सेयर कारोबारमा बैंकहरुः नबिलले कमायो १ अर्ब बढी, एनआईसीसहित ६ बैंकको घट्यो, कसले कति कमाए ?

  २०७८ वैशाख १६ गते १३:४३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुले सेयर कारोबारबाट उल्लेख्य आम्दानी गरेका छन् । बैंकहरुले सार्वजिनक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणका अनुसार वाणिज्य बैंकहरुले सेयर कारोबारबाट उल्लेख्य आम्दानी गरेको देखिएको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले सेयर कारोबारबाटै ६ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा करिब दाेब्बर बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्म वाणिज्य बैंकहरुले सेयर कारोबारबाट ३ अर्ब २९ करोड रुपैयाँ आम्दानी गरेका थिए । चालु आर्थिक वर्षको त्रैस्रो त्रैमासमा अधिकांश बैंकहरुको नाफा बढेपनि कोर बैंकिङबाट हुने आम्दानी भने घटेको देखिएको छ । बैंकहरुले कोर बैंकिङ व्यवसाय घटेकाे बेला सेयर कारोबारमा बढी ध्यान दिएको तथ्यांकले देखाउँछ । तेस्रो त्रैमासमा बैंकहरुले सेयर कारोबारमा बढी प्रतिस्पर्धा गरेको देखिन्छ ।

वाणिज्य बैंकहरुले तेस्रो त्रैमाससम्म ५० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा गर्दा त्यसको १३.५९ प्रतिशत अर्थात ६ अर्ब ९० करोड सेयरबाट आम्दानी गरेका हुन् ।

सेयर कारोबारबाट सबैभन्दा बढी आम्दानी गर्ने नबिल बैंक देखिएको छ । नबिल बैंकले चालु आवको ९ महिनासम्म सेयर कारोबारबाट १ अर्ब ५ करोड रुपैयाँ आम्दानी गरेको देखिएको छ । गत वर्षको सोही अवधिमा नबिलले ३५ करोड १३ लाख रुपैयाँ सेयर कारोबारबाट आम्दानी गरेको थियो ।

नबिलपछि सेयर कारोबारबाट सबैभन्दा बढी आम्दानी गर्ने बैंकको सूचीमा नेपाल इन्भेष्टमेन्ट बैंक र त्यसपछि सिद्धार्थ बैंक देखिएको छ । ९ महिनाको अवधिमा इन्भेष्टमेन्ट बैंक ५९ करोड ९० लाख रुपैयाँ सेयरबाट आम्दानी गरेको छ भने सिद्धार्थ बैंकले ५४ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

अधिकांश बैंकहरुले चालु आर्थिक वर्षकाे ९ महिनाकाे अवधिमा सेयर काराेबारबाट उल्लेख्य कमाउँदा एनआइसी एशिया , राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, सानिमा र नेपाल एसबिआई बैंकले गुमाएका छन् । अर्थात गत आर्थिक वर्षको तुलनामा कम आम्दानी गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.