कमलपोखरीस्थित अग्रवाल भवनमा १२६ शय्याकाे आइशोलेसन सेन्टर स्थापना

  २०७८ जेठ ३ गते १३:५५     विकासन्युज

काठमाडाैं । कमलपोखरीस्थित अग्रवाल भवनमा आइशोलेसन सेन्टर स्थापना गरिएको छ ।
कमलपोखरीमा रहेको अग्रवाल भवनमा करिब १ सय २६ जनासम्म राख्न सकिने गरी क्वारेन्टीन/माइल्ड आइशोलेसन सेन्टरको स्थापना गरिएको हो ।

अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एशोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले संयुक्त रुपमा सञ्चालन गरेको आइशोलेशन सेन्टरको सोमबार नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले उद्घाटन गरे ।

आइशोलेसन उद्घाटन गर्दै राजदुत क्वात्राले कोभिड १९ को महामारी दक्षिण एसियामा तिव्र रुपमा फैलिएको भन्दै महामारीका विरुद्ध लड्न व्यक्ति, परिवार, समाज र सरकारको संयुक्त प्रयास आवश्यक पर्ने बताए । उनले कोभिड १९ विरुद्धको लडाईमा भारत सरकारले आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

उनले भने, ‘भारतले महामारीका विरुद्ध लड्न नेपाललाई अग्रसर रुपले सहयोग गरिरहेको छ । भारतबाट २३ लाख डोज कोभिडशिल्ड खोप नेपाल आइसकेको छ । ८/१० दिनमा लिक्विड अक्सिजनको ट्यांकर भारतबाट नेपाल आउने छ । अस्पतालमा अक्सिजनको कमी नहोस् भन्ने छ ।’

आइशोलेसन सेन्टर उद्घाटनमा बोल्दै उद्योगी राजेन्द्र खेतानले आइशोलेसन सेन्टर मार्फत् फ्रन्टलाइनर डाक्टर, नर्स लगाएतलाई बचाउन सके अन्य सयौँ परिवारको रक्षा गर्न सकिने बताए ।

आइशोलेसन केन्द्रमा एउटा हलमा ९० जनासम्म मानिस राख्न सक्ने गरी व्यवस्थित गरिएको छ । प्रति कोठामा दुई जना बस्ने गरी १८ वटा कोठा बनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.