बाँकी रहेको कार्यकालमा फिक्कललाई समृद्ध गाउँपालिकाको रुपमा चिनाउन चाहन्छु- अध्यक्ष कार्की

  २०७८ वैशाख ८ गते १८:२४     विकासन्युज

फिक्कल गाउँपालिका बागमती प्रदेशको सिन्धुली जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणिय गाउँपालिका हो । कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यका रूपमा चर्चित फिक्कल गाउँपालिका प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष धन बहादुर कार्कीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के-के छन् ?

‘सडक, शिक्षा, बिजुली फिक्कल विकासका पूर्वाधार, कृषि, जडिबुटी वन र पर्यटन समृद्धिको मूल आधार’ भन्ने नारा तयार गरेका छौं । यो आर्थिक वर्षको कामहरू लगभग ७० प्रतिशत सम्पन्नहुन लागेका छन् । गाउँपालिकामा कृषि आयोजनाका कामहरू पनि रहेका छन् । कृषिको लागि बजेट पनि छुट्याएका छौं । हाम्रो गाउँपालिकामा सडक निर्माणको काम पनि भइरहेको छ । सदरमुकामका बस्तीहरुमा सडक पुगेको छ । गाउँपालिकाको कुनै पनि सडक पिच हुन सकेको छैन । बिजुलीको काम पनि हामीले अगाडि बढाई रहेका छौं । यसपालि घरघरमा बिजुली बाल्ने योजना छ । तरपनि कतिपय ठाउँमा बिजुली पुर्याउन केही समय लाग्न सक्छ ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । हाम्रो गाउँपालिकामा पर्यटकहरूलाई भित्र्याउनका लागि ७ तलाको भ्युटावर निर्माण भइरहेको छ । भ्युटावरको काम अन्तिम चरणमा पुगिसकेको छ । ३ करोड रुपैयाँको लागतमा भ्युटावरको निर्माण भएको हो । यो हामीले गौरवको आयोजनाको रूपमा पनि राखेका छौं । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं ।

हामी यस आर्थिक वर्षको अन्तिम चरणमा आइपुगेका छौं, यस अवधिमा बजेट के कति खर्च भयो ? खर्चअनुसार उपलब्धि प्राप्त भएको छ कि छैन होला ?

हो हामी आर्थिक वर्षको अन्तिम चरणमा छौं । सडक पूर्वाधार, कृषि, पशुलगायतका क्षेत्रमा विकासका कामहरू राम्रो नै गरेका छौं । यो आर्थिक वर्षको कामहरू लगभग ७० प्रतिशत सम्पन्न हुन लागेका छन् भने बाँकी कामहरु पनि निरन्तर भइरहेको छ । हाल पनि हामीले विकास निर्माणका कामहरु अगाडि बढाइरहेका छौं । केही भुक्तानी हुन बाँकी नै छन् । विकास भएअनुसार खर्च पनि भइरहेको छ । हामीले गाउँपालिकामा बजेट विनियोजन गरेजति यो आर्थिक वर्ष भित्र खर्च हुन्छ होला भन्ने अनुमान गरेका छौं । जनताको आवश्यकता पुरा गर्नमा हामी खटिरहेका छौं । विकास निर्माणका कामहरू प्रभावकारी नै भइरहेको छ । विकास राम्रो भएकाले जनताहरू मसँग खुसी नै छन् जस्तो लाग्छ । विकास निर्माणको काम प्रभावकारी भएर जनताको आवश्यकता पुरा भयो भने त्यो नै मेरो लागि सन्तुष्टि पनि हो ।

तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के-कति पुरा भए अनि कति बाँकी छन् नि ?

हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम लगभग सकिसकेका छौं । हामीले जनता सामु गरेका बाचा तथा प्रतिबद्धता धेरै पुरा गरी सकेका छौं । केही कामहरू बाँकी छन् तर ति पनि अब चाँडै पुरा हुँदैछन् ।

गाउँपालिकाले कृषि विकासका लागि के-कसरी काम गर्दै आएको छ ?

कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । हामीले गाउँपालिकाको सबै वडामा १ जना कृषि जेटिए राखेका छौं । हाम्रो गाउँपालिकामा कृषि शाखा पनि रहेको छ । कृषि शाखा मार्फत सबै वडाका कृषि सम्बन्धी कामहरु हुने गरेको छ । गाउँपालिकामा कृषि पकेट क्षेत्र पनि छुट्याएका छौं । वडा नं. १ लाई आलस पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । गाउँपालिकामा जुनार पकेट क्षेत्रहरू पनि रहेका छन् । विभिन्न पकेट क्षेत्र बनाउनको लागि हामी लागि परेका छौं ।

कृषकहरूलाई कृषिमा अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । धेरै विउविजनहरु हामीले ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएका छौं । सिन्धुली प्रदेश सरकारको सशर्त बजेट बाख्रा प्रवद्र्धन कार्यक्रम अन्तर्गत बाख्रा पालक कृषक तथा समूहहरूलाई निःशुल्क रुपमा क्रस ब्याडे बोका वितरण पनि गरेका थियौं । हामीले कृषकहरूलाई कृषि औजार पनि अनुदानमा वितरण गर्दै आएका छौं । हामीले फलफूल र तरकारीको विउ पनि वितरण गर्दै आएका छौं ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ?

यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । यहाँका नागरिकहरूको मुख्य पेशा कृषि नै हो । प्रतिशतमै भन्नुपर्दा करिब ८५ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ?

हामी निर्वाचित भएर आइसकेपछि शिक्षा विकासका लागि भनेर शिक्षा ऐनको निर्माण गरेका छौं । शिक्षा नियमावली, कार्यविधि तथा निर्देशिका बनाएका छौं । यो दायरा भित्र बसेर हामीले शिक्षाको गुणस्तरलाई माथि ल्याउनुपर्छ भनेर जोड पनि दिएका छौं । गाउँपालिकामा दरबन्दी अत्यन्तै कम रहेको छ । हाम्रो गाउँपालिकामा मा.वि. १२ ओटा, नि.मा.वि. ६ ओटा संख्यामा रहेका छन् । शैक्षिक क्षेत्रमा ३ करोड रुपैयाँ खर्च भएको छ । पढाइको गुणस्तरलाई राम्रो बनाउनको लागि विशेष जोड दिएका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक तथा समितिहरुसँग पनि छलफल गरिरहेका हुन्छौं । शिक्षकहरुलाई पनि हामीले बेला बेलामा तालिम दिँदै आएका छौं । गाउँपालिकामा हाल दरबन्दीको आवश्यकता भएको कारण शिक्षा मन्त्रालयलाई दरबन्दी पुरा गर्नको लागि माग पनि गरेका छौं ।

विकास निर्माणका कामहरुलाई पारदर्शी रुपमा अगाडी बढाउनको लागि के–कस्ता योजनाहरू अगाडि सार्नुभएको छ ?

विकास निर्माणको कामहरू पारदर्शी बनाउनको लागि केही योजनाहरू छनोट गरेका छौं । आम भेला बाट समिति बन्छ । समिती बनिसकेपछि योजनामा छनोट भएका कामहरू अगाडि बढ्छन् । विकासका कामहरू प्राविधिकहरुले मुल्याङ्कन गर्ने र त्यसपछि हामीले पनि अनुगमन गर्ने गरेका छौं ।

गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ?

स्वास्थ्य क्षेत्रको विकासको लागि पनि हामीले धेरै काम गर्दै आएका छौं । स्वास्थ्य क्षेत्रलाई पनि हामीले प्राथमिकतामा राखेका छौं । हामी निर्वाचित हुनुभन्दा अगाडी सोल्पाथानामा प्रजनन् केन्द्रको स्थापना भएको थियो । हामी निर्वाचित भएर आइसकेपछि महादेव डाँडा, फ्याङ्सा आदि स्थानमा प्रजनन् केन्द्रको स्थापना ग¥यौं । प्रदेश सरकारसँग समन्वय गरेर सोल्पाथाना र महादेव डाँडामा स्वास्थ्य भवनहरु निर्माण भएका छन् । खोला गाउँमा पनि १५ शैया बेडको अस्पताल निर्माण भइरहेको छ । यो संघीय मन्त्रालय र स्वास्थ्य मन्त्रालयअन्तर्गत पर्छ । अरू वडाहरूमा पनि स्वास्थ्यका भवनहरू बनिरहेका छन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा हामी विशेष जोड दिइरहेका छौं । हाम्रो गाउँपालिकामा पातला बस्ती अनि पहाडी भूभाग भएको कारण त्यस्ता स्थानमा पनि सेवा पुर्याउनको लागि खटिरहेका छौं । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । हाम्रो स्रोत र साधनले भ्याएसम्म हामीले स्वास्थ्य सेवा प्रवाह गरिरहेका छौं ।

गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

युवा रोजगारका कार्यक्रमहरू हामीले सञ्चालन गर्न खोजेका छौं । स्थानीय तहमा थोरै रकम हुन्छ । थोरै रकमले धेरै काम गर्नुपर्ने हुन्छ । गाउँपालिकाका केही युवाहरू कृषि पेशामा नै लागेका छन् । युवाहरूले सिप विकास गरेर पालिका भित्रनै रोजगारी पाउन सक्छन् । काम गर्न चाहने युवाहरू खासै बेरोजगार हुनुपरेको छैन । कृषि पेशामा आबद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । स्रोत र साधनको परिचालन गरी युवालाई रोजगारी दिनको लागि पनि हामीले ध्यान दिएका छौं । केही युवाहरुलाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं ।

कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ?

कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर र गाडा रहेको छ । कर्मचारी र हाम्रो सम्बन्ध राम्रो नै रहेको छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तीव्रता लिएको छ । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

अबको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई फिक्कल समृद्ध गाउँपालिका हो भनेर चिनाउन चाहन्छु । अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । बाँकीको कार्यकालमा नमुना फिक्कल गाउँपालिका बनाउने योजना रहेको छ । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन भन्ने चाहना छ । यहाँका नागरिकले भोलिका दिनमा पनि मलाई खराब काम नगर्ने र एकदमै इमान्दार प्रतिनिधीको रुपमा सम्झिरहुन् भन्ने चाहेको छु । त्यसका लागि जनताको चाहना र आवश्यकता कम्मर कसेरै पूरा गर्ने लक्ष्य बनाएको छु ।

हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.