कोरोना संकटमै बैंकमा कहाँबाट आयो साढे ७ खर्ब निक्षेप ?

  २०७८ असार २ गते १६:३१     सन्ताेष राेकाया

काठमाडौं । एक वर्षको समयावधिमा बैंकहरुको निक्षेप संकलन साढे सात खर्ब रुपैयाँले बढेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा अर्थात एक वर्षको अवधिमा २७ वटा वाणिज्य बैंकहरुको निक्षेप साढे सात खर्ब रुपैयाँले बढेको हो । कोरोना भाइरसको पहिलो लहरहको कारण २०७६ चैतमा लकडाउन भएको थियो । २०७६ चैतदेखि चालु आवको जेठ महिनासम्म वाणिज्य बैंकहरुले उल्लेख्य रुपमा निक्षेप संकलन गरेका हुन् । २०७६ चैतको तुलनामा जेठसम्मको निक्षेप संकलन करिब २० प्रतिशतले बढी हो ।

नेपाल बैंकर्स संघका अनुसार २०७६ साल चैत महिनामा ३१ खर्ब ८९ अर्ब रुपैयाँ रहेको निक्षेप २०७८ जेठ महिनासम्म आइपुग्दा ३९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । यस्तै निक्षेपसँगै कर्जा लगानी पनि बढेको छ । कोरोनाकै कारण यो एक वर्षको समयावधिमा लकडाउन, सटडाउन र निषेधाज्ञा भएर आर्थिक गतिविधिहरु सुस्त भए पनि वाणिज्य बैंकहरुको कर्जा लगानीमा उल्लेख्य रुपमा वृद्धि भएको देखिन्छ । यो अवधिमा वाणिज्य बैंकहरुले निक्षेप संकलनभन्दा बढी कर्जा लगानी गरेका छन् ।

२०७६ साल चैतदेखि २०७८ जेठ महिनासम्म वाणिज्य बैंकहरुले करिब आठ खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । एक वर्ष अगाडि अर्थात चैतको महिनासम्म २८ खर्ब ४५ अर्ब रुपैयाँ कजौ लगानी गरेको वाणिज्य बैंकहरुको २०७८ को जेठ महिनासम्म आइपुग्दा करिब ८ खर्ब रुपैयाँ बढाएर ३६ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा लगानी पुर्याएका छन् ।

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैदिएको भन्दै २०७६ चैत ११ गतेदेखि ३ महिनासम्म निरन्तर पूर्ण रुपमा लकडाउन भएको थियो । त्यसपछि साउनदेखि आंशिक रुपमा सटडाउन तथा निषेधाज्ञा जारी गरिएको थियो । सो समयमा आर्थिक गतिविधि थप्प प्रायः थिए । उद्योगधन्दाहरु बन्द नै थिए। बैंक तथा वित्तीय सेवाहरु पनि केही समयमा लागि बन्द गरेर डिजिटल सेवालाई प्राथमिकता दिए ।

फेरि अहिले कोरोना भाइरसको दोस्रो वेब फैलिएको भन्दै देशभर निषेधाज्ञा छ । गत बैशाख १६ गतेदेखि देशका विभिन्न जिल्लाममा निषेधाज्ञा कायम नै छ । बैंक तथा वित्तीय संस्थाहरु आंशिक रुपमा मात्रै सञ्चालन भइहरेका छन् । उद्योग व्यवसाय बन्द अवस्थामा छन् । आर्थिक चलाएयमान हुन सक्ने क्षेत्र पनि बन्द नै छन् । परिणाम स्वरुप देशको आर्थिक वृद्धिदर पनि लक्ष्य अनुरुप भएन ।

कोरोना भाइरसको कारण अर्थतन्त्रमा संकट देखा परेको बेला वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीमा भने कुनै गिरावट आएन । अर्थात निक्षेप र कर्जा लगानीमा उल्लेख्य वृद्धि देखियो । नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्याय कोरोना भाइरसको कारण विभिन्न समयमा भएको लकडाउन तथा निषेधाज्ञामा आर्थिक गतिविधि नभएपछि मानिसले आफुसँग भएको पैसा बैंकमै जम्मा गरेको कारणले पनि निक्षेप बढेको तर्क राख्छन् ।

‘लकडाउनको समयमा आर्थिक गतिविधि भएनन्, कतिपयले लकडाउनमा पैसा झिके पनि तर कुनै ठूला आर्थिक गतिविधि नभएपछि उनीहरु आफुसँग भएको पैसा बैंकमै राख्न बाध्य भए, कतिपयले लिमिट उठाएका थिए लिमिट पनि फर्कियो, निक्षेपबाट पाएको व्याज पनि खातामै रहेको कारणले निक्षेप बढेको देखिएको हो,’ उनले भने ।

यस्तै उनले कोरोनाको समय भएपनि विदेशबाट उल्लेख्य रुपमा रेमिट्यान्स भित्रिएकोले पनि निक्षेप बढेको बताए । ‘मानिससँग खर्च गर्ने कुनै पनि क्षेत्र र ठाउँ भएन, बाहिरबाट आएको पैसा पनि खातामै राखे, पुँजी बजारको पैसा पनि बैंकिङ च्यानलमै आएर बस्यो, सामाजिक संघ संस्था तथा एनजीओ/एनजीओको पैसा पनि बैंकिङ च्यानलबाटै आएकोले निक्षेप बढेको देखाएको हो,’ उनले भने,‘ त्यसैले समग्र पोर्टफोलियो नै बढेको देखिएको हो ।’

उनका अनुसार यो अवधिमा ८ खर्ब रुपैयाँ कर्जा बढेको देखिएको भएपनि अहिले भने कर्जा घट्दै गएको छ । यो अवधिमा अन्य आर्थिक गतिविधि नभएको र कुनै पनि लगानीका क्षेत्रहरु नभएपछि अधिकांश कर्जा सेयर बजारमा गएको उनको भनाई छ । सेयर बजारले नै वाणिज्य बैंकहरुको कर्जा लगानीमा सहयोग गरेको उनले बताए ।

उनका अनुसार औषधि, खाद्यान्न व्यापार लगायतका क्षेत्रमा पनि कर्जा विस्तार भएको उनको भनाई छ । उसो त कोरोनाभाइरस संक्रमणका कारण निकै असहज अवस्था सिर्जना भए पनि वित्तीय सूचकहरु पनि सबल देखिएका छन् । जेठ महिनामा अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमार्फत पनि अधिकांश वित्तीय सूचकहरु सबल रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।

गत फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा तरल सम्पत्तिको अंश २४.४८ प्रतिशत, नगद तथा मौज्दातको अंश ८.२ प्रतिशत र कुल निक्षेप तथा प्राथमिक पुँजीमा कुल कर्जाको अंश ७७.१ प्रतिशत देखिएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख थियो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकाल पनि अहिलेको वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी स्वभाविक नै रहेको धारणा राख्छन् । विभिन्न समयमा लकडाउन तथा निषेधाज्ञा भएपनि केही मात्रामै भएका आर्थिक गतिविधिहरुले निक्षेप र कर्जा लगानी बढाउन भूमीका खलेको उनको भनाई छ ।

‘निक्षेप बढ्नुको धेरै कारण हुन्छ, सरकारको खर्च बढ्दा, रेमिट्यान्स भित्रिदा र विदेशी मुद्रा नेपाल भित्रिदा निक्षेप बढ्छ, निषेधाज्ञा र लकडाउनको समयमा यी कुनै पनि गतिविधि नरोकिएकोले बैंकहरुको निक्षेप संकलन बढेको देखिएको हो,’ उनले भने । विगतमा खोलिएका (प्रतितपत्र) एलसीको कारण सामानको भुक्तानी जाँदा पनि कर्जा विस्तार देखिएको उनको भनाई छ ।

उनका अनुसार हाल बैंकिङ प्रणालीमा २१ अर्ब रुपैयाँ तरलता रहेको छ । प्रणालीमा ५० अर्ब रुपैयाँभन्दा कम हुनु भनेको तरलतामा दबाब पर्न थाल्नु हो । यो हिसाबले अहिले तरलतामा व्यापक दबाब परिरहेको प्रस्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.