भण्डारणमा नअटेको पेट्रोलियम पदार्थ ट्यांकरमै राखियो, खाद्यान्न ४ महिनाको लागि स्टक

  २०७८ वैशाख १३ गते १३:२१     विकासन्युज

काठमाडौं । पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना भाइरस संक्रमण बृद्धि भएसगैँ नेपाल सरकारले आपूर्ति व्यवस्थालाई सहज बनाउन सरोकारवाला निकायसँग छलफल गरेको छ ।

भारतबाट आयात हुने दैनिक उपभोग्य वस्तुमा समस्या हुन सक्ने भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्बन्धित निकायलाई मौज्दात राख्न निर्देशन दिएको छ ।

सम्बन्धित निकायलाई निर्देशन दिएको मन्त्रालयले आईतबार आपूर्तिलाई सहज र वितरण प्रणालीलाई व्यवस्थित गर्न भन्दै निजी क्षेत्रसँग छलफल गरेको हो ।

पेट्रोलियम पदार्थ मौज्दात १० दिनको लागि

नेपाल आयल निगमको थानकोटमा रहेको तेल भण्डारण डिपोमा ८० प्रतिशत पेट्रोलियम पदार्थ मौज्दात रहेको पाइएको छ । डिपो कार्यालयको तथ्यांक अनुसार हाल पेट्रोल, डिजेल र मट्टीटेलको भण्डारमा ८० प्रतिशतभन्दा बढी छ ।

थानकोट डिपोका प्रमुख अभिषेक ठाकुरका अनुसार पेट्रोल, डिजेल र मट्टीटेलको भण्डारण भरिएको छ । क्षमता हुदाँहुदै पनि भरी मात्रामा तेल राख्न नमिल्ने कारण ट्याङकरमै तेल राखिएको छ । सुरक्षाको दृष्टिकोणलाई मध्यनगर गर्दै भरी पेट्रोलियम पदार्थको भण्डारण नगरिएको उनी बताउँछन् ।

उनका अनुसार ५ हजार ३ सय १० किलोलिटर क्षमता रहेको पेट्रोल भण्डारणमा हाल ४ हजार ७ सय किलोेलिटर पेट्रोल राखिएको छ । त्यस्तै, ८ हजार ४ सय किलो लिटर क्षमता रहेको डिजेलको भण्डारमा हाल ७ हजार ५ सय किलोलिटर रहेको छ । त्यस्तै ७ सय ६० किलो लिटर क्षमता रहेको मट्टीतेलमा हाल ६ सय किलोलिटर राखिएको छ ।

क्षमताभन्दा कम मात्रामा पेट्रोलियम पदार्थको भण्डारण गरिएपनि धेरै लोड भएका ट्याङकरहरु बाटोमा नै रहेको उनी बताउँछन् ।

उनका अनुसार थानकोट डिपोमा राखिएको पेट्रोलियम पदार्थले हालको बजार माग अनुसार १० दिनसम्म धान्ने अनुमान गरिएको छ ।

‘हाल आपूर्तिमा समस्या छैन, पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात भइरहेको छ । यदि कोरोनाका कारण भारतबाट आयात भएन भने हाम्रो भण्डारण र बाटोमा राखिएको ट्यांकरबाट बढीमा १५ दिनको माग धान्न सक्छौँ’, उनले भने ।

एलपी ग्यास १५ दिनको मौज्दात

नेपाल एलपी ग्यास उद्योग संघको तथ्यांक अनुसार खाना पकाउने ग्यास हालको माग अनुसार १५ दिनलाई पुग्ने मौज्दात रहेको छ । संघले एक सूचना जारी गर्दै उपभोक्तालाई खाली सिलिण्डर भर्न आग्रह गरेको छ ।

गत वर्षको बन्दाबन्दीको समयमा पर्याप्त मात्रामा ग्यास आयात हुँदा उपभोक्ताले खाली सिलिण्डर राख्दा उद्योगीले ग्यास भर्न पाएनन् । यस वर्षपनि गत वर्षको जस्तै समस्या नआओस भनेर खाली सिलिण्डर भर्न आग्रह गरिएको संघका अध्यक्ष गोकुल भण्डारी बताउँछन् ।

छिमेकी भारतलगायत नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएको छ । यसबाट दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरिएको छ । नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनेतर्फ सचेत गराउँदै भण्डारण क्षमता अनुसार मौज्दात राख्न ग्यास उद्योगीलाई पत्र लेखिसकेको छ । निगमको पत्रका आधारमा संघले खाली सिलिण्डर भर्न आग्रह गरेको हो ।

‘हाल पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यासको आयात भइरहेको छ । हामी उद्योगीहरुसँग क्षमता अनुसारको मौज्दात रहेको छ । हाल बजारमा दैनिक एक लाख सिलिण्डर ग्यास माग छ । बजारको माग अनुसार हामीसँग भएको मौज्दातले बढीमा १५ दिन पुग्छ’, उनले भने ।

खाद्यान्न ४ महिना पुग्ने

खुद्रा व्यवसायी संघका अध्यक्ष प्रवित्रा बज्रचार्य हाल निजी क्षेत्रका व्यवसायीसगँ पर्याप्त मात्रामा खाद्यान्नको मौज्दात रहेको बताउँछन् ।

‘हामीसगँ पर्याप्त मात्रामा मौज्दात छ, तत्काल आत्तिहाल्नुपर्ने अवस्था छैन, व्यवसायीले दिएको जानकारी अनुसार चामल, तेल, दाललगायतका दैनिक उपभोग्य बस्तु ४ महिनालाई पुग्छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.