बैंकिङ क्षेत्रमा १८ अर्ब ९३ करोड मात्रै तरलता, अर्थतन्त्र ‘ओभर हिटेड’ भएको राष्ट्र बैंकको विश्लेषण

  २०७८ भदौ १५ गते १४:१८     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज (मंगलबार) सम्म बैंकिङ क्षेत्रमा कुल १८ अर्ब ९३ करोड रुपैयाँ मात्रै तरलता छ ।

बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिँदा बैंक तथा वित्तीय संस्थाहरुले पनि कर्जा विस्तार गर्न सकिरहेका छैनन् भने निक्षेपकर्तालाई दिने व्याज पनि बैंकहरुले बढाइरहेका छन् । यद्यपि, बैंक तथा वित्तीय संस्थाहरुकमा अहिले ७० देखि ८० अर्ब रुपैयाँसम्म कर्जायोग्य रकम रहेको बैंकर्स संघकाे भनाई छ ।

राष्ट्र  बैंक बैंकिङ क्षेत्रमा अधिक तरलता देखिएपछि केही चनाखो भएर कर्जा प्रवाहको स्थिती र कर्जा प्रवाह भएको क्षेत्रलाई विश्लेषण गरिरहेको राष्ट्र बैंकका सूचना अधिकारी नारायण पोखरेल बताउँछन् ।

‘अहिले बैंकिङ क्षेत्रमा १८ अर्ब ९३ करोड रुपैयाँ अधिक तरलता छ, अर्थतन्त्रमा ‘आभेर हिटेड’ भएको हाम्रो बुझाई र विश्लेषण छ, अहिले तरलता घट्दा यसको व्यवस्थापनको लागि राष्ट्र बैंकले चाँचाेपाँजो मिलाइसकेका छ, यति तरलता हुँदा हुँदै पनि अहिले नै आँति हाल्नु पर्ने अवस्था भने छैन,’ उनले भने ।

उनका अनुसार गत आर्थिक वर्षमा पनि नेपाल राष्ट्र बैंकले लिएको लक्ष्यभन्दा बढी कर्जा प्रवाह भएको थियाे । गत वर्ष बैंकिङ क्षेत्रमा २७.३ प्रतिशत कर्जा प्रवाह बढेको थियो । जुन राष्ट्र बैंकले लिएको लक्ष्यभन्दा धेरै बढी हो । उनले चालु आवका लागि राष्ट्र बैंकले १९. प्रतिशत कर्जा प्रवाह हुने अनुमान गरेको बताए ।

‘अहिले जस्तै अधिक तरलता कायम हो र बैंकहरुको कर्जाको व्याज घट्न थालेको हो भने केन्द्रिय बैंकले तरलतामा सहजता गर्ने गरी मौद्रिक व्यवस्थापन गर्छ, उत्पादन क्षेत्रमा कर्जा प्रवाह भएको छैन भन्ने विषयमा केन्द्रिय बैंक चनाखो हुनुपर्छ, कर्जाको माग कुन क्षेत्रको बढी हो भनेर बुझ्न आवश्यक छ, केही विश्लेषण गत आर्थिक वर्षको रिपाेर्ट हेरेर पनि गर्न सकिन्छ, तरलता घट्यो भनेर आँति हाल्नु पर्ने अवस्था छैन,’ उनले भने ।

उनका अनुसार नेपाल राष्ट्र बैंकमार्फत अहिले ६० अर्ब रुपैयाँको रिभर्स रिपोभएको छ । जुन एकसाताको मात्रै तथ्यांक हो । बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति देखिएमा तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले रिभर्स रिपोको उपकरण प्रयोग गर्छ । बैंक तथा वित्तीय संस्थाहरु बोलकबोलमा सहभागी भई कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी राष्ट्र बैंकले आव्हान गरेको रकम बाँडफाँड गर्छ ।

अहिले तरलताको अभाव देखिएपछि बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट पनि कर्जा लिन थालेका छन् । राष्ट्र बैंकमा राख्नु पर्ने नगद मौज्दात अनुपात (सीआरआर)कै लागि पनि बैंकहरुले राष्ट्र बैकबाट पैसा लिइरहेका हुन् । नेपाल बैंकर्स संघका अनुसार भदौ पहिलो सातासम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब १७ अर्ब रुपैयाँमा निक्षेप संकलन गरेका छन् भने कुल ३७ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.