आईपीओ ल्याउँदै गरेको मध्य भोटेकोशीले १०२ मेवाको आयोजना निर्माण गर्दै, वार्षिक २ अर्ब ९० करोड आम्दानी

  २०७८ वैशाख २० गते ११:१२     विकासन्युज

काठमाडाैं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले एक अर्ब ५० कराेड रूपैयाँ बराबरकाे साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि ६० कराेड रूपैयाँ र सर्वसाधारणलाई ९० कराेड रूपैयाँकाे गरी साे मात्राकाे सेयर जारी गर्न लागेकाे हाे ।

जसमध्ये कम्पनीले पहिला आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि ६० कराेड रूपैयाँ बराबरकाे सेयर जारी गर्ने छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि जारी पुँजी ६ अर्बको १० प्रतिशत अर्थात ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेकाे हाे ।

जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण सेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ७० प्रतिशतले हुन आउने ४२ कराेड रूपैयाँ बराबरकाे ४२ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेकाे हो ।

द्वितीय चरणअन्तर्गत प्रथम सह-चरणमा सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित स्थानीय बासिन्दा तथा सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दाले बैशाख २३ गतेदेखि उक्त सेयरमा आवेदन दिन सक्ने छन् । उनीहरूले न्यूनतम ५० कित्ता तथा अधिकतम ४०० कित्तासम्मको लागि दरखास्त दिन पाउने व्यवस्था रहेकाे छ । साथै, उक्त सेयर निष्काशन बन्द छिटाेमा जेठ ४ गते र ढिलाेमा जेठ २० गते हुने कम्पनीले जनाएकाे छ ।

इच्छुकले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था रहेको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले सेयर निष्काशन तथा बिक्री वितरण गर्न ग्लोबल आईएमई क्यापिललाई निष्काशन तथा बिक्री प्रबन्धक र प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिबिआएल क्यापिटललाई सह-निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ ।

यसैगरी, स्थानीय बासिन्दालाई सेयर जारी गरी बाँडफाँड गरेपश्चात कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने छ । कम्पनीले जारी पुँजीकाे १५ प्रतिशत अर्थात ९० करोड रूपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयरहरु सर्वसाधारणमा निष्काशन गर्ने छ । जसमध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने सेयरको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई र ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने सेयरको ५ प्रतिशत सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । र, बाँकी ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएकाे छ ।

यस द्वितीय चरणमा निष्काशन गर्न लागिएको साधारण सेयरको लागि कम्पनीले क्रेडिट रेटिङ्गबाट ‘केयर एनपी बीबी (इज) डबल बी (इस्युअर)’ प्रमाणपत्र पाएकाे छ । जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने जनाउँदछ ।

यस्ताे छ कम्पनी

नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनी लि.को मुख्य प्रबर्धकत्वसहित स्थानीय ४ कम्पनीहरु (सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा. लि., सिन्धु भोटेकोशी हाइड्रोपावर लि.) को १/१ प्रतिशत संस्थापक सेयर लगानीमा स्थापित भएकाे कम्पनी हाे, मध्य भोटेकोशी जलविद्युत कम्पनी । जसले हाल सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीको अधिकृत पुँजी ६ अर्ब २१ करोड रूपैयाँ रहेको छ । त्यस्तै, जारी पुँजी ६ अर्ब रूपैयाँ र चुक्ता पुँजी ४ अर्ब ५० करोड रूपैयाँ रहेको छ । स्थानिय बासिन्दा तथा सर्वसाधारणका निमित्त छुट्टाइएको १ अर्ब ५० करोड रूपैयाँ बराबरको साधारण सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात् कम्पनीको चुक्ता पुँजी ६ अर्ब रूपैयाँ पुग्ने छ ।

कम्पनीकाे वित्तीय विवरण

कम्पनीको प्रक्षेपित वित्तीय विवरण अनुसार निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत १६ कराेड ६४ लाख रूपैयाँ रहेको छ भने साधारण लगानी फिर्ता हुने अवधि(पे ब्याक पिरियड) ७.७० वर्ष रहेको छ । यस आयोजनाको इजाजतपत्र वहाल रहने अवधि २०७० मंसिर १८ गतेदेखि २१०५ मंसिर १७ गतेसम्म जम्मा ३५ वर्ष रहेकोमा हाल २७ वर्ष ७ महिना बाँकी रहेको छ ।

त्यस्तै, निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजनाको अद्यावधिक लागत अनुमान निर्माण अवधिको ब्याज बाहेक १५ अर्ब ३ करोड रुपैयाँ र निर्माण अवधिको ब्याजसहित १६ अर्ब ९७ करोड रूपैयाँ रहेको छ ।

आयोजनाको अद्यावधिक लागत अनुमानको रकम १५ अर्ब ०३ करोड रूपैयाँ आधारमा २०७७ चैत मसान्तसम्म निर्माण अवधिको ब्याजबाहेक ८ अर्ब २६ करोड रूपैयाँ खर्च भएको छ । सो अनुसार आयोजनाको वित्तीय प्रगति प्रतिशत ५४.९६ प्रतिशत रहेको छ भने भौतिक प्रगति समग्रमा ७० प्रतिशत रहेको छ ।

आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रूपैयाँमा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ ।

प्रतिसेयर नेटवर्थ १३७ र प्रतिसेयर आम्दानी २१ रूपैयाँ पुग्ने प्रक्षेपण

आर्थिक वर्ष २०७६/७७ मा प्रतिसेयर नेटवर्थ ९७.३९ रूपैयाँ र प्रतिसेयर आम्दानी १.२२ रूपैयाँ ऋणात्मक रहेकाे थियाे । जुन चालु आर्थिक वर्ष २०७७/७८ मा वृद्धि भई प्रतिसेयर नेटवर्थ १००.७९ रुपैयाँ र प्रतिसेयर आम्दानी ५ रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण रहेको छ । त्यस्तै, आव २०७८/७९ र आव २०७९/८० मा कम्पनीको प्रतिसेयर नेटवर्थ बढेर क्रमशः ११५.८६ रुपैयाँ र १३७.२२ रुपैयाँ पुग्ने छ । त्यसैगरी प्रतिसेयर आम्दानी पनि बढेर आव २०७८/७९मा १५.०७ रुपैयाँ र आव २०७९/८० मा २१.३६ रुपैयाँ पुग्ने कम्पनीले प्रक्षेपण रहेको छ ।

मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण कार्यको लागि चिलिमे जलविद्युत कम्पनीले पुँजी जुटाउन प्रारम्भिक रुपमा लागत अनुमान गरेकाे थियाे । कम्पनीले १२ अर्ब २८ करोड रूपैयाँ बराबरकाे लागत अनुमान तयार गरेको थियाे । जसको आधा रकम (अर्थात छ अर्ब १४ करोड रूपैयाँ) ऋण लिने दिनेगरी यस कम्पनी, चिलिमे जलविद्युत कम्पनी लि. र कर्मचारी सञ्चयकोषबीच २०६८ मंसिर २२ गते त्रिपक्षीय ऋण सम्झाैता भएको थियो ।

आयोजना निर्माणको क्रममा बिभिन्न प्राकृतिक प्रकोप लगायतका कारणहरुले आयोजना निर्माण अवधि थप गरिए अनुरुप उक्त ऋण सम्झाैताको अवधि पनि थप गर्न कर्मचारी सञ्चयकोष, चिलिमे जलविद्युत कम्पनी र मध्य भोटेकोशी जलविद्युत कम्पनीबीच दीर्घकालिन कर्जा लिने सम्झाैता गरेकाे थियाे । २०६८ मंसिर २२ गते भएकाे उक्त त्रिपक्षीय ऋण सम्झाैतामा संशोधन गर्न २०७७ साउन १४ मा भएको पुरक ऋण सम्झाैता बमोजिम साविकको ऋण रकमलाई दीर्घकालिन कर्जा-१ नामांकन गरिएकाे थियाे । र, आयोजनाको संशोधित लागतअनुसार आवश्यक पर्ने थप कर्जा रकम २ अर्ब ७४ करोड रूपैयाँलाई दिर्घकालिन कर्जा-२ को सिमा कायम गरी कुल ८ अर्ब ८८ करोड रूपैयाँ बराबरको दीर्घकालिन कर्जाको व्यवस्थाको लागि ऋण सम्झौता सम्पन्न भएको छ ।

उक्त ऋण सम्झौता बमोजिम कोषबाट प्रवाह हुने दीर्घकालीन कर्जाको साँवा, ब्याज, हर्जाना, शुल्क र अन्य खर्चसमेतको सम्पूर्ण रकम तिर्ने अवधि अधिकतम १० वर्षको निर्माण अवधिसहित अधिकतम २० वर्षको कायम भएको थियाे । र, कर्जाको अवधि कर्जा प्रवाह समेत शुरु भएको मितिबाट गणना हुने व्यवस्था गरिएको छ । निर्माण अवधि पश्चात कर्जाको प्रथम किस्ता प्रारम्भ भएको मितिबाट दीर्घकालीन कर्जा-१ को हकमा १० वर्ष र दीर्घकालीन कर्जा-२ को हकमा अधिकतम ५ वर्ष कायम भएको छ । यसरी हाल आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपुँजी र ऋण पुँजीको अनुपात ४१:५९ रहेको छ ।

कसकाे सेयर कति ?

कम्पनीको जारी पुँजीको ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक सेयरधनीकाे रहेकाे छ भने ४९ प्रतिशत सर्वसाधारण सेयरधनी समुहका लागि छुट्याइएको छ । संस्थापक सेयरधनीमध्ये सबैभन्दा बढी चिलिमे जलविद्युत कम्पनीकाे रहेकाे छ । कम्पनीकाे मात्रै ३७ प्रतिशत सेयर स्वामित्व रहेकाे छ । त्यस्तै, संस्थापक सेयरधनी नेपाल विद्युत प्राधिकरणकाे १० प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीकाे १ प्रतिशत, नेपाल अरनिको हाइड्रोपावर कम्पनीकाे १ प्रतिशत, सिन्धु इन्भेष्टमेण्ट कम्पनीकाे १ प्रतिशत र सिन्धु भोटेकोशी हाइड्रोपावरकाे १ प्रतिशत रहेकाे छ ।

त्यसैगरी सर्वसाधारण सेयरधनी समूहतर्फ सबैभन्दा बढी कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीलाई १९.५ प्रतिशत सेयर छुट्टाइएकाे छ । त्यस्तै, संस्थापक संगठित संस्थाका कर्मचारीलाई ३.५ प्रतिशत, ऋणदाता संस्थाका कर्मचारीलाई १ प्रतिशत, सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई १० प्रतिशत सेयर स्वामित्व छुट्याइएको कम्पनीले जनाएकाे छ ।

कम्पनीले आयोजना निर्माणको लागि आवश्यक पुँजी व्यवस्थापनको निमित्त प्रबन्धपत्रमा व्यवस्था भएनुसार संस्थापक सेयरधनी संस्थालाई कुल जारी सेयर पुँजीबाट छुट्टाइएको ५१ प्रतिशतले हुन आउने ३ करोड ६ लाख कित्ता सेयर बापत ३ अर्ब ६ करोड रूपैयाँ आ.ब. २०७४।७५ सम्ममा शतप्रतिशत असुल गरेकाे थियाे ।

त्यस्तै, साधारण सेयर तर्फ छुट्टाइएको ४९ प्रतिशतमध्ये प्रथम चरणमा कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारीहरु, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष)का कर्मचारीहरूको लागि कुल जारी पुँजीको २४ प्रतिशतले हुन आउने १ करोड ४४ लाख कित्ता सेयर आ.व. २०७५।७६ मा निष्काशन गरी उक्त सेयर बापत १ अर्ब ४४ करोड रूपैयाँ संकलन भइसकेको छ । उक्त प्रथम चरणको सेयर निष्काशनबाट १ लाख ४८ हजार ८२९ जना साधारण सेयरधनी कायम भएका कम्पनीले जनाएकाे छ ।

सेयरको लागि आवेदन दिँदा के-के पेश गर्नुपर्छ ?

सिन्धुपाल्चोक जिल्लाका स्थानीयहरुले आयोजना प्रभावित क्षेत्रको बासिन्दा भएको प्रमाणित हुने नागरिकता प्रमाणपत्रको प्रतिलिपि (प्रतिलिपिमा स्वयंले दस्तखत गरेको हुनुपर्ने) छ । र, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्र तथा संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बुझाउनु पर्ने कम्पनीले जनाएकाे छ ।

अन्य जिल्लाबाट सिन्धुपाल्चोक जिल्लामा विवाह सम्बन्ध कायम भई आउने महिलाको हकमा निजको नागरिकता प्रमाणपत्र र विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाह दर्ता प्रमाणपत्रमा निजको पति सिन्धुपाल्चोक जिल्लाको बासिन्दा रहेको व्यहोरा खुल्नुपर्ने वा निजको पतिले सिन्धुपाल्चोक जिल्लाबाट लिएको नागरिकता नम्बर उल्लेख भएको हुनुपर्ने) छ ।

अन्य जिल्लाबाट सिन्धुपाल्चोक जिल्लामा बसाई सराई गरी आउनेको हकमा आह्वानपत्र प्रकाशन (आह्वानपत्र प्रकाशन भएको मिति बैशाख १३ गते) हुनुभन्दा अगावै बसाई सराई गरी आएको प्रमाण खुल्ने स्थानीय तहले लेखेको पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि बुझाउनु पर्छ ।

अन्त्यमा, निर्माणाधीन आयोजना हालको अनुमानित लागत र समयमै सम्पन्न गर्न कम्पनी प्रतिबद्ध रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटीले जानकारी गराए । आयोजनाको सफल कार्यान्वयनबाट स्थानीय सहभागितामा जलविद्युत आयोजनाको निर्माण सहज हुने विश्वासका साथ नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार लगायतका सरकारी निकाय तथा संगठित संस्था, निजी क्षेत्र, सर्वसाधारण तथा कर्मचारीको प्रत्यक्ष सहभागितामा नेपालको जलविद्युत क्षेत्रको विकासका लागि सार्वजनिक-निजी-जनता साझेदारीको अवधारणा एउटा कोशेढुंगा साबित हुने कम्पनीकाे अपेक्षा रहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.