‘क्लब हाउस’मा नेपाली उद्योगी/व्यवसायी र बैंकरको इण्ट्री, स्टार्टअपका लागि गज्जवको प्लेटफर्म

  २०७८ जेठ २९ गते ९:४०     विकासन्युज

काठमाडौं । अडियोमा आधारित सामाजिक सञ्जाल ‘क्लब हाउस’मा नेपाली उद्योगी, व्यवसायी तथा बैंकर्सले पनि प्रवेश गरेका छन् । केही हप्तादेखि ट्रेन्डिङमा रहेको अडिओ प्लेट फर्म क्लबहाउसमा विभिन्न नेपाली उद्योगी, व्यवसायी, बैंकर तथा सेलीब्रेटीहरुले प्रवेश गरिरहेका छन् ।
फेसबुकका फाउण्डर मार्क जुकरवर्ग, टेस्लाका इलन मस्क लगायत चर्चित व्यक्तीहरुले पनि क्लव हाउसमा प्रवेश गरेसँगै अहिले यो एपको चर्चा एकाएक चुलिएको छ । नेपाली उद्योगी, व्यवसायी तथा बैंकरहरु पनि यसबाट टाढा रहन सकेनन् । फलस्वरुप यो एपले उनीहरुलाई आफुतर्फ आकर्षित गर्न सफल भयो ।

उद्योगी निर्माण चौधरी, शौरभ ज्योतीदेखि सेलिबे्रेटी बैंकरका रुपमा परिचित अनिल केशरी शाहले पनि यो एपमा आफ्नो प्रवेश दर्ज गरेका छन् । धेरै उद्योगी व्यवसाय तथा बैंकहरु यो एपमा प्रवेश गरिरहेका छन् ।

हामीले जानकारी पाएसम्म हालसम्म उद्योगी निर्वाण चौधरी, उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणा, उद्योगी शौरभ ज्योती, रञ्जित आचार्य, व्यवसायी सुदिप आचार्य, पूर्व अर्थ सचिव रामेश्वर खनाल, हाइड्रो व्यवसायी ज्ञानेन्द्रलाल प्रधान, सेयर लगानीकर्ता छोटेलाल रौनियार, बैंकर पर्शराम कुवँर क्षेत्री, अनिल केशरी शाह, मनोज ज्ञवाली, पत्रकार दिलभुषण पाठक लगायत परिचित व्यक्तिहरु यो एपसँग जोडिएका छन् ।

चर्चित सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युब सँगै क्लब हाउसले पनि चर्चा पाइसकेको छ । हालसम्म ३५ लाखभन्दा बढी यसको प्रयोगकर्ता भएको बुझिएको छ ।

के हो क्लब हाउस ?

क्लब हाउस अडियोमा आधारित सामाजिक सञ्जाल हो । सन् २०२० मार्चमा एप्पलको आइओएस अपरेटिङ सिस्टममा लन्च भएको क्लब हाउस अहिले एन्ड्रोइड फोनमा पनि उपलब्ध छ । यो एप गत मे महिनाबाट मात्रै एन्ड्रोइडका लागि प्ले स्टोरमा आएको हो ।

आमन्त्रित व्यक्तिहरू मात्र जोडिन मिल्ने यो एप सन् २०२० मा नै बजार भित्रिएको हो । यस एपमा प्रयोगकर्ताले बोलेर र सुनेर अन्तक्र्रिया गर्न सक्छन् ।

यो एप अल्फा एक्सप्लोरेसन कम्पनीका पल डेभिसन र रोहन सेथले मिलेर बनाएका हुन् । सुरूआतमा संस्थापकहरूले पोडकास्ट बनाउने उद्देश्यले यसको नाम ‘टक–शो’ राखेका थिए । पछि यसलाई पुनः नामकरण गरेर क्लबहाउस राखिएको हो ।

यसको मुख्य फिचर भनेको भर्चुअल रूम हो । यसमा ओपन रूम, क्लोज्ड रूम र सोसियल रूम गरी तीन प्रकारका रुम हुन्छन् ।
ओपन रूममा जो कोही प्रयोगकर्ता जोडिन मिल्छ । सेटिङ परिवर्तन नगरेसम्म सबै रूम ओपन नै हुन्छन् रूम वा प्राइभेट रूममा भने आमन्त्रित प्रयोगकर्ताहरू मात्रै जोडिन मिल्छ ।

यी रूममा वक्ता, श्रोता र आयोजक हुन्छन्। रूम निर्माण गर्ने व्यक्ति आयोजक हुन्छ। आयोजकले आफ्नो श्रोतालाई वक्ता बनाउन, म्युट गरिदिन, अनम्युट गरिदिन र वक्तालाई निस्कासन गर्न मिल्ने सुविधा हुन्छ । श्रोता वक्ता हुन चाहेमा हात उठाउने बटन थिची आयोजकलाई जानकारी गराउन सक्छ ।

यो एपका प्रमुख कार्यकारी अधिकृत पल डेभिसनका अनुसार जनवरी २०२१ सम्ममा क्लबहाउसको साप्ताहिक प्रयोगकर्ता करिब २० लाख पुग्यो । क्लबहाउसको एउटा रूममा एक पटकमा ५ हजार प्रयोगकर्ता जोडिन मिल्छ। उस्तै विशेषता भएको टेलिग्राममा भने जति जना पनि जोडिन पाउँछन् ।

यो एपमा आमन्त्रण आएपछि मात्र एप चलाउन मिल्ने सुविधा छ । कोही नयाँ प्रयोगकर्ता हुन चाहेमा पुरानो प्रयोगकर्ताले आमन्त्रण गर्नुपर्छ । आमन्त्रण गरेपछि मोबाइल नम्बरमा आएको कोड वा लिंक राखेर मात्रै यो एप लगइन गर्न मिल्छ । तर प्रति प्रयोगकर्ता ५ वटा निमन्त्रणा कोड हुन्छ ।

यो सकिएको खण्डमा अरूलाई आमन्त्रण गर्न मिल्दैन । अरू निमन्त्रणा कोड किन्न चाहेमा इबेबाट ४ सय अमेरिकी डलरमा किन्न पाइन्छ ।
क्लब हाउस एपमा प्रयोगकर्ता बिभिन्न विषयमा छलफल भइरहेका फोरममा प्रवेश गर्न, प्रस्तोता र वक्ता बन्न सक्छन् ।

नेपालमा पनि चर्चा

नेपालमा पनि केही साता यता क्लब हाउसको चर्चा बढेको छ । विभिन्न पेशा व्यवसायसँग सम्विध्त व्यक्तिहरु यसमा जोडिने क्रम पनि बढेको छ । अहिले नयाँ उद्यम गर्ने सम्बन्धि आइडिया सेयरिङ, समसामायिक विषयवस्तुमा छलफलदेखि सेयर बजारको उतारचढावको बारेमा पनि क्लब हाउसमा निकै प्रभावकारी छलफल हुने गरेको छ ।

नयाँ उद्यम गर्न चाहने र केही सिक्न चाहनेहरुका लागि क्लब हाउन प्रभावकारी प्लेट फर्म बन्न सक्ने धेरैको धारणा छ । क्लब हाउसमा एक आपसमा आफ्ना अनुभव र भोगाईहरु सेयरिङ गर्न सकिन्छ । यस मार्फत नयाँ उद्यम गर्ने स्टार्टअपहरुका लागि गर्न चाहेको उद्यमका बारेमा सल्लाह सुझाव लिन पनि प्रभावकारी माध्यम बन्न सक्ने देखिन्छ । यतर, कतिपय अवस्थामा यसको दुरुपयोग हुने अवस्था धने पक्कै देखिन्छ ।

अहिले विश्व महामारीका रुपमा देखा परेको कोरोना भाइरसको कारण उत्पन्न निषेधाज्ञाको समय भएकोले पनि क्लब हाउस कतिपयका लागि दिन कटाउने माध्यम पनि बनेको छ । छलफलका लागि बनाइएको एउटै ग्रुरुपमा करिब पाँच हजार प्रयोगकर्ता अकोमोडेट गर्न सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.