धितोपत्र बोर्डको भूमिका राष्ट्र बैंकले खेल्यो तर, एकदमै सह्रानिय छ: प्रकाश तिवारीको विचार

  २०७८ जेठ १३ गते ११:०४     प्रकाश तिवारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ ११ गते मंगलबार एक सर्कुलर जारी गरी बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजार मार्फत एक वर्षभन्दा कम अवधिको लागी सेयर किनबेच गर्न नपाउने नयाँ व्यवस्था गरेको छ । यससँगै उनीहरुले लघुवित्तको साधारण सेयर किन्न नपाउने र यसअघि किनेको सेयर २०७८ पुस मसान्तसम्ममा बिक्री गरिसक्नुपर्ने भन्ने राष्ट्र बैंकको निर्देशन रहेको थियो ।

सामान्यतः नेपाल राष्ट्र बैंकले गरेको निर्देशनले मात्र दुई वटा कुरामा असर गर्छ । एउटा सेयर बजारको विकासमा र अर्को सेयर मूल्यमा । चाहे त्यो सकारात्मक होस् या नकारात्मक ।

तर मौद्रिक नीतिको त्रैमासिक समिक्षा पश्चात राष्ट्र बैंकले जेठ ११ गते जारी गरेको निर्देशनले सेयर बजारको विकासमा दीर्घकालिन रूपमा सकारात्मक प्रभाव पार्छ भने तत्कालकाे लागि सेयर मूल्यमा नकारात्मक असर पर्न सक्छ ।

यसकारण नकारात्मक असर पर्छ

बैंकहरुले सेयरमा लगानी गर्न नपाउँदा तत्काल अर्थात अल्पकालिन रुपमा मूल्यमा असर पर्न सक्छ नै । किनभने पछिल्लो समय बैंक पनि एउटा राम्रो ठूला कारोबार भएर सेयर बजारमा निस्किएका थिए । बैंकभन्दा पनि विशेष त फाइनान्स कम्पनी र विकास बैंकहरु, जसले हाइड्रोपावर, नागरिक लगानी कोष, नेपाल पुनर्बीमा कम्पनी, बीमा कम्पनीमा लगानी गरिरहेका हुन्छन् । बैंकको यो व्यवस्थासँगै हाइड्रो लगायत माइक्रोफाइनान्सको सेयर मूल्यमा तत्कालको लागि नकारात्मक असर देखिन्छ ।

यस्तो छ सकारात्मक प्रभाव

तर राष्ट्र बैंकले ल्याएको जुन नीतिगत व्यवस्था छ, त्यो सेयर बजारको समग्र विकासको लागि एकदमै सराहनीय छ । यसले अल्पकालिन रुपमा सेयर मूल्यमा तलमाथि भएपनि बजारलाई दीर्घकालिन बनाएर लगानीकर्तालाई दीर्घकालिन रुपमा फाइदा गर्छ । किनभने बैंकको आफ्नो कोर काम भनेको निक्षेप संकलन गरेर कर्जा दिने नै हो । तर, त्योभन्दा सजिलो अहिलेको अवस्थामा सेयर बजार बढेर पैसा कमाइन्छ भन्ने उद्देश्यले बैंक तथा फाइनान्सहरुले आफ्नो प्राथमिक ध्यानलाई नै डाइभर्ट गरेर लगानी गरिरहेका थिए ।

धिताेपत्र बाेर्डले खेल्नु पर्ने सबै भूमिका राष्ट्र बैंकले

बैंक र सेयर बजारको आआफ्नो छुट्टा छुट्टै रोल हुन्छ । त्यसैले, बैंकले जे काम गर्ने हो त्यो गर्ने र सेयर बजार भनेको सेयर बजारकै लगानीकर्ताले लगानी गर्ने ठाउँ हो भन्ने उद्देश्यले राष्ट्र बैंकले यो रोल खेलेको हो । वास्तवमा यसमा रोल खेल्नु पर्ने धितोपत्र बोर्डले हो । तर बिडम्बनाको साथ भन्नुपर्छ, नेपालमा जहिलेदेखि पुँजीबजारको नियामकको रुपमा धितोपत्र बोर्ड रहेको छ उसको नेतृत्व हालसम्म पनि निकम्मा नै रहेको छ । जसले सेयर बजारका लगानीकर्ताको इन्ट्रेस्टलाई प्रोटेक्ट गर्ने हो भन्ने पनि बुझ्दैन । बजारमा खुल्लेआम इन्साइडर ट्रेडिङ्ग भइरहेको हुँदा त्यसलाई रोक्ने खालका त्यससम्बन्धित नीति बनायो भने क्षणिक मार्केट घट्ला, केही लगानीकर्ताले केही दिन गाली गर्लान् तर यसले दीर्घकालिन रुपमा त आम लगानीकर्ता लगायत समग्र बजारलाई नै माथि पुर्याउन अवश्य नै मद्दत गर्छ ।

त्यसैले, नियामकको संरचना तथा नियामकको पक्षबाट प्रभावकारी संस्था भनेको राष्ट्र बैंक नै हो । जसले जुनसुकै नीति पनि मार्केटमा चाहिएको अनुसार अर्थात समय सापेक्ष अनुसार नै हस्तक्षप गरिरहेको हुन्छ । दुःखद पक्ष के छ भने सेयर बजारमा विकृत भएका सबै पाटो राष्ट्र बैंकले हेर्नुपर्ने भएको छ । जुन, काम धितोपत्र बोर्डको हो । बोर्डले नगरेपछि राष्ट्र बैंकले गर्नै पर्यो ।

यो भन्दै गर्दा राष्ट्र बैंकले बजारमा देखिएका सबै विकृतिहरुलाई एड्रेस गरिरहेको छ त भन्दिन । अब राष्ट्र बैंकले फेक अकाउन्टहरुलाई छानविनको रुपमा ल्याउनु पर्ने हुन्छ । अर्को, कुनै पनि कम्पनीका टप लेभलका मानिसहरु जसले मर्जरको हल्ला चलाएर खुल्लेआम कारोबार गरिरहेका छन् । जस्तै, हालैको उदाहारण हेर्ने हो भने पनि जनरल इन्स्योरेन्सको सञ्चालकले आफै कम्पनीको सेयर किनेको भनेर उनलाई सञ्चालक पदबाट नै हटाईयो । बीमा समितिले हटाउन त हटायो तर त्यो बाहेक अन्य कुनै काम भएन । त्यसैले, राष्ट्र वाणिज्य बैंकले बैैंकहरुको सेयर कारोबार रोकेजस्तै अब बीमा समितिले पनि बीमा कम्पनीहरुको रोक्नु पर्छ । उनीहरुले लगानी गर्न पाउनुपर्छ तर सबै छोडेर होइन की कति प्रतिशत गर्नु भनेर तोकिनु पर्छ । यो विषयमा एक्स्न लिनुपर्ने त धितोपत्र बोर्डले हो तर…।

राष्ट्र बैंककाे याे कदम एकदमै अपरिहार्य

यो नयाँ पोलिसी एकदमै अपरिहार्य थियो । जुन राष्ट्र बैंकले ल्यायो । यसको लागि धन्यवाद । र, बीमा समितिहरुले पनि यस्ता खालका पोलिसीहरु ल्याउनुपर्छ । यो बाहेक कर्मचारीहको सहभागिता, सञ्चालकहरुको सहभागिता, लगानीकर्ताहरुको फेक अकाउन्टहरु र इन्साइडर ट्रेडिङ्गको विषयलाई कडाई गर्ने खालका पोलिसी ल्याउन अतिनै अपरिहार्य छ । किनभने इन्साइडर ट्रेडिङ्ग भइराख्यो भने सबै सकिनेछ ।

औषत दिन बढ्दा कर्जा रकम घट्ने

त्यसैगरी, राष्ट्र बैंकले सेयर धितो कर्जाको लागी पनि बैंक तथा वित्तीय संस्थाहरुले १८० दिनको औषत लिनुपर्ने नयाँ व्यवस्था गरेको छ । जुन अहिले १२० दिनको लिने व्यवस्था रहेको थियो । यो नयाँ व्यवस्थाले पनि सेयर बजारलाई असर गर्छ । कसरी भन्नुहुन्छ भने यो नीतिले सेयर धितो राखेर ऋण लिने लगानीकर्ताले पहिलेको भन्दा औषतमा ७ प्रतिशत कम कर्जा पाउँछन् । अर्को अर्थमा भन्ने हो भने १२० दिनलाई १८० दिन बनाउनु भनेको ७० प्रतिशतलाई ६३ प्रतिशत बनाए बराबर नै हो । यसको नकारात्मक असर बजारमा पर्छ ।

पहिले देखिनै राष्ट्र बैंकले सेयर बजार नचाहिने हिसाबले बढ्न थाल्यो भन्ने लगायत जुन पायो त्यही कम्पनीलाई कारोबार गर्न नदिने भन्ने व्यवस्था पनि गरेकै हो । हालसम्म बजारलाई हचुवाको भरमा छोड्न नदिन र अहिले कमाउने भन्दा पनि यसलाई दीर्घकालिन रुपमा कसरी दिगो बन्छ भन्नेमा सबै राष्ट्र बैंकले नै मोनिटर गरिरहेको छ । र, उसले नै एक्सन लिइरहेको छ । त्यसैले हालै राष्ट्र बैंकले गरेको नयाँ नीति एकदमै चित्त बुझ्दो छ । र, यो भन्दै गर्दा उसले गर्नुपर्ने काम यत्ति मात्रै हो भन्दिन । उसले समेट्नु पर्ने थुप्रै विषयहरु छन् । हुन त यी सबै काम नेपाल धितोपत्र बोर्डले गर्नुपर्ने थियो । उसले गर्दैन । उसले नगर्ने भएपछि सबै काम राष्ट्र बैंक तथा बीमा समितिले गर्नुपर्छ ।

(पुँजी बजार जानकार तथा युवा लगानीकर्ता तिवारीसँग गरिएको कुराकानीको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.