राष्ट्रिय सहकारी बैंक पनि अर्बको क्लबमा, ४८ प्रतिशतले बढायो खुद नाफा

  २०७८ साउन ८ गते १६:२५     विकासन्युज

ललितपुर । राष्ट्रिय सहकारी बैंक पनि एक अर्ब भन्दा माथी नाफा आर्जन गर्ने वित्तीय संस्थाहरुको क्लबमा प्रवेश गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन कर पश्चातको खुद नाफामा ४८ प्रतिशतको वृद्धिदर हो ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्दै ७१ अर्ब ६८ करोड रुपैयाँको वासलातको आकार कायम भएको जनाएको छ । जुन अघिल्लो आवको तुलनामा ४१ प्रतिशतले वृद्धि हो ।

यस अवधिमा बैंकको सेयर पुँजी २ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोषहरुमा ४६ प्रतिशतको वृद्धिदर सहित १ अर्ब ५२ करोड रुपैयाँ सञ्चित रहेको छ । कोभिड १९ को असहज परिस्थितिमा समेत बैंकको निक्षेपमा ४२ प्रतिशतको वृद्धिदर सहित ६६ अर्ब ३४ करोड रुपैयाँ, कर्जामा ३२ प्रतिशत वृद्धिदर सहित ३५ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।

बैंकले यस आर्थिक वर्षमा मात्र १ अर्ब ७४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ र यो गत आर्थिक वर्षको भन्दा ५८ प्रतिशतले बढी रहेको छ ।

पछिल्ला वर्षहरुमा बैंकको शाखा बिस्तार, व्यवसाय तथा वित्तिय आकारमा व्यापक वृद्धि देखिएको छ । पछिल्लो तिन वर्षको वित्तिय विवरण विश्लेषण गर्दा बैंकको वासलातमा २२७ प्रतिशत, सेयर पुँजीमा १७६ प्रतिशत, कर्जा लगानीमा १९० प्रतिशत, निक्षेप संकलनमा २३२ प्रतिशत र नाफामा २१० प्रतिशतको वृद्धिदर देखिएको छ । सहकारी क्षेत्रमा सबैभन्दा ठुलो वित्तिय परिचालन गर्ने बैंकको वित्तिय अवस्था ‘क’ वर्गका केहि वाणिज्य बैंकहरु भन्दा समेत ठुलो र सुदृढ देखीएको छ ।

बैंकमा हाल देशभरिका ७७ जिल्लाका सबै प्रकृतिका सहकारी संघ/संस्थाहरु गरी करिब १४ हजार सदस्यहरु रहेका छन् । बैंकले ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालय मार्फत आफ्ना सदस्यहरुलाई सेवा दिई रहेको छ । सहकारी संघ/संस्थाहरुको प्रवद्र्धन, विकास एवम् बैंकिंग कारोवारको लागि सहकारी क्षेत्रको एक मात्र बैंक भएकाले पनि आफ्ना सदस्य सहकारी संघ/संस्थाहरुलाई दिने सेवामा सधै अब्बल रहने भन्दै सदस्यलाई दिने सेवामा कुनै कमी हुन नदिएकोले सोको सकरात्मक प्रभाव बैंकको व्यवसायमा परेको अध्यक्ष केबी उप्रेतीले बताएका छन् । बैंकको वर्तमान सञ्चालक समितिको कार्यकाल भित्रनै एक खर्बको वित्तीय अवस्था कायम गर्ने लक्ष्य निर्धारण गरिएको र सहकरी क्षेत्रमा प्रविधिमैत्री सेवा उपलब्ध गराउने गरी बैंक अघि बढेको समेत उप्रेतीले जानकारी दिए ।

बैंकले पछिल्लो तिन वर्ष लगातार १५ प्रतिशतले लाभाशं वितरण गर्दै सेयर सदस्यहरुको लगानीमा आकर्षक प्रतिफल प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले जनाए । साथै, उनले बैंकमा कारोबार गर्ने सदस्य सहकारी संघ/संस्थाहरुलाई सहकारी ऐनको व्यवस्था अनुसार बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ सदस्य सहकारी संघ/संस्थालाई संरक्षित पुँजी फिर्ता कोषबाट रकम समेत वितरण गरेको समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.