निजी विद्यालय संचालक उपप्रधानमन्त्रीले नेतृत्व गरेको सीसीएमसी र स्वास्थ मन्त्रालयभन्दा पनि पावरफुल ?

  २०७८ वैशाख २ गते १७:४५     विकासन्युज

काठमाडौं । ‘सरकारले निर्णय गरोस/नगरोस, प्याब्सनले स्कुल बन्द गरोस्न/गरोस्, हामीचाँहि आजबाट छोरालाई स्कुल नपठाउने निर्णयमा पुग्यौं । मिले अनलाइनमा, नमिले घरमा आफैँ पढ्ला । परीक्षा दिन नपाए अर्काे वर्ष ५ कक्षा पास गर्ला । यस्तो स्वाँठ सरकारको भर पर्ने हो भने हातमा पछुतुबाहेक अरु विकल्प रहन्न् ।’

सञ्चारकर्मी लेलिन बन्जाडेले सामाजिक सञ्जाल ट्वीटरमा चैत ३० गते गरेको ट्वीट हो यो । उनको यो ट्वीटले कोरोना महामारीको कारण आफ्ना बालबच्चा विद्यालय पठाउन अभिभावक कुन हदको त्रासदीमा छन् भन्ने संकेत गर्छ ।

उनी मात्र होइन, अन्य अभिभावकको गुनासो पनि यस्तै प्रकारको छ ।

काठमाडौंको जोरपाटीका अच्युत पौडेलकी छोरी दश कक्षामा पढ्छिन् । छोरीलाई विद्यालय पठाउन उनलाई मन नै छैन । मन नहुँदा नहुँदै पनि उनले एसईई परीक्षा दिने छोरीलाई विद्यालय पठाएका छन् ।

‘कोरोनाको जोखिम उच्च छ, विद्यार्थीलाई डराई डराई विद्यालयमा बोलाएर पढाउनुभन्दा अनलाईन मार्फत पढाए हुन्थ्यो, यो कुरा मैले स्कुललाई भनेको पनि छु तर, विद्यार्थी अनिवार्य रुपमा आउनै पर्छ भनिएको छ, यसरी डराएर स्कुल गएका विद्यार्थीले किे सिक्लान र ! विद्यालय नपठाउँ पढाई छुट्छ भन्ने डर, पठाउँ संक्रमण हुन्छ कि भन्ने डर,’ उनले भने ।

बन्जाडे र पौडेल त एक प्रतिनिधि प्रात्र मात्र हुन । पछिल्लो समय अधिकांश अभिभावक आफ्ना बालबच्चालाई विद्यालय पठाउनभन्दा घरबाटै अनलाईन कक्षा सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा रहेका छन् ।

अधिकांश विद्यार्थीसगैँ तीनका अभिभावको अपेक्षा नै सरकारले जोखिमको अवस्था विचार गरेर बढी जोखिम देखिएको क्षेत्रका विद्यालय बन्द गर्नुपर्छ भन्ने पक्षमा रहेका छन् ।

साना उमेरका बालबालिकामा संक्रमणको उच्च जोखिम हुँदा समेत सरकार, शिक्षा तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै निर्णय नगर्दा धेरै विद्यार्थी जोखिम मोलेरै विद्यालय जान बाध्य भएका छन् ।

विद्यालय बन्द नगर्ने पक्षमा संचालक

निजी विद्यायलय संचालकहरुले भने तत्काल विद्यालय बन्द गर्न नहुने अडान लिएका छन् । केही दिनअघि शिक्षा मन्त्रालयले सरोकारवालासँग गरेको छलफल पनि निजी विद्यालय संचालकहरुले बन्द गर्न नहुने धारणा राखेका थिए । विद्यालय बन्द गर्न नहुने अडानमा निजी तथा आवाशीय विद्यालयहरुका दुबै संस्था प्याब्सन र एनप्याब्सन एकमत छन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन) का अधिकारीहरु भने स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गरिएकोले तत्काल बन्द नहुने बताउँछन् ।

सबै विद्यालयले पूर्ण रुपमा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डकोे पालना गरी पठनपाठन सुरु गरिएको भन्दै सरकारको निर्देशन नआउँदासम्म विद्यालय बन्द नहुने अध्यक्ष क्रतुराज सापकोटाले बताए ।

‘सरकारले सबै क्षेत्र निर्वाध रुपमा खुला गरेको छ, सार्वजनिक यातायातले कोचाकोच रुपमा यात्रुहरु बोकिरहेका छन, भिडभाड हुने सबै क्षेत्रमा स्वास्थ्य सुरक्षा अपनाईएको समेत छैन, हामी सुरक्षीत छौँ, सुरक्षा अपनाउँदै पठनपाठन गरेका छौं, त्यसैले तत्काल विद्यालय बन्द हुँदैन । सरकारले सबै क्षेत्रमा बन्द गर्ने निर्णय गरे विद्यालय पनि बन्द गछौं, विद्यालय मात्र बन्द गर्ने निर्णय गरे मान्दैनौं,’ अध्यक्ष सापकोटाले भने ।

उनका अनुसार अधिकांश विद्यार्थीका अभिभावकले तत्काल विद्यालय बन्द नगरी पठनपाठनलाई सुचारु राख्न सुझाव दिने गरेका छन् ।

‘कोरोना संक्रमितकोे संख्यामा बृद्धि भएपनि अधिकाशं अभिभावकले विद्यालयमा नै विद्यार्थी सुरक्षित रहेको भन्दै विद्यालय बन्द नगर्ने अनुरोध गर्दाै आउँनुभएको छ, हामी पैसाका लागि मात्र विद्यार्थीलाई विद्यालय आउ भन्दैनौँ, अनलाईन मार्फत पठनपाठन गर्दा विद्यार्थीको सिकाईमा ध्यान केन्द्रीत हुँदैन, घरमा बस्दा विद्यार्थीले अनुशासन नै बिर्सिए, त्यसैले विद्यालय बन्द गर्न सकिदैन,’ अध्यक्ष सापकोटाले भने ।

धेरै विद्याय बन्द

कोरोना संक्रमित विद्यार्थी भेटिएपछि पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र सञ्चालन भएका धेरै विद्यालयहरु बन्द भएका छन् । विद्यार्थीमा संक्रमण भेटिएपछि धापासिमा रहेको त्रियोग, ललितपुरमा रहेको टिलिज एन्जल, आइजे पायोनियर लगायतका विद्यालयका बन्द गरिएको छ ।

बन्द गरिएका विद्यालयले विद्यार्थीको भौतिक उपस्थिति बन्द गरेर अनलाईन मार्फत पठनपाठन गरिरहेका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण धेरै देखिएका क्षेत्रका विद्यालय बन्द गराउन यसअघि नै प्रस्ताव गरेको थियो ।

यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले चैत ३१ गते पत्रकार भेटघाट कार्यक्रममा काठमाडौं उपत्यका सहित कोरोना संक्रमित धेरै देखिएका क्षेत्रका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरिएको बताएका थिए ।

उपप्रधानमन्त्री पोखरेलले नेतृत्व गरेको सीसीएमसी र स्वाथ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गराउन सिफारिस गर्दा पनि मन्त्रिपरिषदले सो अनुसार निर्णय नगर्नुलाई कतिपयले ‘निजी विद्यालय संचालकको पावर प्रदर्शन’को रुपमा लिएका छन् ।

One comment on "निजी विद्यालय संचालक उपप्रधानमन्त्रीले नेतृत्व गरेको सीसीएमसी र स्वास्थ मन्त्रालयभन्दा पनि पावरफुल ?"

  • c.k.shahi says:

    PST MARRY SHOULD BE CLOSE USE ON LINE METHOD CLASSES.PADSON ARE TI EARN MONEY N BUSINESS SCHOOL, WE LOVE OUR DDAUGHER N NATINI.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.