सोलुखुम्बुका तीन स्थानीय तह साक्षर घोषणा

  २०७८ वैशाख ५ गते ९:१८     विकासन्युज

सोलुखुम्बु । जिल्लाको तीन स्थानीय तहलाई साक्षर स्थानीय तह घोषणा गरिएको छ । शनिबारदेखि थुलुङ दुधकोशी गाउँपालिका पनि साक्षर गाउँपालिका बनेको छ ।

गाउँपालिका केन्द्र मुक्लीमा आयोजित कार्यक्रममा गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको प्रवक्ता भुपाल सिं राईले जानकारी दिए ।

सोह्र वर्षदेखि ६० वर्ष उमेर समूहका ९१६ निरक्षरलाई साक्षर बनाउनका लागि गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रममा ९०२ जना सहभागी भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । यसरी हेर्दा ९८।५ प्रतिशत थुलुङदुधकोशीबासी साक्षर बनेका छन् । अभियान सञ्चालनका लागि शिक्षक, स्थानीय नागरिक, विद्यार्थी र जनप्रतिनिधिले महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष राईले सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

थुलुङ दुधकोशीमा २०६८ सालको जनगणनामा १९ हजार ६७२ जनसङ्ख्या रहेकामा पालिकाको वस्तुगत विवरण २०७७ अनुसार २२ हजार ३७५ जनसङ्ख्या रहेको गाउँपालिकाले जनाएको छ । यस्तै गएको मङ्गलबार मात्रै जिल्लाको नेचा सल्यानलाई पनि साक्षर गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका प्रवक्ता धर्मध्वज खत्रीका अनुसार कुल १५ हजार ५२६ जनसङ्ख्यामध्ये ९७ प्रतिशत साक्षर भएपछि साक्षर गाउँपालिका घोषणा गरिएको हो । साक्षर गाउँपालिका घोषणा गर्ने नेचासल्यान पहिलो गाउँपालिका बनेको हो ।

त्यसैगरी बिहीबार जिल्लाको एक मात्र सोलुदुधकुण्ड नगरपालिकालाई पनि साक्षर नगरपालिका घोषणा गरिएको छ । आर्थिक वर्ष २०७६र०७७ मा सङ्कलन गरिएको तथ्याङ्कअनुसार सोलुदुधकुण्ड नगरपालिकाको कूल जनसङ्ख्या २४ हजार ३२३ मध्ये ९६।५२ प्रतिशत साक्षर रहेको बताइएको छ । नेपालको नीतिअनुसार ५ प्रतिशत नागरिक निरक्षर हुँदा पनि साक्षर स्थानीय तह घोषणा गर्न सकिन्छ । जिल्लाको स्थानीय तहका अनुसार साक्षरता बढाउनका लागि टोल बस्तीमा कार्यक्रमसमेत सञ्चालन गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.