गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अन्योल

  २०७८ असार १७ गते १४:५३     विकासन्युज

काठमाडौं। निर्माणको अन्तिम चरणमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुन सकेको छैन । सन् २०१५ बाट निर्माणको तयारी भएको उक्त विमानस्थलमा परीक्षण उडानको टुंगो नलाग्दा विमानस्थल सञ्चालनमा अन्योल भएकोे छ ।

क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने हुन्छ ।

सन २०२० को सुरुवाती चरणमा नै नियमित उडान सञ्चालनको तयारी भएको उक्त विमानस्थलको केही प्राविधिक कामबाहेक सम्पूर्ण भौतिक संरचना निर्माण सकिएको छ ।

परीक्षण उडानको टुंगो नलाग्दा विमानस्थल सञ्चालनको अवधि लम्बीएको छ । परीक्षण उडान भएको तीन महिनाभन्दा अगाडी नियमित उडान सञ्चालन गर्न नसक्ने विमानस्थल आयोजना कार्यालयले जनाएको छ ।

कार्यालयका आयोजना प्रमुख प्रवेश अधिकारी यसअघिका सम्पूर्ण प्रक्रिया रोकिदा परीक्षण उडान हुन नसकेको बताउँछन् । उनका अनुसार कार्यालयमा मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेसम्बन्धी महत्वपूर्ण उपकरण जडान गरि सकिएको छ ।

परीक्षण उडानका लागि आवश्यक पर्ने विशेष विमान ल्याउने सम्झौताअनुरूप आइसिबी टुको ठेक्का लिएको थाइल्यान्डको एरो थाई कम्पनीको हो । कोभिड–१९ का कारण त्यहाँको सरकारले विमान आउन अनुमति नदिदा परीक्षण उडान हुन नसकेको हो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले थाइल्याण्डबाट विमान नआएपछि विकल्पको रुपमा भारत र अस्ट्रियासँग कुरा भइरहेको जनाएको छ ।
क्यानका महानिर्देशक राजन पोखरेलका अनुसार दुई देशमा परीक्षण उडानका लागि आवश्यक पर्ने विमान ल्याउने विषयमा छलफल भइरहेको छ ।

यसअघि पटक/पकट उद्घाटनको मिति तोकिएको उक्त विमानस्थलको हालसम्म परीक्षण उडान हुन सकेको छैन । सन् २०२० को तयारीमा नै विमानस्थल सञ्चालनमा ल्याउने तयारी भएको बताईएपनि सन् २०२१ मा समेत सञ्चालनमा नआउने देखिएको छ ।

सन् २०१५ जनवरी १५ अर्थात २०७१ साल माघ १ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास हुँदा २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त विमानस्थल ६ वर्षपूरा हुँदा समेत सम्पन्न भएको छैन ।

विमानस्थल निर्माणमा विशेषज्ञता हासिल गरेको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २८ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

आइसिपी–१ र आइसिपी–२ गरी विमानस्थलको निर्माणको कार्य गरिएकोमा आइसिपी–१ अन्तर्गतका अधिकांश कामहरू सम्पन्न भइसकेका छन् । हाल आइसिपी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवनलगायत संरचना निर्माण सम्पन्न भइसकेका छन् ।

आइसिपी–२ अन्तर्गतका कामहरू कोरोनाका कारण प्रभावित हुँदा विमानस्थल निर्माणको काममा ढिलाई हुँदै आएको छ । आइसिपी २ अन्तर्गत हवाईजहाज, पाइलट र विमानस्थलबीचको समन्वयका लागि प्रविधि निर्माण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.