मेवा खोला जलविद्युतमा लगानी जुट्यो, सिटिजन्स बैंकको अगुवाईमा ७ वाणिज्य बैंकले लगानी गर्ने

  २०७८ साउन ८ गते १२:२२     विकासन्युज

काठमाडौं । ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निमार्णको लागि लगानी जुटेको छ । उक्त आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा विभिन्न ७ बैंकहरुले ७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गर्ने भएका हुन् ।

बैंकको अगुवाईमा कुमारी बैंक, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक र सिभिल बैंकसहित ७ बैंकहरुले ६ अर्ब ७५ करोड रुपैयाँ आवधिक कर्जा र २५ करोड चालु पुँजी कर्जा गरी कूल ७ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । जसको लागि प्रवद्र्धक कम्पनी एवं बैंकहरुबीच २०७८ साउन ७ गते विहिबारका दिन वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ ।

मेवा खोला जलविद्युत आयोजना प्रदेश नंं. १ को ताप्लेजुङ्ग जिल्ला साविक थुकिमा, लिङतेप एवं खाम्लुङ्गगा.वि.स. (हालको मेरिङदेन गाँउपालिका) मा निर्माण हुन लागेको हो । जुन युनाइटेड मेवा खोला हाइड्रोपावर प्रा.लि प्रवद्र्धक रहेको छ ।

परियोजनाको अनुमानित लागत करीब ९ अर्ब रुपैयाँमा बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ६ अर्ब ७५ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्नेछन् । यस मध्ये, सिटिजन्स बैंकबाट १ अर्ब ४५ करोड रुपैयाँ, कुमारी बैंकबाट १ अर्ब रुपैयाँ, मेगा बैंक नेपालबाट १ अर्ब रुपैयाँ, नेपाल इन्फ्रास्ट्रचर बैंकबाट १ अर्ब रुपैयाँ, नेपाल एसबिआईबाट ८० करोड रुपैयाँ, सिद्धार्थ बैंकबाट १ अर्ब रुपैयाँ र सिभिल बैंकबाट ५० करोड रुपैयाँ लगानी हुनेछ । त्यस्तै, २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने कम्पनीले जनाएको छ ।

आयोजनाको निर्माण आगामी तीन वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रकृया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी गराइएको छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोर अन्तर्गको ढुङ्गेसाँघु स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र वर्खामा २०५.५८७ गिगावाट गरी बार्षिक ३०३.०११ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.