बोनस आएको घन्टी बैंकरको मोवाइलमा बज्यो कि नाई ?

  २०७८ साउन ४ गते १०:३७     सुशिल घिमिरे ‘त्रैलोक्य’

अहिले श्रावणको पहिलो हप्ता चल्दैछ । तमाम बैंकरहरुको सवैभन्दा खुसीको हप्ता ।

म पनि एउटा बैंकर भएको नाताले आज विहानै छोरी आव्याले मोवाइलमा फोन गर्दै कौतुहलताका साथ सोधिन्– बाबा मोबाइलमा घन्टी बज्यो कि नाई ?

उसको सोधाइको आसय श्रावण लाग्यो, प्रायः पहिलो हप्तामा बाबाको बोनस आउने भएकोले वोनस आएको घन्टी बज्यो कि वजेन भनेर सोधेको हुनुपर्छ । नसोधुन पनि कसरी ? बैंकरहरु वर्षभरि भाग दौड गर्दै काममै व्यस्त हुन्छन् । विहान नौ साढे नौ बजेदेखि बेलुका अवेरसम्म है…है… गर्दै संस्थाको लागि र आफनो करिअरको लागि अहोरात्र खट्टिरहेका हुन्छन् ।

एउटा बैंकर अहोरात्र खटिएपछि मात्र संस्था नाफातर्फ उन्मुख हुन्छ र नेप्से हरियो हुन्छ । सेयर होल्डरहरुले वोनस पाउछन् । सेवाग्राहीले बैंकिङ सेवा सरल रुपमा पाउछन् । बैंक नाफामा गई राज्यले कर पाउँछ र, कर्मचारीले वोनस पाउछन् ।

श्रावणको पहिलो हप्ता अर्थात बोनस आउने हप्ता । हो यही हप्ताको आडमा र यही बोनसको आडमा मेलै परिवारको कत्ति दुःख र सपनाहरु साचेको छु । बाबा साइकल कहिले किनिदिने भनेर छोरीले सोध्दा मैले बोनस आएपछि ल भन्दै उसलाई थमथमाएको छु ।

त्यतिमात्र कहाँ हो र, कहिले काँही श्रीमतीसँग सानोतिनो ठाकठुक पर्दा पखन, बोनस आएपछि राम्रो साडी किनिदिन्छु नि भन्दै फकाएको छु । आमालाई पनि पख्नुस न, बोनस आएपछि तपाईंलाई सुनको बाला किनिदिन्छु नि भन्दै खुशी पारेको छु । साच्चै, यो बोनसको आडमा मैले घरको सानोतिनो दुःखहरुलाई विर्साइदिदै परिवारका हरेक सदस्यलाई बोनसमै ल्याएर मिलाएको छु ।

सायद त्यही भएर होला, क्लोजिङको राति १० बजेसम्म काम गर्दा पनि थकाइ नलागेको । किनकि भोलि त वोनस आउछ नि ! बोनसले बैंकरहरुको बर्षभरिको थकाइ मेटाइदिन्छ । परिवारलाई समय नदिएको तिक्तता मेटाइदिन्छ । अनि भोलिबाट एक नयाँ आर्थिक वर्षलाई स्वागत गर्दै अझ जोसका साथ काम गर्न उत्साह थपिदिन्छ । बैंकरको लागि कति प्यारो र राम्रो छ यो बोनस ।

मलाई मात्र कहाँ हो र ! कत्ति महिला बैंकरहरुको घरमा बुहारीको बोनस आउछ अब भनेर भान्सामा बुहारीलाई सघाएका छन् सासुहरुले । माया गरेका छन् श्रीमानहरुले । यही बोनसको आडमा कत्तिले केही हदसम्म भए पनि सघाउ पुग्छ भनेर जग्गा किन्ने सपना देखेका छन् । घर बनाउने सपना देखेका छन् । मोटरसाइकल किन्ने सपना देखेका छन् । डुल्ने घुम्ने सपना देखेका छन् । विवाहमा किन्न नपाएको गहना किन्ने रहर पुरा गरेका छन् ।

साच्चै, बैंकरको लागि बोनस भन्ने कुरा नहुदो हो त साह्रै खल्लो पो हुन्छ होला बैंकिङ नोकरी । आखिर किन नहोस् त, बोनसप्रतिको मोह एक बैंकरलाई । महिनावारी तलव त घर खर्चमै सकिन्छ । अनि आफ्नो र परिवारको रहर खुसीहरु केले पुर्याउने एउटा बैंकरले ? यही एउटा बोनस त हो नि, जसले हरेक म जस्तो तमाम बैंकरलाई बैंकिङ क्षेत्रमा अढाएको छ ।

यो साल पनि गत सालभन्दा धेरै वोनस खानु छ भनेर काममा जोस थपिदिएको छ । काम गरेर लोत हुँदा बोनस सम्झदै थकाई कत्ति मेटाइदिएको छ । सायद त्यही भएर होला, म श्रावणको पहिलो हप्ता आफ्नो मोवाइल हरदम आफैसँग राख्छु र छिनछिनमा हेर्छु, कहिले बज्छ बोनस आएको घन्टी भनेर । किनकि मलाई जस्तै बोनसको खुसी र हतारो मेरो घरकालाई पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.