फेरि लकडाउन झेल्ने हो र !

  २०७८ वैशाख १० गते १२:१६     विकासन्युज

तपाईंलाई पोहोर (२०७७ साल) को बैशाख ९ गते याद छ ? छैन भने सम्झनुस् न– संघीय सरकारको आदेशमा देशव्यापी लकडाउन गरिएको थियो । घरबाट बाहिर निस्कन पाइएको थिएन । औषधी पसल र अस्पताल बाहेक सबै बन्द थिए । सडकमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स जस्ता अत्यावश्यक वस्तु तथा सेवा संचालन गर्नेहरुका सवारी साधन मात्रै गुढ्थे ।

अझै याद गर्नुस् न– टोलका किराना पसलहरु विहान ७ बजेसम्म मात्रै खुल्थे । बेलुका ५ बजेदेखि ७ बजेसम्म डराई डराई खोलिएका हुन्थे । होटल, रेष्टुरेन्ट, शिक्षण संस्था, उद्योग, कार्यालय सबै बन्द थिए । काठमाडौंको थापागाउँमा एक जनामा संक्रमण देखियो भन्ने हल्ला सुन्यो भने कोटेश्वर बस्ने व्यक्ति– आहो ! यही पो आइसकेछ कोरोना भन्दै त्रसित हुन्थ्यो ।

अझै पोहोर ९ बैशाखकै कुरा गरौं । त्यो बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा थिए । मन्त्रालयले प्रत्येक दिन दिउसो ४ बजे नेपाल टेलिभिजनबाट कोरोना संक्रमण सम्बन्धी अपडेट सार्वजनिक गथ्र्याे । मन्त्रालयको अपटेड सुन्न हामी टिभी अघि झुम्मिन्थ्यौं । र, पोहोर बैशाख ९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भनेका थिए– पीसीआर विधिबाट परीक्षण गर्दा हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । त्यतिबेला उदयपुर कोरोना संक्रमणको ‘हटस्पट’का रुपमा चर्चामा थियो । त्यो दिन राती उदयपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको तथ्य सार्वजनिक भएको थियो । र, पोहोरको बैशाख ९ गते नेपालमा कोरोना संक्रमितको संख्या ४३ पुगेको थियो ।

यसपाली (२०७८) को बैशाख ९ गते त विर्सनु भएकै छैन । हिजोकै कुरा न हो । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतम छन् । उनले हिजो मन्त्रालयको नियमित प्रेस व्रिफिङमा भनेका छन्– पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट परीक्षण गर्दा थप २ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । र, नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ ।

पोहोर बैशाख ९ गते एकैपटक थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको खबर सुन्दा हामीलाई कति डर लागेको थियो ? कति संवेदनशील बनेका थियौं ? यसपाली त्यही दिन थप २३ सय ६५ मा संक्रमण भएको खबर सुन्दा हामीलाई कति डर लाग्यो ? कति सम्बेदनशील भयौं ? पोहोर बैशाख ९ गते हामी घरमा भित्रबाट चुकुल लगाए बसेका थियौं । यसपाली बैशाख ९ गते हामीले के के गर्यौं ? रेष्टुरेन्ट गएर खाजा खायौं ? कोचाकोच हुने गरी सार्वजनिक सवारी साधनमा चढ्यौं ? चिया पसलमा बसेर कतिबेर गुढ्ढी हाक्यौं ? पोहोर यति बेलामा हामी तरकारी वा दुध किन्दा फिर्ता आएको पैसा कसरी सुरक्षित रुपमा बेग्लै राख्थ्यौं ? यसपाली सामान किन्दा फिर्ता आएको पैसा कसरी पर्समा कोचिरहेका छौं ? पोहोर बाहिरबाट आउने वित्तिकै घरमा हामी कसरी साबुनपानीले हात धुन्थ्यौं । यसपाली पनि त्यसै गरिरहेका छौं ? पोहोर हामी बाहिरबाट घर पुगेपछि लगाएको मास्क कहाँ कसरी राख्थ्यौं ? यसपाली के गरिरहेका छौं ?

पोहोरको बैशाखको भन्दा यसपालीको बैशाखको अवस्था भयावह छ । पोहोरको बैशाखमा नेपालमा देखिएको कोरोना भाइरस एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्न सक्ने क्षमता यसपाली देखिएकोभन्दा निकै कमजोर थियो । अर्थात पोहोरको बैशाखमा नेपालमा देखिएको भाइरस एक जना संक्रमितबाट ५ देखि १० जना अरुमा सर्न सक्थ्यो । यसपालीको भाइरस एक जना संक्रमितबाट अरु ४० देखि ७० जनामा सर्न सक्ने क्षमताको छ भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनिरहेको छ । पोहोरको भाइरसले भन्दा यसपालीको भाइरसले संक्रमितलाई बढी जटिल स्वास्थ्य अवस्थामा पुर्याएको तथ्यहरु सार्वजनिक भएका छन् ।

सबै कुरामा सरकारलाई दोष वा जस मात्रै दिएर हुँदैन । सरकारले पोहोर उसको बुद्धीले पुगेजति काम गरेको थियो भने यसपाली स्रोत साधनले भ्याएजति काम गर्ने स्पष्ट पारिसकेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड कसरी पालना गर्ने गराउने भनेर सरोकारवालाकै सुझाव अनुसार सरकारले नियम बनाएको छ । कुन क्षेत्रका स्कुल चलाउने कि बन्द गर्ने, पठनपाठन कसरी अघि बढाउने, होटल रेष्टुरेन्ट कसरी चलाउने, व्यापार व्यवसाय कसरी चलाउने, उद्योग कारखना कसरी सुचारु राख्ने भन्ने जस्ता विषयमा सरकारले सरोकारवालाकै परामर्शमा नियम बनाएको देखिन्छ ।

अस्पतालमा निश्चित बेड छुट्याई कोभिड केयर युनिट सेवा दिने, २ सयभन्दा बढी बेड क्षमता भएका सबै प्रकारका अस्पताल तथा स्वास्थ्य संस्थासँग संक्रमित व्यक्तिको उपचारका लागि सेवा सम्झौता गर्ने, अनुगनम गर्ने र उपचारमा लागेको खर्च सरकारले सोधभर्ना गर्ने व्यवस्था सरकारले मिलाइसकेको छ । यस्तै, संक्रमितको उपचार गर्न सुचिकृत गरिएका अस्पताललाई संस्थागत आइसोलेसनमा प्रतिदिन २ हजार रुपैयाँ, अस्पतालको आइसोलेसनमा प्रतिदिन ३ हजार रुपैयाँ, मध्यम जटिल रोगको उपचारको लागि दैनिक ७ हजार रुपैयाँ, आइसीयुमा भेन्टिलेटर सहित उपचारको लागि दैनिक १५ हजार रुपैयाँ दिने नीतिगत व्यवस्था सरकारले गरिसकेको छ । यस्तो रकमको सोधभर्ना सम्बन्धित अस्पतालहरुलाई प्रत्येक महिनाको पहिलो सातामा गरिसक्ने सरकारले भनेको छ । संक्रमितको मृत्यू भएमा परिवार वा आफन्तले गर्न नसकेमा उसको धर्म परम्परा अनुसार नेपाली सेनाले अन्तेष्ठी गर्ने पनि सरकारले भनेको छ । सीमा नाकाहरुमा कोभिड परीक्षण तथा होल्डिङ सेन्टरहरु स्थापना भएका छन् । योभन्दा धेरै गर्न सक्ने आर्थिक क्षमता सरकारसँग छैन भन्ने हामीले बुझ्नु पर्छ ।

पोहोर कोभिडसँग सामना गर्न हामीले केही सावधानी अपनायौं होला, केही अन्धविश्वासको पालना पनि गर्यौं होला । जसरी भएपनि सुरक्षित रहन हामीले धेरै कठोर नियम पालना गर्यौं । तर, यसपाली हामी कम डराएका छौं । अहिले बाँके जिल्लामा देखिएको कहालीलाग्दो स्वास्थ्य अवस्थाले अन्य क्षेत्रमा पनि गम्भीर समस्या पक्का छ भन्ने संकेत गरेको छ । संक्रमण दर यही मात्रामा बढ्ने हो भने चाढै नै देशव्यापी लकडाउन गर्न सरकार बाध्य हुँदैछ । सरकारले लकडाउन गर्दैछ । त्यसैले हामी सचेत बनौं । स्वास्थ्य सुरक्षाका नियम कडाईका साथ पालना गरौं । कोरोनासँग डराएर जो टाढै बस्यो, जो जोगियो, उही बाँच्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.