“समृद्ध बेलडाँडी सुखी बेलडाँडी बासी”

  २०७८ वैशाख ७ गते १८:०१     विकासन्युज

बेलडाँडी गाउँपालिका सुदूरपश्चिम प्रदेश अन्तर्गतको कञ्चनपुर जिल्लामा पर्ने सुन्दर एवं रमणीय गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक साथै प्राकृतिकरुपले पनि फरक विशेषता बोकेको यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा पनि निक्कै चर्चित छ ।

गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

कृषिकै कुराबाट सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

हामीले गाउँपालिकामा कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । गाउँपालिकाको भूगोल अनुसार कृषि पकेट क्षेत्र छुुट्याएका छौं । कृषिलाई निर्वाहमुखी मात्र होइन व्यवसायिक पनि बनाउनु पर्छ भनेर जोड दिएका छौं । गाउँपालिकामा कृषि समूहको गठन गरी कृषकहरूलाई कृषि सम्बन्धी तालिम पनि दिएका छौं । कृषिमा धेरै किसानहरू आत्मनिर्भर भएका छन् ।

कृषि ज्ञान केन्द्र पनि हाम्रो गाउँपालिकामा रहेको छ । बालीमा लागेका रोगहरू नियन्त्रण गर्नमा कृषि ज्ञान केन्द्रले ठुलो भूमिका खेलेको छ । हाम्रो गाउँपालिकामा बढि मात्रामा धान उत्पादन हुने गरेको छ । पछिल्लो समयमा किसानहरू उखु खेति गर्नमा पनि लागिपरेका छन् । किसानहरूले व्यवसायिक रूपमा उखु खेति पनि सुरु गरेका छन् । हाम्रो गाउँपालिका कृषि क्षेत्रको लागि उर्भरशिल भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । हामीले गाउँपालिकामा पशु र कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छौं । वडा नं ३ र ४ मा बेमौसमी खेति हुने गरेको छ । गाउँपालिकामा नै केही कृषि उपज खपत हुने गरेको छ । धान गोलभेडा, काउली, लौका, काँक्रा आदि गाउँपालिकामा धेरै मात्रामा उत्पादन हुने गरेको छ । बजार व्यवस्थापनमा पनि हामीले विशेष ध्यान दिएका छौं । धान जोन क्षेत्र पनि हामीले छुट्याएका छौं ।

गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ?

स्वास्थ्य क्षेत्रको विकासका लागि हामीले धेरै काम गर्दै आएका छौं । गाउँपालिकाको प्रत्येक वडामा अस्पताल रहेको छ । हामीले पहिलो प्राथमिकताको रुपमा नै स्वास्थ्य क्षेत्रलाई राखेका छौं । सरकारले दिएका औषधीहरू गाउँपालिकाका नागरिकलाई निःशुल्क वितरण गर्ने गरेका छौं । गाउँपालिकामा रहेका सबै नागरिकको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । गाउँपालिकामा २ जना एमबीबीएस डाक्टर पनि राखेका छौं ।

खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ?

हाम्रो गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । खेलकुद विकासको लागि खेल मैदानको व्यवस्था गरेका छौं । खेलकुदको लागि हामीले बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा खेलकुद समितिको पनि गठन गरेका छौं । खेलकुदका औपचारिक कार्यक्रम कसरी अगाडि बढाउने भनेर छलफल गरिरहेका हुन्छौं । गाउँपालिकाको सबै वडामा युवा क्लबहरू गठन भएका छन् । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल, लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ ।

तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पूरा भए अनि कति पूरा हुन बाँकी होलान् ?

हामीले घोषणा–पत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेका कुरा लगभग पूरा गरिसकेका छौं । हामीलाई भोट दिनु प¥यो, हामीलाई जिताए पछि जग्गाको लालपुर्जा दिलाउँछौं भन्ने बाचा गरेका थियौं । जनताको आवश्यकता पुरा गर्नमा हामी तत्पर छौं ।

गाउँपालिकालाई समृद्ध बनाउनको लागि के–कस्ता योजनाहरू अगाडि बढाउनु भएको छ ?

‘समृद्ध नेपाल सुखी नेपाली’ प्रधानमन्त्री केपी शर्मा ओलीले भने झैं मेरो चाहना पनि त्यही हो ‘समृद्ध बेलडाँडी सुखी बेलडाँडी बासी’

गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

गाउँपालिकाका धेरै युवाहरू कृषि पेशामा नै लागेका छन् । युवाहरूले सिप विकास गरेर पालिका भित्रनै रोजगारी पाउन सक्छन् । काम गर्न चाहने युवाहरू खासै बेरोजगार हुनुपरेको छैन । विदेशबाट फर्किएका युवाहरूलाई रोजगारीको अवशर मिलाउनको लागि प्रयास गरिरहेका छौं । गाउँपालिकाका कोही पनि नगरिकहरु भोकै मर्नु नपरोस् भन्ने मेरो चाहना हो । रोजगारी सिर्जना गर्नमा प्रदेश र संघीय सरकारले सहयोग गर्नुप¥यो । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई सामान्य अनुदानको व्यवस्था पनि मिलाएका छौं । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ ।

तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ नि ?

म २०५४ सालमा पनि बेलडाँडी गाविसको अध्यक्ष थिएँ । त्यस बेला सडक निर्माणको लागि भनेर ५ लाख रुपैयाँ बजेट आउने गथ्र्यो । ५ लाख रुपैयाँको बजेटमा धेरै सडक निर्माण गर्नसक्ने अवस्था थिएन । हाल गाउँपालिकाको सबै कुनामा सडक पुगेको छ । केही सडकहरु पिच पनि भएका छन् । गाउँपालिकाको सडकहरू बाह्रै महिना सञ्चालन हुने अवस्था छ ।

कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ?

कर्मचारी र हाम्रो सम्बन्ध राम्रो नै रहेको छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तिव्रता लिएको छ । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो ।

तपाईंको पालिकामा सवैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ?

ठुलो उद्योग त हाम्रो गाउँपालिकामा छैन भन्दा पनि हुन्छ । बरु कृषि उद्योग चाहीँ धेरै संख्यामा छन् । गाउँपालिका भित्र साना तथा मझौला उद्योग सञ्चालनमा आएका छन् । कृषकहरुले कुखुरा पाल्ने, भैँसी पाल्ने लगायतका काम गर्दै आएका छन् ।

गाउँपालिकामा सर्वसाधारणहरु के कस्ता समस्या लिएर आउने गरेका छन् ?

स्थानीय नागरिकले गुनासा तथा समस्या ल्याउनु त स्वभाविक नै हो । यहाँका नगरिकहरु प्रायःजसो खानेपानी, बाटोघाटो, बेरोजगारीको समस्या, राहत सहयोग, न्याय निरूपण, पशुपन्छीको रोग, कृषिसम्बन्धी लगायतका समस्याहरू लिएर आउने गरेका छन् । तर पनि यी सबै समस्याको समाधान गरेर मात्र हामी अगाडि बढिरहेका छौं ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं ।

अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनु हुन्छ ?

सम्पूर्ण बेलडाँडी बासीलाई २०७८ साल नयाँ वर्षको अवशरमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.