संकटका सारथी बन्दै काभ्रेली पत्रकार

  २०७८ जेठ २१ गते १२:३२     सन्तोष तिमल्सिना

गएको हप्ता दिन अघि हामी नेपाल पत्रकार महासंघ काभ्रे शाखाको कार्यलयमा पुग्दा अध्यक्ष बद्रिराज तिमल्सिना अलि हतारमा थिए । महासंघ काभ्रे शाखाले स्थापना गरेको आपतकालिन राहत कोषमा नेपाल प्रेस युनियनको तर्फबाट सहयोग रकम हस्तान्तरण लागि पुगेका टोलीलाई छोटो समय दिएर उनी बिदा भए । महामारी नियन्त्रणका लागि स्थानीय र सरकार र स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु प्रदान गरी थप हौसला प्रदान गर्नु उहाँको अर्को अभियानमा रहेछ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीले काभ्रे जिल्लालाई पनि निकै प्रभाव पारेको थियो । कोरोना भाईरसको संक्रमण तिव्र रुपमा फैलिन थाले पछि यसको ब्यवस्थापन, रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रसाशन कार्यलयहरुले निषेधाज्ञा गरको थियो । केही पालिकाहरु शिल गरिएका थिए । सडकमा साईरन बजाउँदै प्रहरी र एम्बुलेन्सहरु गुडिरहेका थिए । कोरोनाको कहर सामुदायिक स्तरसम्म फैलिएको थियो । कोभिडका बिरामीहरुले अस्पस्तालमा बेड पाउन सकिरहेका थिएनन् । अक्सिजन, आईसियु र भेन्टिलेटरको अभाव सिर्जना भएको थियो । कतिले अकालमा ज्यान गुमाईरहेका थिए, कति जना त अक्सिजन नपाएर छट्पटाई रहेका थिए । बिरामीका आफन्तहरुको आँशु रोकिएको थिएन । हरेक पत्रकारहरुको कलमले मृत्युको खबर लेखिरहेको थियो ।

सबै पत्रकारहरु घरभित्रै रहेर प्रविधिको उपयोग गरी समाचार संकलन र प्रकाशन गरिरहेको समयमा पत्रकारीता र समाजसेवालाई समान्तर रुपमा अघि बढाई संकट निवारण कार्यमा निरन्तरता दिंदै संकटका सारथीका रुपमा महासंघका अध्यक्ष तिमल्सिनाले खेलेको भूमिका प्रशंसनिय छ । पत्रकारीता पेशाको सम्बद्र्धन, पत्रकारहरुको संरक्षण र हितका लागि विभिन्न सामाजिक संघ संस्था, व्यक्ति तथा शुभेच्छुकहरुसंग समन्वय गरी आपतकालीन राहत कोषको स्थापना गरी यसलाई मजबुद बनाउने अभियान सिङ्गो कार्य समिति प्रतिवद्ध ढंगबाट लागेको छ । आफ्नो पेशा, आवद्ध सदस्य, संगठनका साथै सामाजिक हितका कार्यहरु गर्नु कुशल नेतृत्वमा हुनु पर्ने एउटा गुण हो ।

पत्रकार महासंघ काभ्रेको समन्वयमा प्रारम्भ सामाजिक संस्था र आनी छोईङ डोल्मा फाउन्डेसन तथा सिंगापुर रेडक्रसद्वारा कोरोना बिशेष अस्पताललाई भेन्टिलेटर मेसिन उपलब्ध गराईयो । कोभिड-१९ बाट संक्रमितहरुको जीवन रक्षार्थ सक्रिय रहेको अस्पताल, स्वास्थ्य संस्थालाई भेन्टिलेटर, हाईफ्लो अक्सिजन कन्सन्ट्रेटर, पिपिई सेट लागायतका अत्यावश्यक सामाग्रीहरु वितरण गरेर उदारणीय कार्य गरेका छन । कोरोना भाईरसको संक्रमणको जोखिम नियन्त्रण तथा ब्यवस्थापनका लागि स्थानीय पालिकाहरु समेत स्वास्थ्य सामाग्री वितरण गर्नु पत्रकारीता पेशा पनि समाजप्रति पूर्ण उत्तरदायि रहन्छ भन्ने बलियो प्रमाण पनि हो ।

हर मानिसको स्वास्थ्य र ज्यान उत्तिकै महत्वपूर्ण छ । महामारीको सन्त्रासमा रुमलिएको सामाजिक मानशिकता भन्दा बाहिर निस्केर त्रासदी र चुनौतीपूर्ण दैनिकीलाई चिर्दै मस्तिष्कमा समाजको चिन्ता, हृदयमा मानवीय सेवाका साथ युद्धभूमीमा होमिएका यि पत्रकार युद्धभूमीको सिपाही सरह महामारी विरुद्ध लडिरहेका छन । शायद उनलाई कोरोनाले मर्छु भन्ने डर पटक्कै लाग्दैन । उनको समाजसेवाको भावनालाई बुज्ने हो भने यस्तो लाग्छ कि, यो बिषम परिस्थितीमा कसैले पनि ज्यान गुमाउनु नपरोस् ।

सूचना विभागले जारी गरेको पत्रकार परिचय-पत्र गलामा भिरेर अस्पताल, स्वास्थ्य केन्द्रका साथै स्थानीय तहहरुले संचालन गरेका अस्थायी कोभिड अस्पताल र आईसुलेशनसम्म पुगेर समाचार लिएर हैन आवश्यक स्वास्थ्य सामाग्री दिएर फर्किन्थे । संकटको घडीमा पत्रकारका अभिभावकलाई समाचारको कन्टेन हैन नागरीक सुरक्षाको प्रत्याभूती चाहिएको छ । पत्रकार महासंघ काभ्रेका अध्यक्ष नै महामारी विरुद्धको अभियानमा अग्रपंक्ती रहेर मानवीय सेवामा सक्रिय रहँदा पत्रकारीता पेशा र मर्यादालाई अझ उचाईमा पुर्याएको छ ।

(लेखक काभ्रे सन्देश साप्ताहिकका सह-सम्पादक हुन् )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.