काेराना परीक्षण घट्दै: लक्षण भएकालाई परीक्षण गर्न जान सरकारकाे आग्रह

  २०७८ जेठ ३० गते १७:२१     विकासन्युज

काठमाडौं । कोरोना परीक्षण दैनिक रुपमा घटेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड लक्षण भएकाहरुलाई नजिकैको स्वास्थ्य संस्थामा गएर परीक्षण गर्न अनुरोध गरेको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका मानिसहरुलाई मन्त्रालयका प्रवक्त डा कृष्ण पौडेलले छिटोभन्दा छिटो परीक्षणको लागि अस्पताल जान आग्रह गरेका छन् ।

‘हाल परीक्षण गर्न मानिसहरु हिच्किचाइ रहेको डाटाले देखाएको छ । कोरोना पत्ता लगाई निको पार्नु परीक्षण सबैभन्दा राम्रो विधि हो । त्यसैले सबैलाई लक्षण देखिएको अवस्थामा परीक्षण गराइहाल्नु हुन अनुरोध गर्दछौं, ‘उनले भने ।

‘सरकारले सबै सरकारी अस्पतालमा पिसिआर परीक्षण निशुल्क गरेको छ र एन्टिजेन्ट पनि गाउँगाउँमा पुराइएको छ । घरमा यो हो कि त्यो हो भनेर बस्दा संक्रमण सर्ने र जोखिम बढ्ने हुनला परीक्षण गरी ढुक्क हुन सबैलाई अनुरोध गर्न चाहान्छु,’ उनले थपे ।

यसअघि जेठ २१ गते १४ हजार १८३ पिसिआर परीक्षण र ६ हजार ६३१ को एन्टिजेन्ट मार्फत परीक्षण भएको थियो जुन क्रमश रुपमा जेठ ३० गते आइपुग्दा मात्र ७ हजार ५१७ को पिसिआर र ४ हजार ८८९ को एन्टिजेन मार्फत परीक्षण भएको छ ।

पछिल्लो एक हप्ताको डाटा हेर्दा जेठ २४ गते कुल १७ हजार ९०३ र जेठ २५ गते १७ हजार ६७६ जनाको पिसिआर र एन्टिजेन्ट मार्फत परीक्षण भएको थियो ।

यस्तै जेठ २६ गते कुल १६ हजार ६१५, जेठ २७ गते १५ हजार २३८, जेठ २८ गते १५ हजार १८३ र जेठ २९ गते १४ हजार ४९४ जनाको पिसिआर र एन्टिजेन्ट विधि मार्फत परीक्षण भएको थियो ।

यसअघि नेपालमा दैनिक २० हजारभन्दा बढी परीक्षणहरु हुने गर्थियो । पौडेलको अनुसार सरकारको क्षमताभन्दा ५० प्रतिशत कम परीक्षण भइरहेको छ ।

गएको ९ दिनमा हरेक दिन परीक्षण घट्दै गएर आइतबार मात्र १२ हजार ४०६ जनाको परीक्षण भएको छ जसमा  २ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. पौडेलले विभिन्न कारण परीक्षणहरु घट्दै गएको र यसमा व्यक्तिहरु परीक्षणको लागि अस्पताल नजानु पनि एउटा कारण भएको बताए ।

प्रवक्ता पौडेलको अनुसार गाउँगाउँको स्वास्थ्य संस्थामा गरिएको परीक्षणको समयमा नतिजा नआइपुग्दा पनि परीक्षण घटेको देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.