‘एक घर एक धारा’ अभियान सञ्चालन गरी प्रत्येक वडामा खानेपानी पुर्याउन सफल भयौं – अध्यक्ष भोटे

  २०७८ वैशाख २० गते २०:१५     विकासन्युज

नेपालको प्रदेश १ अन्तर्गत संखुवासभा जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो भोटखोला गाउँपालिका । ५ ओटा वडा रहेको यस गाउँपालिकामा ३ हजार ५ सय ७३ जना मानिसको बसोबास रहेको पाइन्छ । सदरमुकाम खाँदबारी नगरपालिका देखि करिब ३० कोष टाढा उत्तरी भेग (चिनको सिमाना) मा रहेको भोटखोला गाउँपालिका हो ।

गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

कृषि विकासका लागि पालिकाले के–कसरी काम गर्दै आएको छ ?

हामीले कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । पशुपालन तर्फ पनि हामीले जोड दिएका छौं । पशु सुधार कार्यक्रम पनि सञ्चालन गरेका छौं । कृषि विकासको लागि भनेर केही बजेट पनि छुट्याएका छौं । हामीले पालिकामा पकेट क्षेत्रहरू छुट्याएका छौं । पालिकाको कृषि क्षेत्रमा केही समस्याहरु रहेका छन् । पलिकाको सबै ठाउँमा सडकको पहुँच नपुगेको कारण बजार व्यवस्थापन हुन नसकेको कारण समस्या भएका हो ।

बेमौसमी कृषि खेति गर्ने कृषकहरूलाई प्लास्टिक टनेलहरू वितरण गर्दै आएका छौं । व्यवसायिक रूपमा अल्लो खेति पालिकामा धेरै हुने गरेको छ । उन्नत जातका बाख्रा, कुखुरा आदि पालन गर्ने कृषकहरुलाई बजारको व्यवस्था नभएको कारण कृषि विकासमा समस्या भएको छ । यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । हामीले कृषि विकासको लागि भावी योजनाहरू पनि तयार परेका छौं । हाम्रो पालिकामा विभिन्न अनुदानको कार्यक्रमहरू पनि रहेको छ । वडा नं.३, ४ र ५ मा अलैँची खेति हुने गरेको छ ।

कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि पालिकाले के–कस्तो भूमिका खेल्दै छ ?

हालै हाम्रो पालिकाका नागरिकहरू कोरोनाका कारण त्रसित हुनुपर्ने अवस्था छैन । पालिकामा धेरै बाक्लो बस्ती पनि रहेको छैन । कोरोनाबाट नागरिकहरू सचेत नै रहेका छन् । पालिकामा बाक्लो बस्ती नभएको कारण यता कोरोनाको प्रभाव खासै परेको छैन । नागरिकहरुलाई मास्कको अनिवार्य प्रयोग गर्नु भनेका छौं । कोरोनाको समयमा बाहिरी जिल्लाबाट आउनेहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । चिनको सिमाना किमाथाङ्का लगायतका पालिकाको सिमानामा हेल्थ डेक्सको पनि स्थापना गरेका छौं । नागरिकहरूलाई कोरोना संक्रमण भइहाल्यो भने पालिकाको सदरमुकाम खाँदबारीमा लग्ने व्यवस्था मिलाएका छौं ।

बाहिरी ठाउँबाट मानिसहरू पालिका भित्र कमै मात्र आउने गर्छन् । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले विभिन्न सूचनाहरू पनि प्रकाशन गरेका छौं । संक्रमण दर पोहोरको भन्दा हाल भयावह भइरहेको छ । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरू पनि सामान्य रूपमा जीवनयापन गरिरहेका छन् तर पनि नागरिकहरूलाई कोरोना देखि सचेत रहन आग्रह गरेका छौं ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ नि ?

हामीले शैक्षिक क्षेत्रको विकासको लागि धेरै काम गर्दै आएका छौं । पालिकामा जम्मा २३ ओटा आधारभूत र २ ओटा माध्यमिक विद्यालयहरू रहेका छन् । हाल कोभिडको कारणले पालिकाका शैक्षिक क्षेत्रहरू सबै बन्द भएका छन् । कोरोनाको कारणले शैक्षिक क्षेत्रलाई असर पुर्याए पनि शैक्षिक गुणस्तरलाई हामीले विशेष जोड दिइरहेका छौं । गाउँपालिकामा बाल विकास केन्द्रलाई पनि विशेष जोड दिएका छौं । पालिकामा कोरोनाको खासै प्रभाव नपरेको कारण परीक्षाहरू सञ्चालन गर्ने हेकि भनेर हामी छलफल पनि गरिरहेका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । गाउँपालिकामा केही विद्यालयका भवनहरू निर्माण भएका छन् भने गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिइरहेका छौं । गाउँपालिकामा शैक्षिक क्षेत्रलाई पनि प्राथमिकतामा नै राखेका छौं । हामीले शिक्षा क्षेत्रमा आएका समस्याहरू समाधान गरेर पनि अगाडि बढिरहेका छौं । प्राविधिक शिक्षाका लागि हामीले विशेषे जोड दिइरहेका छौं । हामीले विषयगत शिक्षकहरूलाई पनि तालिमको व्यवस्था मिलाएका छौं ।

तपाईंहरु निर्वाचित भएर आएको करिब ४ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् होला ?

हामीले घोषणापत्रमा पालिकाको सबै ठाउँमा बिजुली पुर्याउँछौं भनेका थियौं । पलिकाको १४ घरमा बिजुली पुर्याउन बाँकी रहेको छ त्यी घरमा पनि बिजुली पुर्याउनको लागि बजेट छुट्याएका छौं । प्राय सबै वडामा हामी बिजुली पुर्याउन सफल भएका छौं । ‘एक घर एक धारा’ अभियान सञ्चालन गरेर पलिकाको सबै वडामा खानेपानी पुर्याउन पनि सफल भएका छौं । कृषि सडको निर्माण गर्ने भनेको थियौं तर यो काम हुन सिकिरहेको छैन । कतिपय नागरिकहरूले जग्गा नदिने धेरै विवाद आउने गरेकाले कृषि सडको विकास हुन सकिरहेको छैन । स्वास्थ्य क्षेत्रको विकासको लागि पनि हामीले जोड दिइहेका छौं । करिव करिव घोषणापत्रमा लेखेको कुरा ८० प्रतिशत काम सकिसकेको छु । अबको कार्यकालमा बाँकी कामहरू पनि सक्ने नै छु । पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास हुँदैन । हामीले गर्छौं भनेको कुरा बाहेक अन्य विभिन्न कुराहरू पनि महत्वपुर्ण हुन सक्छन् ।

तपाईंहरुको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हो हाम्रो पालिका पर्यटकीय स्थलको रूपमा चर्चित छ । पर्यटन विकासको लागि पर्यटन पूर्वाधार तयार पारेका छौं । हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पर्यटन विकासको लागि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपूर्ण मानिन्छ । पालिकामा रहेको मठमन्दिरको संरक्षण गरी मन्दिरको निर्माण गरिरहेका छौं ।

गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

युवाहरू प्रति लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६१ लाख रुपैयाँ बजेट रहेको छ । प्रत्येक वडामा यो कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गरिबिका रेखामुनी रहेका र बेरोजगारी भएका युवाहरू मात्र छनोट भएका छन् । रोजगारीको कुरा पनि बजेटसँग नै जोडिँदो रहेछ । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई सामान्य अनुदान दिने व्यवस्था पनि मिलाएका छौं ।

युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छांै । कृषिसँग जोडिएका युवाहरू बजार नपाएर समस्या छ । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । कतिपय युवाहरू भने वैदेशिक रोजगारीमा गएका छन् ।

तपाईंको कार्यकालमा भएको सबैभन्दा ठुलो उपलब्धी केलाई ठान्नुहुन्छ ?

पालिकामा विकास भएअनुसार उपलब्धी पनि राम्रो नै भएको छ । गाउँपालिकाको प्रत्येक घरमा बिजुली पुर्याउन पनि सफल भएका छौं । ‘एक घर एक धार’ कार्यक्रम सञ्चालन गरी पालिकाको सबै वडामा खानेपानी पुर्याउन सफल भएका छौं । हामीले स्वास्थ्य शिक्षा क्षेत्रको विकासको लागि पनि काम गरेका छौं ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ त ?

अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । पालिकाका विकास निर्माणको कामहरू योजना बनाएर नै गरिरहेका छौं । सडकको अवस्था काम भएको कारण पालिकामा कृषि सडकको विकास गर्ने मेरो योजना रहेको छ । पर्यटन, कृषि विकासको लागि विशेष जोड दिने हो । जनताको आर्थिक स्थिति सुधार गर्नको लागि कृषि र पशुको क्षेत्रको विकास गर्नको लागि विशेष जोड दिएका छौं ।

यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । जनताको चाहना र आवश्यकता पुरा गर्नेको लागि हामी दिन रात खटिरहेका छौं । हामीले पालिका स्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दीर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं ।

अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

कोरोनाको बाट सबै सचेत हौं भन्न चाहन्छु । नागरिकहरू बाट सकारात्मक सुझाव र सकारात्मक सेचको विकासमा लागि परौं भन्न पनि चाहन्छु । नागरिकको आवश्यकता पुरा गर्नमात्र नभई समग्र पालिकाकै विकास गर्नुपर्छ भन्ने ठानेर त्यसै अनुसार हामीले कम्मर कसेका छौं । यो भूगोलको परिचालन गर्ने भनेको नै यहीँका नागरिकहरूले हो । हामीमा पाइएको कमीकमजोरीको बारेमा पनि सुझाव दिनुहोस् भन्न चाहन्छु । सबै जनाले हातेमालो गरेर पालिकाको आर्थिक तथा सामाजिक रूपान्तरण गर्नतर्फ लागौं पनि भन्न चाहन्छु । स्थानीय स्रोत तथा साधनको परिचालन गर्दै विकास निर्माणको कामलाई अगाडि बढाउनु पर्छ भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.