असारसम्ममा ३ लाखलाई कोरोना संक्रमण हुने, एक संक्रमितले सार्छ ४० देखि ७० जनालाई

  २०७८ वैशाख ९ गते १८:१५     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिनासम्ममा नेपालमा ३ लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ ।

मन्त्रालयले कोभिड–१९को युके भेरियन्टको संक्रमण दर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट देखा परेकाले अवको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको हो ।

बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी बजेट सम्बन्धमा भएको छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

उनका अनुसार ३ लाख संक्रमित मध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आइसियु) आवश्यक पर्ने अनुमान छ । सोही अनुसार मन्त्रालयले तयारी गरिरहेको पनि सचिव अर्यालले बताए ।

‘असारसम्ममा करिब करिब मोडरेज सिनारियोमा पनि हामीसँग ३ लाखको इन्फेक्सन आउँछ भन्ने छ । ३ लाखको इन्फेक्सन आउँदा करिब ६० हजार बिरामीहरु हस्पिटल आउनुपर्छ भन्ने देखिन्छ । हस्पिटल भित्र आउनुपर्ने ६० हजार बिरामी मध्ये ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने अवस्था पछिल्लो १०÷१५ दिनको डेटा एनलाइसिस गर्दा देखिन्छ भने १५ हजार बिरामीको लागि क्रिटिकल केयर (आइसियु) चाहिने अवस्था देखिन्छ,’ सचिव अर्यालले भने ।

अबका दिनमा यस्तो हिसाबले तयारी गर्नुपर्ने उनको भनाई छ । यो बीचमा सरकारले कोभिडका लागि गरेको ६ सय ४९ आधारभुत अस्पतालमा बेडहरु चलाएको, केही जिल्ला अस्पताललाई स्तरोन्नति गरेको र केही संघीय अस्पतालमा बेड थप्ने काम गरेको सचिव अर्यालले जानकारी दिए ।

‘यो बीचमा हामीले करिब ५ सय जति आइसियु बेडहरु थप्यौं, करिब ४ सय जति भेन्टिलेटरहरु थप गर्न सक्या छौं र त्यो भन्दा पनि महत्वपूर्ण यो अवधिमा हामीले २ हजार बेड हाई डिपेन्डेन्सी युनिटमा थपेका छौं,’ सचिव अर्यालले भने ।

उनले पछिल्लो केही दिन काठमाडौंका अस्पतालमा आएका कोरोना संक्रमित विरामीहरुको स्थिति छिटो क्रिटिकल अवस्थामा पुग्ने देखिएको बताए ।

‘पछिल्लो हामीले दुई तीनवटा हस्पिटलहरुको टेकु हस्पिटल, पाटन हस्पिटललाई हेर्दा बिरामी असाध्यै सिकिस्त भएपछि अस्पताल आउने, पहिलो दिनमा उहाँहरु जनरल बेडमा हुनुहुन्छ, दोस्रो दिनमा अक्सिजनमा जानुहुन्छ, तेस्रोमा आइसियुमा, चौथोमा भेन्टिलेटर त्यसपछि एक दुई दिन भित्र विरामीहरु मरिरहेको अवस्था देखिन्छ । यति छिटो संक्रमण बढिराखेको छ,’ उनले भने ।

गत वर्ष देखिएको भेरियन्टमा एक जना संक्रमितले अरु चार पाँच जनामा सार्न सक्ने भएपनि अहिलेको भेरियन्टमा एक जनाले ४० देखि ७० जना सम्मलाई सार्न सक्ने देखिएको छ । जुन भेरियन्ट युके भेरियन्ट नै रहेको पुष्टि भइसकेको पनि सचिव अर्यालले बताए ।

मन्त्रालयले चालु आर्थिक वर्षमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि करिब ८ अर्ब रुपैयाँ खर्च गरेको छ । जसमा पीसीआर कीट, एक्स्ट्राक्सन कीट, भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम), एन्टीजेन कीट, मास्क, गाउन, सर्जिकल पञ्जा, अक्सिजन प्रणाली सुदृढिकरण, आईसीयु, एचडीयु, तथा अन्य औषधी उपकरणहरुको व्यवस्थापन, स्वास्थ्यकर्मीको जोखिम भत्ता, निःशुल्क परीक्षण तथा उपचार, खोप खरिद तथा अभियान सञ्चालन लगायतका कोभिड–१९ रोकथाम तथा नियन्त्रण लगायतका क्रियाकलापहरुको लागि ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।

त्यस्तै, खोप कार्यक्रम र एचडीयुको लागि २ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । चालु वर्षमा मन्त्रालयलाई ५८ अर्ब ९८ करोड ४१ लख ७२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा हाल सम्म २७.५४ प्रतिशत अर्थात १६ अर्ब २४ करोड, ५१ लख ८८ हजार रुपैयाँ खर्च भएको छ ।

आगामी आर्थिक वर्षका लागि ६२ अर्बको सिलिङ्ग प्राप्त भए अनुसार कार्यक्रमहरु तयार गरिएको सचिव अर्यालले बताए । यस्तै कोभिड व्यवस्थापन बाहेक थप २९ अर्ब ८० करोड रुपैयाँ बजेट आवश्यक पर्ने उनको भनाई छ ।

‘कोभिडको व्यवस्थापन बाहेक हामीलाई थप २९ अर्ब ८० करोड रुपैयाँ चाहिन्छ भनेको हो, सिलिङ्गमा चाहि ६२ अर्बको सिलिङ्ग हामीलाई दिनुभएको छ भने हामीकोमा आउट आफ सिलिङ्ग २९ अर्ब ८० करोड चाहिन्छ भनेको हो । कोभिडको पहिलो चरणमा १४ अर्ब खोप सहित साउनसम्म खोप किन्न सकिन्छ कि भन्ने हिसाबले बढी राखेको हो र असोजसम्मको कोभिडको संक्रमण रेट अफ ट्रान्समिसनको आधारमा प्रोजेक्सन गर्नुपर्ने हुन्छ,’ उनले भने ।

सचिव अर्यालले कुल जनसंख्याको ७६ प्रतिशतमा कोभिड–१९ विरुद्धको खोप लागाउने योजना बनाएको पनि जानकारी दिए । त्यस अनुसार २ करोड १५ लाख मानिसहरुलाई खोप लगाउँदा ४ करोड ३० लाख र खेर जाने दर सहित करिब ५ करोड खोप आवश्यक पर्ने उनको भनाई छ ।

सबै खोप खरिदका लागि करिब ४८ अर्ब लगानी गर्नुपर्ने देखिएको मन्त्रालयले जनाएको छ । यस्तै, देशभर रहेको १४ हजार खोप केन्द्रबाट दैनिक ६ लाख मानिसहरुलाई खोप लगाउन सक्ने क्षमता रहेको पनि सचिव अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.