कथाः बैंकिङ प्रेशर

  २०७८ जेठ १ गते १४:००     सुशिल घिमिरे “त्रैलोक्य”

ओहो ! अहिलेको निशेधाज्ञाका कारण चार ठाउँमा प्रहरी चेकिङको सामना गर्दै बैंक आएको त ९ः३५ पो भइसकेछ । हुनत घरबाट समयमै हिँडेको थिएँ नि । तर के गर्नु, आफू आइपुग्दा त बाँकी सबै स्टाफ हाजिर भइसकेछन् ।

कहिलेकाहिँ त लाग्छ म जस्तै अर्को साथी पनि लेट आएको भए मेनेजरको क्याविनमा गएर आफु ढिलो हुनुको कारण भन्नलाई अलि आँट त आउँथ्यो होला । म बाहेक सवैजना केटा कर्मचारी मात्र छन् । घरमा केटाहरुले के नै पो काम गर्नुपर्छ र ! ठस्ठसी कन्दै सात वजे ओछ्यानबाट उठे भने पनि समयमै अफिस छिर्न भ्याउँछन् । हामीले जस्तो विहान पाँचै बजे उठ, लुगा धोऊ, खाना पकाऊ, कोठा सफा गर, भाँडा माझ… उफ्…. गाह्रो छ गाह्रो । त्यसमाथि पनि बैंकमा काम गर्ने मजस्ता महिलालाई त झनै गाह्रो ।

रास्ट्र बैंकले कोरोनाको महामारीमा पनि बैंकिङ क्षेत्रलाई अत्यावश्यक सेवा भन्दै खुला राख्न लगाएको छ । भन्न त पच्चिस प्रतिसत कर्मचारी राखेर सेवा दिनु भन्या छ तर आफ्नो शाखामा त जम्मा चार जना कर्मचारी छौं, शाखा पनि सानो छ । पच्चिस प्रतिसत भनेको एक जना हो, के एक जनाले बैंक चल्छ होला र ? नगद डिपार्टमेन्ट खोल्नै पर्यो, सि.एस.डि. खोल्नै पर्यो, जिम्मेवार मान्छेका हैसियतले मेनेजर आउनु परिनै हाल्यो, क्लोजिङको वेला छ लोन शाखा पनि खोल्नै पर्यो । नाम मात्रको पच्चिस प्रतिशत हाम्रोमा त सवै जना आउँछौं ।

भिडभाड नगर्नु भनेर सरकारले जतिसुकै अपिले गरेपनि कस्टमर पनि के भएका ? झन् भिड पो गर्छन् बा…। मोवाइल बैंकिङ चलाउन आउँदैन रे ! इन्टरनेट बैंकिङ नचलाउने रे ! ए.टि.एम. बाट पैसा निकाल्दा पैसा काटिन्छ रे !… हे प्रभु, दिनरात फेसबुक र युट्यूवमा नानाथरी हेर्न सक्नेले अनलाइन र डिजिटल बैकिङ भन्ने कुरा त सिके पनि हुने नि ! म त झन् फ्रन्ट डेक्समा काम गर्ने र सि.एस.डि. को स्टाफ भएपछि एकाउन्ट ओपनिङ फर्म मरीमरी भरिदियो अनि सहि गर्दा बिगार्लान् भनेर कस्टमरकै हात समातेर यहाँ सहि गर्नु, यहाँ ल्याप्चे लगाउनु भन्नु परिनै हाल्छ । अब त्यो कोरोना सर्छ भनेर डराउनु पो कसरी !

उफ्, साढे ११ बजेछ । अहिले क्लियरिङ १२ वजे सम्म मात्र हो । काम कत्ति छ…, इ.सि.सि. मा चेक हाल्नै छ, हिजो नै एकाउन्ट क्लोजको लागि दिएको कस्टमर कहिले बोलाउलान् भनेर मलाई नै हेर्दै बसिराख्या छ, त्यो रातो साडी लाउने दिदीको दुई वर्षको स्टेटमेन्ट निकाल्नु छ, नयाँ खाता खोल्ने भनेर दुईजना लाइनमा उभिराख्या छन्, मेरो ए.टि.एम. बाट पैसा कट्यो तर मेसिनबाट पैसा निस्केन भनेर अर्को कस्टमर गुनासो गर्दैछ, साँच्चि… ड्राप्ट बनाउन दिएको कस्टमरलाई बाह्र बजे वोलाएको आउने वेला भो… उफ्… यही बेला फेरी हेड अफिस बाट रिपोर्ट मागेको माग्यै छ । कसरी भ्याउनु होला !

व्याइफ्रेन्डले फोन गरेका गर्यै छन् धन्न साइलेन्टमा राख्या छु । के गर्नु, भरे व्याइफे्रन्ड रिसाउने भए । हुन त व्याइफ्रेन्ड आफ्नो हो रिसाए पनि फकाउँला । तर यी कस्टमर रिसाए भने त फेरी सेवा राम्रो भएन भनेर अर्को बैंकतिर पो जान्छन् त, बैंकहरुको कमी छैन क्यारे ! नभए पनि सिधै मेनेजरकोमा पोल लगाउन जान्छन् ।

हाम्रो त मेनेजर पनि साह्रै कडा छन् । यसरी काम गरेको भएन, अलि फास्ट गर्नुपर्यो अनि कामप्रति डेडिकेट हुनुपर्यो भनेर जहिल्यै मिटिङमा कचकच गरिरहन्छन् । माथिवाट कत्रो प्रेशर छ तिमिहरुलाई के थाहा भन्दै स्टाफ मिटिङका वेला गालि गरिरहन्छन् । नाम मात्रको स्टाफ मिटिङ हो, बोल्ने जति उनै मेनेजरले मात्र हो । हामी त मात्र सुनिरहने अनि ‘यस सर’ भनेर टाउको हल्लाइरहने ।

ज्यादै प्रेशर भयो, एक जना कर्मचारी अझ थप्नुपर्यो भनेर कुरा राख्दा पनि मेनेजरले फिटिक्कै सुन्ने हैनन् । उल्टै यत्तिका स्टाफलाई काम पुगेको छैन पो भन्छन् त । बाफ् रे बाफ्… के गर्नु, म त जागिर भनेको दश–पाँच पो ठान्थेँ । मालपोत अनि भुमीसुधारमा जस्तो आनन्द होला भन्ठानेको त बैंकमा आएपछि मेरो जागिरकै परिभाषामा परिवर्तन भो । अफिस पुग्ने ९ः३० भित्रै तर फर्कने चाहिँ टुंगो नहुने, प्रायः सात बजिहाल्छ । नास्ता त भ्याएका दिन मात्र खाइन्छ, पिशाब त च्याप्नु पर्छ कहिलेकाहिँ ।

बैंकिङ क्षेत्र पनि सानामा पढेको बोर्डिङ्ग स्कूलजस्तै पो छ त । त्यही वेलाको जस्तो अत्यन्तै कडा अनुशासन, त्यहाँ मास्टर कडा हुन्थे भने यहाँ चैं मेनेजर कडा । झन् त्यसमाथि पनि कहिलेकाहिँ विदाका दिन पनि अफिस आएर काम गर्नुपर्ने । सोच्दा पनि के लाग्न थाल्या छ भने उमेरमा त यसरी खटिएर काम गर्न सकिएला… तर के, उमेर बढ्दै गएपछि यहि स्पिडमा काम गर्न सकिरहिन्छ होला त ? यत्तिको बैंकिङ प्रेशर लिएर काम गर्न सकिएन भने त के हुने होला मेरो बैंकिङ क्षेत्र ?

उफ्… यस्ता कुराहरु सम्झँदा त टाउको नै भारी भएर पो आयो… चिट्चिट् पसिना निस्किन थाल्यो । एस्सो पसिना पुछ्न मात्र के लाग्या थिएँ भित्रबाट मेनेजर सरले वोलाउनुभएको सुनेँ । ला… के गल्ती गरेँ कुन्नि ? त्यसै त काम जति गरे पनि मेनेजर सरको चित्त बुझाउन कहिल्यै सकिनँ । अब आज चैं के कुरामा गालि खाइने होला भन्ने सोच्दै मेनेजरको क्याविनमा डराईडराई ठिङ्ग उभिएँ । ‘लौ बस’ भनी सरले कुर्सी तिर देखाउनुभयो । ला… आज खुब गालि खाइने भइयो भन्ने सोचेर विस्तारै बसेँ । सरले भन्नु भयो – अँ… मैले तिम्रो पर्फमेन्स एप्राइजल हेरिओरी नम्मर पनि दिइसकेको छु । लेऊ तिमी पनि हेर ।

म स्योर थिएँ, म र मेरो काम गराई प्रति सर सधैं नै नेगेटिभ छन् । यसपाली हदै लेखिदिए भने ‘गुड’ सम्म हो, त्योभन्दा वढि त आस नै थिएन । यति सोच्दै बिस्तारै एप्राइजलको पाना पल्टाउँदै गएँ । तर जब एप्राइजलको अन्तिममा ‘एक्सलेन्ट’ भन्ने शब्द देखेँ तब मन स्तब्ध भएर आयो । एप्राइजलमा ‘एक्सलेन्ट’ लेखिदिएर उनले मेरो प्रमोशनका लागि रिकोमेन्ड गरेका थिए ।

म सोच्न थालेँ कि मैले कति नेगेटिभ सोचेँछु सरलाई । ‘स्टाफको कुरै नबुझ्ने क्या खडुस मेनेजर’ भन्ने सम्म पनि सोचेँ । तर आज सरले मेरो कामको मुल्याङ्कन गर्दै प्रमोशनका लागि रिकोमेन्ड गरेको देखेर मन खुसीले गद्गद् त भयो नै आँखा समेत रसाएर आयो । मलाई ग्लानी महसुस भएपछि सरतिर हेर्दै ‘थ्याङ्क यू सर’ भन्न मात्र के लागेको थिएँ सरले उल्टै रिसाएजस्तो गरी ‘यस्तो काम गराइले भएन है… अझ डेडिकेटेड हुनुपर्यो… यहाँ मलाई कति प्रेशर छ… भन्दै कम्प्यूटर तिर आँखा दौडाउन थाले ।

तर आज पहिलो पल्ट सरका यी गालीले मलाई एकरत्ति पनि बिझाएन बरु म त उल्टै मुसुमुसु हाँस्न पो थालेँछु । वास्तवमा उहाँले भनेजस्तै म डेडिकेट हुनैपर्छ, यत्तिले मलाई थकान महसुस हुन हुँदैन बरु म त अझ धेरै काम पो गर्न सक्छु । अनि… सरले जस्तै गरी मैले पनि अझ बैंकिङ प्रेशर खेप्न तयार हुनैपर्छ । किनकी… बैंकिङ प्रेशर नै मेरो प्रगति र भविश्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.