ ।

त्यसमा पनि आजको दिनमा धेरै नेपाली विदेशमा पैसा संचित गर्न सक्ने अवस्थामा पुगिसकेका छन् । विदेशको बैंकहरुमा पैसा राख्दा एकदमै न्यून व्याज आउँछ । कति ठाउँमा त अलि धेरै पैसा राख्नु पर्यो भने उल्टै बैंकलाई पैसा तिर्नुपर्छ । यहाँ देशलाई पैसा चाहिएको छ । हामीले नेपालमा सामुहिक लगानीको कम्पनीहरु खडा गरेर उसले व्याजभन्दा धेरै बढी डिभिडेन्ड पाउने अवस्था सिर्जना गर्न सकिन्छ । तर, लगानी गर्ने वातावरण त सरकारले बनाउनु पर्यो नि । कमसेकम एउटा कागजको खोस्टो दियो भने उसको नेपालसँगको रगतको नाता जोडिइरहन्छ । त्यसले नेपाललाई नै फाइदा गर्छ । यसमा ढिलाई भइरहेको छ । हामीले नेपाल सरकारलाई बारम्बार यो कुरा भनिरहेका छौं । अब बस्ने संसदबाट नागरिकता ऐन पास भएर आउँला र त्यसमा हामीले उठाएको विषय पनि सम्बोधन होला भन्ने आशा गरौं ।

प्रसंग बदलौं, तपाईं एनआरएनएको विभिन्न कमिटीहरुमा बसेर लामो समयदेखि संलग्न हुनुहुन्छ, अहिले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ, तल्ला कमिटीहरुमा बसेर काम गर्दा पुगेन ? अध्यक्ष नै बन्नुपर्छ भन्ने तपाईंको तर्क के हो ?

म आफ्नो पृष्ठभूमिबारे तपाईंलाई केही कुरा भन्छु । विदेशमा बस्ने नेपालीका लागि एउटा साझा संस्था चाहिन्छ भन्ने अवधारणा विकास हुने बेलादेखि नै म यसमा आवद्ध छु । मलाई गर्व लाग्छ– हामी रसियामा बस्ने नेपालको अवधारणा आज संसारभर फैलिएको छ । यो संस्थामा म सुरुमै साधारण सदस्यको रुपमा आवद्ध भएर काम गर्दै आएको थिएँ । सन् २००७–२००९ मा रसियाबाट सर्वसम्मत रुपमा महासचिव भएर काम गरें । सन् २००९ देखि दुई कार्यकाल म केन्द्रीय सदस्य भएर केन्द्रीय कार्यसमितिमा काम गरें । सन् २०१३ मा निर्वाचित केन्द्रीय कोषाध्यक्ष भएँ । सन् २०१५ देखि दुई कार्यकाल निर्वाचित केन्द्रीय महासचिव भएँ । सन् २०१९ देखि म केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छु ।

म संस्थामा यति लामो समयदेखि अनवरत रुपमा लागेको छु भने निर्वाचनमा एक पटक पनि पराजित भएको छैन । एनआरएनएमा यसरी आएका साथीहरुमध्ये म एक्लै हूँ । त्यसैले अध्यक्ष पदमा अव मेरो स्वाभाविक दाबी हो । र, मलाई लाग्छ– म सफल हुन्छु ।

एनआरएनएको अध्यक्ष नै भएर तपाईंले नै गर्नुपर्ने के काम बाँकी छन् ?

एनआरएनको मेन गाइडलाइन निर्माण भइसकेका छन् । जस्तो कि वैदेशिक रोजगारीमा गएका नेपालीलाई सामाजिक सुरक्षाका कुराहरु चाहिन्छ भन्ने विषयमा । त्यसको कार्यान्वयन भएको ख्वै त ? आजको दिनमा हामी विदेशी वजारमा श्रम बेचेर देशमा वार्षिक १० खर्ब रुपैयाँ पठाइरहेका छौं । २० देखि ३० वर्षको जवान उमेर विदेश गएका हामीहरु नेपाल फर्कदा ६० वर्षको बुढो उमेरमा पुगेका हुन्छौं । बृद्धभत्ता दाबी गर्ने उमेरमा नेपाल फर्कदै छौं । विदेशमा बस्दा हामीले पैसा कमाइरहेका हुन्छौं । यसरी कमाएको पैसा सामाजिक सुरक्षा कोषमा जम्मा गर्न पायो भने, पेन्सन फण्डमा जम्मा गर्न पायो भने केही न केही रकम सामाजिक सरक्षा कोषमा र पेन्सन फण्डमा जम्मा भइरहेको हुन्छ । यसको लागि हामीले धेरै वर्षदेखि गृहकार्य गर्दै आएका छौं । कानुनमा यो कुराहरु आइसकेको छ । तर, व्यवहारमा कार्यान्वयन हुन सकिरहेको छैन ।

म संस्थामा यति लामो समयदेखि अनवरत रुपमा लागेको छु भने निर्वाचनमा एक पटक पनि पराजित भएको छैन । एनआरएनएमा यसरी आएका साथीहरुमध्ये म एक्लै हूँ । त्यसैले अध्यक्ष पदमा अव मेरो स्वाभाविक दाबी हो ।

पहिलो कुरा त विदेशमा काम गरिरहेका ३० लाख नेपालीले उनीहरुकै पैसा जम्मा गरेर पेन्सन र सामाजिक सुरक्षा कोषमा आवद्ध हुने, जुन असाध्यै महत्वपूर्ण छ, म त्यो पूरा गर्नेछु ।

दोस्रो, श्रमिक र बौद्धिक वर्गले देश बनाएर भने कसैले पनि बनाउँदैन । हाम्रो युवाशक्ति विदेश गइरहेको छ । उनीहरुलाई देशमै रोक्नको लागि केही कार्यक्रमहरु ल्याउनु पर्छ । साधारण श्रम मात्रैले पनि पुग्दैन, बौद्धिक लगानी पनि चाहिन्छ । हाम्रा धेरै क्रिम मानिसहरु संसारका प्रतिष्ठित युनिभर्सिटीहरुमा, रिसर्च सेन्टरहरुमा, प्रतिष्ठित अस्पतालहरुमा, प्रतिष्ठित कम्पनीहरुमा काम गरिरहेका छन् । अब उनीहरुलाई नेपालसँग जोड्ने बेला भएको छ । पहिलाको जस्तै गरी व्यक्ति यहीँ हुनुपर्ने जरुरी छैन । आजको दिनमा कुनै व्यक्तिले अमेरिकामा रहेर नेपालको युनिभर्सिटीमा पढाउन सक्छ । रसियामा रहेर नेपालको कुनै ल्यावमा काम गर्न सक्छ । आफू कार्यरत स्थानको विदाको बेलामा (२÷३ महिनाको विदा हुन्छ) आएर नेपालको युनिभर्सिटी, अस्पताल वा रिसर्च ल्यावहरुमा काम गर्न चाहनुहुन्छ । त्यस्तो व्यक्तिहरुलाई नेपालमा योगदान दिन सक्ने प्लेटफर्म हामीले उपलब्ध गराउनु पर्छ । मेरो कार्यकालमा यो काम पनि गर्छु ।

अब म पेन्सनमा जाने बेला भइसक्यो । अबको दुई वर्षपछि म संस्थाको एक्टिभ रोलमा रहदिनँ । अब मेरो ठाउँ नयाँ पुस्ताले लिनु पर्यो ।

अर्काे, म एनआरएनएमा लागेको २० वर्ष भइसक्यो । अब म पेन्सनमा जाने बेला भइसक्यो । अबको दुई वर्षपछि म संस्थाको एक्टिभ रोलमा रहदिनँ । अब मेरो ठाउँ नयाँ पुस्ताले लिनु पर्यो । त्यसको लागि युवालाई एनआरएनएमा जोड्ने कार्यक्रम ल्याउनु पर्छ । महिलालाई जोड्ने कार्यक्रम ल्याउनु पर्छ । सबैभन्दा महत्वपूर्ण कुरा, विदेशमा जन्मेका बच्चाहरुलाई नेपालसँग जोड्ने र एनआरएनएमा जोड्ने कार्यक्रम ल्याउनु पर्छ । यस्ता कामहरुमा संस्था अलि पछि परेको छ । म त्यस्ता कार्यक्रमहरु ल्याउनेछु ।

मैले अगाडि पनि भनेँ– हामीले अन्तराष्ट्रिय संघ संस्थाहरुसँग काम गर्न बल्ल सुरु गरेका छौं । अन्तराष्ट्रिय संघ संस्थाहरुसँग मिलेर अलि बढी काम गर्न सकियो भने हामीले धेरै सकारात्मक परिवर्तन ल्याउन सक्छौं । त्यसमा पनि मैले काम गर्नेछु । काम गर्नका लागि असाध्यै धेरै क्षेत्रहरु, ठाउँहरु बाँकी छन् । ती क्षेत्र र ठाउँमा अबको २ वर्ष म र मेरो टीमले योगदान गर्नेछ ।

एनआरएनएले अघि सारेका कतिपय कामहरुमा ढिलासुस्ती भएको छ, किन यस्तो ढिलाई हुने गर्छ ?

वास्तवमा हामीले सचिवालयलाई अझ बढी बलियो बनाउनु पर्छ । हामीले विदेशमा बसेर केही भन्यौं भने, केही गर्ने चाहना र लक्ष्य राख्यौं भने, केही अवधारणा आयो भने त्यसको कार्यान्वयन नेपालमा गर्ने हो । त्यसको लागि नेपालमा बलियो सचिवालय हुनुपर्छ । जस्तै, हामीले १० अर्ब रुपैयाँको कम्पनी खोल्ने भन्यौं । त्यसको लागि छुट्टै कम्पनी गठन भएर छुट्टै स्टक्चर गठन भएर काम भएको छ । त्यस्तै अब फाउन्डेसन गठन गर्ने भन्यौं । त्यसको सैद्धान्तिक रुपमा मात्रै गठन भएर हुँदैन । छुट्टै मानिसहरुले फाउन्डेसन गठन गर्न लाग्नुभएको छ । त्यसैगरी, अन्य कुराहरु जति पनि हामीले प्लान दिन्छौं, त्यसको यहाँ बसेर काम गरिदिने मानिसहरुको संयन्त्र विकास गर्नुपर्छ । विगत २ वर्षमा हाम्रो सचिवालय निकै बलियो भएको छ । त्यसलाई अझै बढी बलियो बनाउन लाग्छौं ।

आज हामी जुन भवनमा बसेर तपाईंसँग कुरा गरिरहेका छौं, यो जग्गा नै विवादित रहेछ, तपाईं कोषाध्यक्ष भएको बेलामा नै यो जग्गा किनिएको थियो, यो जग्गा विवादित हो भन्ने एनआरएनएलाई थाहा थियो कि थिएन ?

हो, म कोषाध्यक्ष भएको बेलामा, मेरै हातले चेक काटेर यो जग्गा किनिएको हो । जुन बेलामा हामीले यो जग्गा किनेका थियौं, त्यो बेलामा जग्गा किन्नको लागि एउटा कमिटी बनेको थियो । जग्गा किन्ने त्यो कमिटीमा ५ जना सदस्य हुनुहुन्थ्यो । त्यो कमिटीले काठमाडौं उपत्यकाको विभिन्न ठाउँका विभिन्न प्रपोजल हेरेर यो प्रपोजल वेष्ट हो भनेर त्यो कमिटीले हस्ताक्षर गरेर केन्द्रीय सचिवालयलाई बुझाएपछि त्यही सिफारिस अनुसार केन्द्रीय कमिटीले यो जग्गा किन्ने निर्णय गरेको थियो । त्यो कमिटीले त्यसबेला विद्यमान कानुन र व्यवस्थाहरु हेर्दा, व्यक्तिको नाममा लालपुर्जा भएको, त्यसबेला कुनै पनि समस्या छैन भन्ने वकिलहरुले पनि रिजोलुसन दिएपछि हामीले जग्गा किन्ने निर्णय गरेका हौं । हामीले जग्गा किनिसकेपछि जग्गा किन्दा तिर्नुपर्ने कर त्यसबेलाको मन्त्रिपरिषद बैठकले निर्णय गरेर छुट दिने निर्णय गरेको छ ।

हो, म कोषाध्यक्ष भएको बेलामा, मेरै हातले चेक काटेर यो जग्गा किनिएको हो ।

यदि विवादित जग्गा थियो भने त्यो बेला मन्त्रिपरिषदले निर्णय गरेर जग्गा किन्दा लाग्ने कर मिनाहा दिने निर्णय गर्ने थिएन । हामीले जग्गा किनिसकेर विल्डिङ बनाउने बेलामा यसका कथाहरु सुरु हुन थाल्यो । विभिन्न ठाउँहरुबाट यो जग्गामा समस्याहरु छन् भन्ने कुरा आए । केही मुद्दाहरु पनि परे । तर, एनआरएनएले ती मुद्दाहरु जित्यो । एनआरएनएले मुद्दा जितेपछि यहाँ विल्डिङ बनेको छ । अहिले पनि फेरि अर्काे मुद्दा आएको छ । सायद त्यो मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेरिरहेको छ । हामीले किनेको जग्गा मात्रै होइन, यहाँको ठूलो एरियाको समस्या रहेछ । हेरौं, नेपाल सरकारले जे निर्णय गर्छ, हामी त्यो मान्न तयार छौं ।

तपाईंले एनआरएनएमा चुनाव जित्नुहोला, तपाईंपछिको अध्यक्ष को बन्ने भन्ने अझै अनुमान गर्न सकिने अवस्था छैन, एनआरएनएले स्वभाविक नेतृत्व विकासमा धेरै काम गर्न नसकेको हो ?

वास्तवमा त्यसो होइन । म जस्तै सयौं एनआरएनहरु हुनुहुन्छ, जसले एनआरएनएको पदमा उम्मेदवार बनेर चुनाव जितेर एनआरएनएलाई हाक्न सक्छन् । मिडियम लेवलमा धेरै नेताहरु तयार भइसकेका छन् । आजको दिनमा १ लाख १० हजार रजिष्टर मेम्बर छन् । ८४ देशमा हामी पुगेका छौं । हाम्रो चुनौति भनेको ७० लाख नेपालीमा जम्मा १ लाख १० हजार मात्रै सदस्य छौं । अब हामीले अलि बढी पन्जिकृत सदस्य बनाउनु पर्छ । हाम्रो जस्तो संस्थामा कम्तिमा पनि २÷४ लाख सदस्य हुनुपर्छ । मेम्बर बढी बनेपछि मात्रै ती मेम्बरहरुबाट लिडरसीप आउने हो । जसरी म सदस्य, कोषाध्यक्ष, महासचिव, अध्यक्ष हुदैछु त्यसैगरी तलबाट आउने साथीहरु पनि महासचिव हुँदै अहिले उपाध्यक्षमा आउनु भएको छ । पहिला कोषाध्यक्ष भएका साथीहरु अहिले महासचिवमा आउनु भएको छ ।

हाम्रो संस्था जति ठूलो छ, समस्याहरु पनि त्यति नै ठूला छन् । विविधिकरण पनि त्यति नै छ । मध्यपूर्वमा आफ्नो खालका समस्या छन्, अफ्रिकामा आफ्नो खालका समस्याहरु छन्, अमेरिकामा आफ्नो खालका, अष्ट्रेलियमा आफ्नै खालका समस्या छन्, एसिया प्यासिफिकमा आफ्नै खालका समस्याहरु छन् । यी सबै खालका समस्यालाई राम्रोसँग बुझेको मान्छे संस्थामा आएन भने त्यो संस्था २ वर्ष खाली समस्यामा पर्छ । त्यसकारणले पनि अलिकति संस्थामा काम गरेको, विस्तारै विस्तारै भिजेर आएको मान्छेहरु नै संस्थामा आउँदा संस्था जुन स्पीडले अगाडि गएको छ, त्यही स्पीडले अगाडी जान्छ । र, आज सयौं मान्छेहरु छन् लाइनमा । अहिले निर्वाचन आएको छ । यो निर्वाचनमा २/३ सय मान्छेहरु त उम्मेदवार नै हुन्छन् । त्यसकारणले पनि नेतृत्वको समस्या अब छैन ।

केही वर्ष अघिसम्म एनआरएनले नेपालको मुहारै फेरिदिन्छन् भन्ने जस्तो गरी तपाईंहरुसँग अपेक्षा राखिन्थ्यो । विगत केही वर्षयता दशैंको बेलामा नेपाल आएका एनआरएनहरुले नेपालमा बढी होहल्ला गर्छन्, अरु बेला केही गर्दैनन्, यसमा बढी राजनीति हुन थल्यो, पैसा र बल पनि प्रयोग हुन थल्यो भन्ने जस्ता नकारात्मक कुराहरु बढ्न थालेका छन् । यी दुबै सन्दर्भलाई तपाईंले कसरी हेर्नुभएको छ ?

वास्तवमा एनआरएनएमा जो नेपाली छौं, त्यो तिनै नेपाली हौं, जो कोही ३० वर्ष अगाडि, कोही ३५ वर्ष अगाडि, कोही १० वर्ष अगाडि र कोही भर्खरै मात्रै विदेश गएका थियौं । हामीभित्र त्यही कल्चर छ, जुन कल्चर नेपालभित्र बस्ने नेपालीमा छ । यो गर्वको विषय पनि हो । हामी चाहन्छौंको त्यो कल्चर विदेशमा पनि रहिरहोस् । तर, सकारात्मक, राम्रा कल्चरहरु । विदेशमा गएर पनि हाम्रो भाषा, धर्म, सस्कृति रक्षा होस भनेर हामी लागिरहेका छौं । त्यसकार २/४ वर्ष विदेशमा बस्ने वित्तिकै हामीले हाम्रो कल्चर विर्सदैनौं ।

हामीभित्र त्यही कल्चर छ, जुन कल्चर नेपालभित्र बस्ने नेपालीमा छ । यो गर्वको विषय पनि हो । हामी चाहन्छौंको त्यो कल्चर विदेशमा पनि रहिरहोस् ।

दुई वर्ष अगाडि भएको एनआरएनएको निर्वाचनमा नकारात्मक कल्चर देखियो । तर, संस्थामा सबै त्यस्ता मान्छेहरु छैनन् । दुई चार जना मान्छेले नेगेटिभ कुरा गर्नासाथै संस्थाको नेगेटिभ कुरा हुनु स्वभाविक नै हो । त्यसलाई कटअफ गर्नको लागि, पोहोरसाल भएका पैसाका खेतीहरु बन्द गर्नको लागि, पोहोरसाल चुनावमा भएका राजनीतिक हस्तक्षेपलाई बन्द गर्नका लागि हामीले दुईटा कुराको परिवर्तन गर्यौं । पहिलो कुरा, अब इलेक्सन अनलाइन हुन्छ । त्यो कुरा हामीले विधानत परिवर्तन गरेर इलेक्सन अनलाइन हुन्छ भनेर ग्यारेन्टी गर्यौं ।

अर्काे कुरा, पोहोरसाल हामीसँग ३ हजारभन्दा बढी डेलिगेट्स थिए । अहिले ३६ सय डेलिभेट्स छन् । हरेक डेलिगेट्सले चुनाव र अधिवेशनका भाग लिनको लागि २ सय अमेरिकी डलर तिर्नुपर्ने थियो । त्यो २ सय डलर डेलिगेट्स बराबरको रकम तिर्नको लागि पैसाको चलखेल भयंकर हुन्थ्यो । अर्थात् उम्मेदवारले नै डेलिगेट्सको पैसा तिरिदिनु पथ्र्याे । यसो हुँदा धेरै ठूलो परिमाणको पैसाको खेल हुन्थ्यो ।

डेलिगेट्सले तिर्ने २ सय डलरकै कारण पैसाको चलखेल बढी भयो भन्ने हामीले थाहा पाएर नै अब डेलिगेट बनेर इलेक्सनमा भाग लिनको लागि एक पैसा पनि तिर्नु नपर्ने व्यवस्था गर्यौं । अब डेलिगेट्सले घरघरमा बसेर आफ्नो मोबाइल एपबाट भोट हाल्छ । फिजिकल्ली यहाँ आइरहनु पनि परेन । हामीले २३,२४ र २५ अक्टोबरमा जुन महाधिवेशन गरिरहेका छौं, त्यसमा चुनावमा भाग लिने व्यक्ति आउँदैन । त्यहाँ आउने व्यक्तिहरु एनआरएनको मुद्दामा छलफल गर्न, एनआरएनको थप डेभलपमेन्टका कुरा गर्नको लागि, नेपाल सरकार वा सरकारका अन्य निकायहरुसँग सहकार्य कसरी गर्ने हो, हाम्रा के के एजेण्डाहरु हुन् र ती एजेण्डाहरुमा कसरी अगाडि बढ्ने भन्नेमा हाम्रा विभिन्न वर्कसपहरु हुन्छन् । ती वर्कसमा भाग लिन मान्छेहरु आउँछन् । चुनावमा भाग लिन मान्छेहरु आउँदैनन् । भनेपछि हामीले पैसाको खेती र राजनीतिक हस्तक्षेपलाई हामीले बन्द गरिसकेका छौं । अब यो पटकदेखि नेपालमा बस्ने नेपालीले एनआरएनएलाई फरक किसिमले हेर्नुहुन्छ ।

मैले पहिला पनि भनें– कोरोना लागेर हामी आफै संक्रमित थियौं । हामीलाई नै खान बस्नको समस्या थियो । तर, नेपाली जनता पनि संक्रमित हुँदैछन् भनेर हामीले कोरोनाको सुरुआतमै, जुनबेला नेपालमा टेष्टिङकिटहरु पाइएका थिनन्, जुन बेला नेपालमा पीपीई पनि पाइएको थिएन, त्यही बेला हामीले तुरुन्तै पैसा उठाएर चाइना र कोरियाबाट टेष्टिङकिट र पीपीई नेपाल पठायौं । नेपालमा जुनसुकै समस्या परेको बेलामा जस्तो कि बाढी पहिरो जादा होस्, भुइचालो जादा होस्, महामारी आउँदा होस्, हामीले आफूलाई त टरिहाल्न नि भनेर नेपाललाई पहिला सहयोग गर्छाैं ।

कोभिडको दोस्रो लहर आएपछि नेपालमा अक्सिजनको कमि भयो । हामीले ओमन जस्तो देशबाट, जहाँ बैदेशिक रोजगारीमा गएका मानिसहरु नै धेरै छन्, मध्यपूर्वबाट मात्रै एउटा सिंगै प्लेनमा पूरा कन्टेनर अक्सिजन किनेर हामीले नेपालमा पठायौं । त्यसपछि अक्सिजन कन्सन्ट्रेटर नपाइने भन्ने थाहा भयो । हामीले संसारभरिबाट पैसा उठाएर चीनमा भएका हाम्रा साथीहरुलाई प्रयोग गरेर नेपालमा सबैभन्दा पहिला अक्सिजन कन्सन्ट्रेटर नेपाल पठायौं । त्यो बेला अक्सिजन कन्सन्ट्रेटरको मिनेट मिनेटको भ्यालू थियो । नेपालमा सबैभन्दा पहिला अक्सिजन कन्सन्ट्रेटर एनआरएनएले नै पठायो । हामीले नै पठायौं ।

कोभिड महामारीको बेलमा हामीले जुन काम गरेका छौं, भूकम्पको बेलामा जे काम गरेका छौं, यसले के प्रमाणित गर्छ भने नेपाल र नेपाली जनतालाई हामी जुनसुकै अवस्थामा पनि काँध थाप्न चाहन्छौं ।

अक्सिजन कन्सन्ट्रेटर नै समाधान होइन भन्ने भएपछि हामीले सातै प्रदेशका एक एक वटा अस्पताललाई पुग्ने गरी एकएक वटा अक्सिजन प्लाण्ट लगाउँदै छौं । भनेपछि यो कोभिड महामारीको बेलमा हामीले जुन काम गरेका छौं, भूकम्पको बेलामा जे काम गरेका छौं, यसले के प्रमाणित गर्छ भने नेपाल र नेपाली जनतालाई हामी जुनसुकै अवस्थामा पनि काँध थाप्न चाहन्छौं । काँध थापिरहेका छौं र आगामी दिनमा पनि थापिरहने छौं । हाम्रा यस्ता कार्यले संस्थाका सानातिना नकारात्मक कुराहरुलाई हटाउँछ भन्ने मलाई लाग्छ ।

अन्त्यमा, तपाईं एनआरएनएको अध्यक्षको प्रत्यासी हुनुहुन्छ, मतदातालाई हाम्रो मिडिया मार्फत केही सन्देश दिन चाहनु हुन्छ ?

सर्वप्रथम आगामी अक्टोबर हुने एनआरएनएको महाधिवेशनमा भाग लिन म सबै एनआरएन साथीहरुलाई अनुरोध गर्छु । संस्थामा लामो समयदेखि विभिन्न पदहरुमा काम गरेको, अनुभवी व्यक्तिहरुलाई पठाएर, राजनीतिक पृष्ठभूमिको होइन, एनआरएन पृष्ठभूमिबाट आएको व्यक्तिहरुलाई जिताएर एनआरएनएलाई नयाँ उचाइमा पुर्याउन म सबै सदस्यहरुसँग अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.