भदौ १५ सम्मको व्याजलाई आम्दानीमा जोड्दा बैंकको लाभांश पनि बढ्ने, कुन बैंकको कति बढ्ला ?

  २०७८ भदौ १४ गते १३:३५     सन्ताेष राेकाया

काठमाडौं । बैंकहरुले गत असार मसान्तसम्मको कारोबारको आधारमा प्रकाशित गरेको वित्तीय विवरणको भन्दा वितरणयोग्य नाफा बढ्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले २०७८ असार मसान्त भित्रमा असुल हुनुपर्ने व्याजलाई २०७८ भदौ १५ गते भित्र प्राप्त भएमा त्यस्तो रकमलाई २०७८ असार मसान्तको आम्दानीमा लेखाङ्कन गर्न सक्ने व्यवस्था गरेसँगै बैंकहरुको वितरणयोग्य नाफा बढ्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले गत साउनमा बैंकहरुलाई जारी गरेको निर्देशनमा सो व्यवस्था गरेसँगै बैंकहरुको वितरणयोग्य नाफा बढ्ने देखिएको हो ।

बैंकहरुको वितरणयोग्य नाफा बढ्ने भएसँगै लगानीकर्तालाई दिने लाभांश दिने क्षमता पनि बढ्ने भएको छ । वाणिज्य बैंकहरुले सार्वजनकि गरेका अपरिष्कृत वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको औसत लाभांश क्षमता साढे १४ प्रतिशत देखिन्छ । राष्ट्र बैंकको सो व्यवस्थाले बैंकहरुको वितरणयोग्य नाफासँगै लाभांश क्षमता पनि बढ्ने बैंकर्स बताउँछन् ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल पनि राष्ट्र बैंकको यो व्यवस्थाले बैंकहरुमा ‘पोजेटिभ इम्याक्ट’ पर्ने र वितरणयोग्य नाफा बढाउनमा भूमिका खेल्ने बताउँछन् । उनका अनुसार राष्ट्र बैंकको यो व्यवस्थाले बैंकहरुको वितरणयोग्य नाफा एकदेखि डेढ प्रतिशतसम्म बढ्न सक्छ ।

‘यसले बैंकहरुलाई पोजेटिभ इम्प्याक्ट परेको छ, बैंकहरुले लोन रिकभरी गर्ने समय पनि पाए, यो पटक बैंकहरुले साउन मसान्तमा वित्तीय विवरण प्रकाशित गरे, जुन १५ दिनको समय मात्रै हो, यसले खासै ठूलो फरक नपरे पनि अलिकति भने फरक पर्छ, तर, बैंकिङ उद्योगमा नै औसत कतिसम्म फरक पर्छ भनेर भन्न अहिले कठीन छ,’ उनले भने ।

सिभिल बैंकले साउन मसान्तसम्म अधिकतम व्याज उठाइसकेको छ हुनाले पनि खासै परिवर्तन नआउने पोखरेल बताउँछन् । यो १५ दिनको अवधिमा थोरै भएपनि परिवर्तन भने आउने उनको भनाई छ ।

यस्तै, सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश पोखरेल पनि राष्ट्र बैंकको यो व्यवस्थाले बैंकहरुलाई धेरै सहज भएको र वितरणयोग्य नाफा पनि बढ्ने बताउँछन् ।

‘बैंकिङ उद्योगमै कति फरक पार्छ, अहिले नै भन्न सकिने अवस्था छैन, सिटिजन्स बैंकलाई मात्रै २०÷२५ करोड रुपैयाँ फाइदा भएको छ, यो अवधिमा हाम्रो ‘इन्ट्रेस्ट सस्पेन्स’ पनि उठेको छ, सिमित दायित्वको साझेदारी (एलएलपी) २.७७ थियो, त्यो घटेर २.४४ मा झरेको छ, यसले हामीलाई यति धेरै फाइदा भएको छ भनेपछि बैंकिङ उद्योगलाई पनि अवश्य नै बेनिफिट भएको हुनसक्छ,’ उनले भने ।

यस्तै, नेपाल बैंकर्स संघका सीईओ अनिल शर्मा बैंकहरुलाई कतिसम्म नाफा हुन्छ भन्ने ‘एक्ज्याट फिगर’ नभएपनि अधिकतम ५ प्रतिशतसम्म भने फरक पर्ने बताउँछन् ।

‘कति नाफा हुन्छ अहिलेसम्म फिगरवाइज छैन, असार मसान्तसम्म ८० देखि ९० प्रतिशतसम्म रिकभरी भइसकेको छ, अतिप्रभावित क्षेत्रबाट अहिले नै रिकभरी हुने अवस्था छैन, ती वाहेक क्षेत्रमा असारसम्म राम्रै रिकभरी भएको देखिएको छ, त्यति धेरै फरक नआउने हाम्रो अनुमान हो तर, थोरै वा बढी जति भएपनि बैंकहरुलाई केही बेनिफिट अवश्य नै हुन्छ,’ उनले भने ।

बैंकर्सका अनुसार बैंकहरुको व्याज रिकभरी यो अवधिमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म हुने देखिएको छ । न्यूनतम २ प्रतिशत र अधिकतम ५ प्रतिशतको औसत रिकभरी व्याज ३.५ प्रतिशत हुन आउँछ ।

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणका अनुसार बैंकको वितरणयोग्य नाफा ४ अर्ब ५२ करोड २४ लाख रुपैयाँ छ । कुल विवतरणयोग्य नाफामा राष्ट्रिय वाणिज्य बैंकले ३.५ प्रतिशत बढी भएमा यो अवधिमा बैंकको वितरणयोग्य नाफा १५ करोड ८२ लाख रुपैयाँ बढेर कुल ४ अर्ब ६८ करोड ७ लाख रुपैयाँ हुन आउँछ । यो हिसावले बैंकको लाभांश क्षमता पनि बढ्न जान्छ ।

यस्तै, वितरणयोग्य नाफा बढी भएको बैंकका रुपमा नबिल बैंक पनि देखिएको छ । नबिल बैंकको कुल वितरणयोग्य नाफा ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ छ । नबिल बैंकले यो अवधिमा ३.५ प्रतिशत बढेमा सो बैंकको वितरणयोग्य नाफा १४ करोड ५१ लाख रुपैयाँ बढेर ४ अर्ब २९ करोड १३ लाख रुपैयाँ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.