अगष्ट महिनामा सातामा ६७ अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (सूचिसहित)

  २०७८ साउन २० गते १०:४६     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले (क्यान) अगष्ट महिनाका लागि सातामा कुल ६७ उडान गर्ने गरी अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेको छ ।

दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै उडान खुला भएका देशका लागि प्राधिकरणले सातामा ६७ उडान हुने गरी अगष्ट महिनाको उडान तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणले सार्वजनिक गरेको तालिका अनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सातामा १५ र नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सलाई सातामा १३ उडान गर्ने गरी उडान अनुमति दिएको छ ।

पहिलो चरणमा खुला गरेका मुलुकमा अनुमति पाएका कम्पनीहरुले काठमाडौं गन्तब्य बनाएर उडान गर्नेछन् ।

कुन देशका कति उडान ?

क्यानले दिएको अनुमति अनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमलाई कतारको दोहामा दैनिक एक उडान गर्ने गरी अनुमति दिईएको छ ।

यस्तै, निगमले दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको दुई (सोमबार र बुधबार), मलेसियाको क्वालालाम्पुरमा साताको दुई (मंगलबार र शुक्रबार), भारतको नयाँ दिल्लीमा साताको तीन (सोमबार, बुधबार र शनिबार) र जापानको नारितामा हरेक बिहीबार एक उडान गर्ने गरी अनुमति दिइएकाे छ ।

हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा सातामा ५ उडान (आइतबार, बुधबार, बिहीबार, शुक्रबार र शनिबार), दुबई इन्टरनेशनल एयरर्पोटमा साताको तीन (सोमबार, बुधबार र शनिबार), कतारको राजधानी दोहामा साताको पाँच (सोमबार देखि शुक्रबारसम्म) उडान गर्न अनुमति पाएको प्राधिकरणले जनाएको छ ।

यस्तै, एयर इण्डियाले भारतको राजधानी नयाँ दिल्लीबाट हरेक आइतबार, मंगलबार र शुक्रबार नेपाल उडान गर्नेछ । फ्लाई दुबईले भने दुबईबाट मंगलबार, बुधबार र शुक्रबार गरी सातामा तीन उडान गर्न अनुमति पाएको छ ।

जजिरा एयरवेजले कुवेतबाट हरेक दिन नेपाल उडान गर्नेछ । कोरियन एयरले हरेक बुधबार काठमाडौं उडान गर्ने भएको छ । मालिन्दो एयरको जहाज क्वालालाम्पुरबाट सोमबार, बुधबार र शनिबार काठमाडौं आउनेछ । मलेसिया एयरलाइन्सले हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौंमा उडान गर्ने गरी अनुमति पाएको छ ।

कतार एयरवेजले कतारको दोहाबाट काठमाडौंमा दैनिक २ उडान गर्ने गरि अनुमति पाएको छ । सलाम एयरले ओमानको मस्कटबाट आइतबार, मंगलबार र बिहीबार नेपालमा जहाज ल्याउने छ । टर्किस एयरलाइन्सले सोमबार, बिहीबार र शनिबार नेपाल उडान गर्ने भएको छ । सिंगापुर एयरलाइन्सले भने हरेक आइतबार नेपाल उडानको अनुमति पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.